दाङ,१९ बैशाख । लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेद्वारा लिखित सातौँ कृति ‘राष्ट्रका चिन्तक’ शीर्षकको गीति महाकाव्य घोराहीमा एक विशेष समारोहका बीच विमोचन गरिएको छ।
कार्यक्रम लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षता तथा नेपालकी प्रथम नारी महाकाव्यकार बुनु लामिछानेको प्रमुख आतिथ्यता र राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा गीति महाकाव्यको बिमोचन गरिएको हो ।
कार्यक्रममा नेपाली लेखक संघका केन्द्रीय सल्लाहकार डा कृष्णराज डिसीले कृतिको समालोचना प्रस्तुत गर्दै उक्त महाकाव्यले आचार्य चाणक्यको जीवनीको आधारमा वर्तमान नेपालको आर्थिक दुराचार र भ्रष्टाचारलाई प्रतिकात्मक ढंगले उजागर गरेको बताए । उनका अनुसार लेखक न्यौपानेले चाणक्यको माध्यमबाट राष्ट्र सम्पत्तिको दुरुपयोग गर्ने भ्रष्टाचारीहरूलाई व्यङ्ग्यात्मक सन्देश दिएका छन्।
१६ सर्गमा फैलिएको र झ्याउरे छन्दमा गीति महाकाव्यको रचना गरिएको बताए । कार्यक्रममा प्राज्ञ उत्तमकृष्ण मजगैया, राप्ती साहित्य परिषद्का जिल्ला अध्यक्ष यम रेग्मी, मावि रझेनाका प्राचार्य उद्वव न्यौपाने, प्रगतिशील लेखक संघका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतम, सिस्नोपानी नेपालका अध्यक्ष लोकराज पराजुली, नेपाली लेखक संघ दाङका अध्यक्ष डा हिमलाल पन्थीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
लेखक संघ दाङका सदस्य हरिप्रसाद पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव सरिता देवकोटाले गरेकी थिइन ।