घोराही, ११ बैशाख । नेपाली कांग्रेस दाङका पूर्व सभापति तथा जिल्ला विकास समिति दाङका पूर्व सभापति तिर्थराज ज्ञवाली ‘चैतु’ को स्मृतिमा नेपाली कांग्रेस दाङले शोकसभा गर्ने भएको छ ।
स्वर्गीय ज्ञवालीलाई श्रद्धाञ्जली अर्पण गर्नका लागि कांग्रेस दाङले यही बैशाख १४ गते बिहान ११ बजे घोराही उपमहानगरपालिका–१५ स्थित भरतपुरस्थित उहाँकै घरमा शोकसभा गर्न लागेको नेपाली कांग्रेस दाङकी सचिव बालिका लम्सालले जानकारी दिनु भएको छ ।
जिल्ला सचिव लम्सालका अनुसार उक्त शोकसभामा नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व मन्त्री डा प्रकाशशरण महत प्रमुख अतिथिका रुपमा आउनु हुने भएको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति दाङले सम्पूर्ण पार्टी सदस्य, शुभेच्छुक र सर्वसाधारणलाई उपस्थितिका लागि अनुरोध गरेको छ।
प्रजातन्त्रको आन्दोलनमा सक्रिय रहँदै सर्वस्वहरणसहित आजीवन कारावासको सजाय भोगेका नेता ज्ञवाली करिब ८ वर्ष जेल जीवन बिताउनु भएको थियो। प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउनु भएका स्वर्गिय नेता ज्ञवाली ुचैतुु लाई नेपाली प्रजातान्त्रिक आन्दोलनका एक कुशल संगठनकर्ता, क्रान्तिपुत्र र अथक योद्धाको रूपमा स्मरण गरिन्छ। नेता ‘चैतु’ को ७४ वर्षको उमेरमा वैशाख २ गते निधन भएको थियो।