नेविसंघद्वारा निःशुल्क दन्त शिविर, ७५ जनाले लिए सेवा

गोरक्ष समाचारदाता
दाङ, १९ वैशाख । नेपाल विद्यार्थी संघले अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा निःशुल्क दात,मुख सम्वन्धी बृहत निशुल्क शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल विद्यार्थी संघ घोराही उपमहानगरपालिका समन्वय समितिको आयोजनामा तथा निलासिस फाउन्डेसनको सहयोगमा बिहीबार घोराहीस्थीत नेपाली कांग्रेसको पार्टी कार्यालयमा निःशुल्क दन्त शिविर गरिएको हो ।

नेविसंघ घोराही उपमहानगरपालिका समन्वय समितिका सभापति विजय विष्टको सभापतित्व तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेको प्रमुख अतिथ्यता एवं नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको विशिष्ट अतिथ्यतामा निःशुल्क दन्त शिविर भएको थियो ।

शिविरको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले नेविसंघको सामाजिक सेवामूलक कार्यक्रमले जनताको स्वास्थ्यप्रति चेतना बढाउने र समुदायसँगको सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गरेका थिए । कांग्रेसलाई बलियो बनाउनका लागि नेविसंघले जस्तै अन्य भातृ तथा शुभेच्छुक संघसस्थाहरुले रचनात्मक र सामाजिक कार्य गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । साथै सहभागी वक्ताहरुले नेविसंघलाई आगामी दिनमा पनि यस्ता सामाजिक र सिर्जनात्मक कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका जिल्ला सचिव बालिका लम्साल, क्षेत्र नं. २ का सभापति भीमप्रकाश खडका, लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगी, कांग्रेस घोराही उपमहानगरपालिका सभापति तिलक रावत तथा निलासिस फाउन्डेसनका संस्थापक सिजन केसीले मन्तव्य व्यक्त गरेका थिए।

शिविरमा ७५ जनाको स्वास्थ्य चेकजाँचका साथै निशुल्क रुपमा औषधी समेत वितरण गरिएको थियो । शिविरमा दन्त चिकित्सक डा. रोजिना अधिकारीले सहभागीहरूको दात तथा मुख सम्वन्धी स्वास्थ्य परीक्षण गरेकी थिइन् ।