सङ्घीय निजामती ऐन माग गर्दै ज्ञापनपत्र

गोरक्ष समाचारदाता
दाङ, ९ वैशाख । दाङका क्रियाशील कर्मचारी संघसंगठनले सङ्घीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ला प्रशासनमार्फत् सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् । देश भरिबाट वैशाख ८ गते संयुक्त रूपमा सभामुखलाई ज्ञापनपत्र बुझाउने कर्मचारी संगठनहरूको कार्यक्रम अन्तर्गत सोमवार जिल्ला प्रशासन कार्यालयमा पुगेर कर्मचारी संगठनले सभामुखलाई पठाउने गरी प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई ज्ञापनपत्र बझाएका हुन् ।

विभिन्न १२ बुँदे मागसहित जिल्लामा सक्रिय तीन संगठनले संयुक्त रूपमा ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएका थिए । सभामुखलाई पठाइएको ज्ञापनपत्रमा कर्मचारी संगठनहरूले यस अघि भएका सहमति, सम्झौता र अदालतले दिएको आदेशलाई समेत समेटेर तत्काल सङ्घीय निजामती ऐन जारी गर्न माग गरेका छन् ।

नेपाल निजामती कर्मचारी युनियन दाङका अध्यक्ष शरदकुमार घिमिरे, नेपाल निजामती कर्मचारी संगठन दाङका अध्यक्ष गोकर्ण वली र नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन दाङका सहसचिव खड्क केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा माग पूरा नभए कर्मचारी संगठनहरूको केन्द्रीय कार्यक्रम अनुसार कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।