खेमराज रिजाल
दाङ, १६ वैशाख । ‘गोइङ टुगेदर, पेइङ सेल्फ’ हाम्रो टुर क्याबिनेटको निर्णय थियो । कालीकोट—जुम्ला सीमानामा रहेको कर्णाली किनाराको त्यो होटलको बिल तिरी हामी जुम्लाको हिमा गाउँपालिका हुँदै मुगुको रारालाई पछ्याउँदै थियौँ । यो दिनको सडक यात्रा कच्ची भए पनि केही सहज थियो । अलि फराकिलो बाटो, हाम्रो मन हिँजोकोभन्दा अलिक शान्त थियो ।
कालीकोटको चट्टानेभिरभन्दा फरक भूबनोटले हामीलाई हौस्याएको थियो । बाटोमा धेरै प्राकृतिक, धार्मिक एवम् पर्यटकीय मनोरम दृश्य अवलोकन गर्दै हामी क्रमशः तीला नदीको किनारै किनार उक्लियौँ । गाडीमा बस्दा हाम्रो एउटा अघोषित नियम थियो, ‘बिहान धार्मिक भजन, दिउँसो दोहोरी, साँझपख रोदी र सोरठी ।’ सोही अनुरूप गाडीका स्टाफले गीत घन्काइदिन्थे । हामी सुरताल अनुसार नाच्थ्यौँ, ताली बजाउँथ्यौँ अनि सङ्गीत गुन्गुनाउँथ्यौँ । सायद हाम्रो यात्रामा नाच्न नजानेको भनेको हामी चढेको बस मात्रै हो । यसले हाम्रो सात दिनको कर्णाली यात्रालाई कत्ति पनि पट्यारिलो बनाउन भ्याएन । हामी थाक्ने फुर्सद नै भएन ।
सपनाको बाटोमा बिमलाको भजन केहीवेरमै सकियो । हिमाको तीला नदी किनारमा रहेको एउटा कलात्मक काठेपुलमा हामीले फोटो सुट ग¥यौँ । पुल तर्दै पल्लो बारीमा एक जना महिला तीनवटा रायडोका बोकेर तल झर्दै थिइन्, एका बिहानै । हामीले सोध्यौँ, ‘त्यो अनकन्टार बस्तीमा कहाँबाट आयौ बहिनी ?’, उनले भनिन्, ‘बारीमा मल फालेर आएको ।’ गोबर मलभन्दा पनि गोबर मिश्रित मलले जुम्लालाई उर्वर बनाएको देखिन्थ्यो । ती मल बोक्ने महिलालाई नाम सोध्यौँ, काम सोध्यौ, अनि सम्पूर्ण दैनिकी ।
नाम उनको ‘कान्छी तिरुवा’ । गाउँमा उनले बारी स्याहार्छिन्, श्रीमानलाई काठमाडौंमा ओभरसियर पढाउन पठाएकी छिन् । उनको दैनिकी सहज त छैन तर उनी त्यसैमा सन्तोष देखिन्थिन् । ‘श्रीमान राम्रो भया हामी राम्रो हुन्या हो’, कान्छीले उनकै भाषामा त होइन हामीले बुझ्ने भाषामा भनिन् । काल्नाको बारीमा असारमा सिमी रोप्ने रे । त्यसैलाई मल हाल्न उनी एक घण्टा टाढाबाट रायडोकोमा मल बोक्दै थिइन् । असार लाग्दै जुम्लीहरू सिमी रोप्छन् । यो उनीहरूको नगदेबाली हो रे ।
कान्छीको विषयमा धेरै बोल्न चाहेनौँ । भाषा बुझ्यौँ, परिश्रम बुझ्यौँ अनि त्यो भन्दा बढी बोल्ने हामीसँग नैतिक हैसियत त थिएन । त्यसपछि फेरि बसमै फर्कियौँ । बसमा पुगुन्जेलसम्म भजन गुञ्जिरहेको थियो, बिमलाको निर्देशनमा तर हामीले रारा पुग्ने सपनाको बाटो त कोर्नु नै थियो । गीत बदलियो । भूगोल केही बदलियो, बिहानै बसमा खाएको खाजाले मनमस्तिष्क बदलियो अनि हामी जुम्लाकै तीला गाउँपालिकाको सडक किनारामै रहेको एउटा पाण्डव गुफामा रोकियौँ । जुन हामीलाई ‘स्याडुल’को यात्रा थिएन ।

त्यहाँ पुग्नुअघि नै सडक किनारामा एक जना पुरुष र एक जना महिलाले हाम्रो बसलाई लिफ्ट मागेका थिए । पहेँलो पोसाकबाट हेर्दा उनीहरू सडक ‘फोरम्यान’ होलान् । हुन पनि त्यस्तै भयो । सडक विभागको ज्याकेटमा रहेका दुई जनालाई लिफ्ट लिइरहँदा एक जना महिला गोमा खत्री थिइन् । उनले आफूलाई सुपरभाइजर बताइन् र केही किलोमिटरको यात्रामा पर्यटक गाइड पनि बनिन् । उनकै गाइड अनुसार हामी पाण्डवहरू शिकार खेल्न गएको पाण्डव गुफामा पुग्यौँ । त्यहाँको जीवनशैली बुझ्यौँ । गुफाका चौकीदार एउटा चिलिममा धुवाँ उडाउँदै आए । हामीलाई लाग्यो, गाँजा हो तर बासनाले गाँजा भन्न मिल्दैनथ्यो । काँचोपाते भुसा । एक ‘सट’ लिएँ मैले अनि मेरा अर्का सहयात्रीले पनि ।
हामी धेरैबेर त्यो गुफामा रमिइरहन भ्याएनौँ । किनकि हामीलाई हिमालयकी रानी राराले ‘आऊ आऊ’ भनिरहेकी थिइन् । अप्सराजस्तै रारालाई भेट्नु नै हाम्रो यात्राको अन्तिम लक्ष्य थियो । अरू त अपरझट आइलाग्ने पर्यटकीय क्षेत्रहरू । भ्याए ‘भिजिट’, नभ्याए ‘सि यु’को अभियानमा हामी हतारहतार खाना अर्डर गर्न स्टाफ मेनेजर भरत केसीलाई आग्रह ग¥यौँ । उनले जुम्लाबाट रारा पछ्याउने सडकको कनकसुन्दरी गाउँपालिका—गोठीज्युलामा खाना खाने बताए । उनले सोधे, ‘सोधे रातो भात कि सेतो भात ?’ हामी धेरैले बुझेनौँ । किनकि हामीलाई भातको रँग हुन्छ भन्ने लाग्थेन, स्वाद मात्रै हामीलाई थाहा छ ।
तैपनि हामीले ‘रातो भात’ अर्डर गर्न भन्यौँ । अनि सोध्यौँ ‘रँगाएको भात त होइन नि ?’ ‘होइन, होइन ।’ त्यस्तो भनेपछि गोठिज्युलामा गाडी रोकियो । नवदुर्गा बेस्ट होटल एण्ड लज । आँगनभरि सिमी सुकाइएको थियो । त्यही होटलमा अर्गानिक उत्पादनहरूको व्यापार पनि हुँदो रहेछ । होटलका साहुजी सार्के बुढाले स्वागत गरे । जुम्लामा बुढा मात्रै थर लेखे भने उनीहरू बुढा क्षेत्री हुँदा रहेछन् । हामीले रातो भात र ‘मटन करी’सहितको खाना खायौँ । खाना खाइसकेपछि बुझ्दा ‘मटन’ भनेको त त्यहाँको च्याङ्ग्रा रहेछ । भेँडाभन्दा महँगो । रँग फेरिएको रातो भात भनेको त जुम्लाको स्थानीय उत्पादन रातो मार्सीको चामलको भात रहेछ ।
यहीँनेर मैले दाङलाई सम्झिएँ । हामीकहाँ पनि नेपालभरि प्रख्यात तिल्की चामलको खेती हुन्थ्यो । त्यसलाई हामीले जोगाइराख्न सकेनौँ । सिम्ठारोको चामल हुन्थ्यो, त्यो पनि जोगाउन सकिरहेका छैनौँ । ढाड, कम्मर र नसाका बिरामीलाई उपयुक्त हुने स्थानीय बिन्देस्वरी धान खेती हुन्थ्यो, त्यो पनि मास्यौँ अनि हामीसँग अहिले छ त अधिकांश हाइब्रिड धान । केही मनसुली अनि केही रैथाने धान ।
सायद हामीले तिल्की जोगाउन सकेको भए यहाँ आउने आन्तरिक एवम् बाह्य पर्यटकलाई खुवाउन सक्थ्यौँ । सिम्ठारो पनि विकल्प हुन सक्थ्यो तर हाम्रा होटलमा चामलको च्वाइस नै छैन । कतै मोहिनी, कतै कल्याणी त कतै बेहुलीका बोराका चामल हामीले पाहुनालाई खुवाइरहेका छौँ । किनकि हामीले आफूलाई धनी ठान्छौँ, त्यसैले हरथोक किनिदिन्छौँ । कर्णालीले आफूलाई गरिब ठान्छ, सबथोक बेचिदिन्छ । लाग्छ, कर्णाली भूगोलकै दुर्भाग्यले पछि परेको हो, उत्पादन, विचार र चिन्तनले होइन । हामीले पनि बेच्न सिक्ने कि ? मेरो मनमा यही तरङ्ग आइरहेको छ ।
पत्रिकामा धेरै व्याख्या नगरी हामी राराको बेसक्याम्पमा पुग्यौँ । गाडी रोकिएपछि हाम्रो यात्रामा मतभिन्नता हुनु सामान्य हो । किनकि हामी जसलाई जे चाहना छ त्यही गर्ने हैसियतमा यात्रारत थियौँ । अठार सहयात्रीमध्ये स्टाफ बाहेक बाँकी रहे पन्ध्र । रारा मुगुमा पर्छ । रारा बेसक्याम्प भनेको सल्लेरी हो । त्यसपछि भिआइपी सवारी पनि डेढ किलोमिटर माथिसम्म मात्रै पुग्न सक्छन् । हामीले लगेको मिनी बस त त्यहाँ पुग्न निकुञ्ज प्रशासनले दिँदैनथ्यो । घोडाको यात्रा वा पैदल मात्रै हाम्रा दुई विकल्प थिए । केही घोडामा, केही पैदल यात्रा गरी हामी रारा पारिपट्टिको होमस्टेमा पुग्यौँ । पुग्दै गर्दा हाम्रो यात्राका सहयात्री बिमला त घोडाबाटै लड्न पुगेको भनिन्छ तर खासमा बिमला लड्न लागेको आभासपछि घोडाले नै उनलाई ‘सेफल्यान्डिङ’ गरी सल्ली पिरलको चउरमा बजारिदिएछ । केहीबेर मात्रै हाम्रो यात्रामा सन्नाटा छायो तर त्यसपछिको यात्रालाई निरन्तरता दिँदा हामी रारापारीको होमस्टेमा पुग्यौँ ।
हामी होमस्टेमा पुग्दा रात परिसकेको थियो तर रारामा रमाइलो गर्ने अन्तिम अवसर होमस्टे मात्रै थियो । रारालाई छुँदै होमस्टे पुगेपछि ‘क्यामफायर’ गर्ने तयारी । अनि च्याङ्ग्राको सेकुवा । त्यसमा पनि नाँचगान । सबै सहयात्रीको त्यसमा साथ थियो । घोडाबाट लडेकी बिमला पनि तयार भइसकेकी थिइन्, हाम्रो मनोरन्जनमा साथ दिन । रातको एक बजे हामी मिठो निद्राका लागि होमस्टेको स्लिपिङ हलमा पुग्यौँ । भोलि बिहानै रारा …. ।