रहेनन् कर्मठ योद्धा ‘चैतु’
लीलाधर वली
दाङ, २ बैशाख । नेपाली कांग्रेस दाङका पूर्व सभापति तथा जिल्ला विकास समितिका पूर्व सभापति तीर्थराज ज्ञवाली ‘चैतु’को ७४ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि रगत सङ्क्रमण सम्बन्धी रोगबाट पीडित ज्ञवाली स्वास्थ्यमा समस्या देखिएपछि चैत २३ गते उपचारका लागि घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए । आफ्नो लामो राजनीतिक जीवनमा उनले आफूलाई एउटा कर्मठ योद्धाको पहिचान बनाएका छन् ।
प्रतिष्ठानमा उपचारका क्रममा बैशाख २ गते मंगलवार बिहान ९ः४५ बजे निधन भएको हो । ०८ साल जेठ महिनामा जन्मिएका उनले २०२२ सालदेखि नेपाली कांग्रेसमा सामेल भएर राजनीति सुरु गरेका थिए । नेपालको प्रजातन्त्र स्थापना र पुनःस्थापनाको संघर्ष र आन्दोलनका क्रममा लडेका कर्मशिल कुशल संगठक विकास र सामाज परिवर्तनका अभियन्ता ज्ञवालीले लगातार करिब साढे चार वर्ष जेल जीवन बिताएका थिए । त्यसबाहेक पनि उनलाई पटकपटक पक्राउ गर्नुका साथै तत्कालिन पञ्चायति व्यवस्थाले सम्पति सर्वश्वहरण र आजीवन कारावासको सजाय गरेको थियो । ०४६ सालमा बहुदलीय व्यवस्थाको स्थापनापछि उनी हिरासत मुक्त भएका थिए ।
पञ्चायत बिरोधी दाङका महत्वपूर्ण घटनाहरुमा ‘चैतु’ अग्रमोर्चामा रहन्थे । दाङका नेतात्रय (खुमबहादुर, बलदेब र चैतु) मध्यका एक उनी बौद्धिक बहस र हतियार सहितको लडाईंको मोर्चामा उत्तिकै निपूर्ण ठानिन्थे । ‘त्यतिबेला ‘टेवल–टक’ मा चैतुलाई कसैले जित्न सक्दैनथे’ उनका समकालिनहरुले भन्ने गर्दथे । पञ्चहरु र प्रशासन समेत उनको क्रान्तिकारी चरित्रसंग तर्सने गरेको पनि समकालिनहरु स्मरण गर्दछन् । ‘चैतुलाई पक्रनका लागि प्रहरीहरु पनि ठूलो संख्यामा जाने गर्दथे’ समकालिनहरुको भनाई छ–‘दुईचार जना प्रहरीले छुने हिम्मत नै गर्दनथे ।’ ज्ञवालीलाई समकक्षीहरुले निडर, कुशल संगठक तथा विकासप्रेमी नेताका रुपमा समेत सम्झने गर्दछन् ।
२०२६ सालको पिडियो काण्ड, ०३० सालको कचिला काण्ड, ०३१ सालको चङ्गवा चौकी काण्ड लगायतका हतियार बोकेर कांग्रेसका नेताहरुले नेतृत्व गरेका काण्डहरुमा चैतु अग्रमोर्चामा रहन्थे । उनको एउटा खुट्टा कमजोर रहेता पनि उत्तिकै सक्रियताका साथ उनी नेतृत्वपंक्तिमा उभिन्थे । बहुदल आइसकेपछि एउटा दूर्घटनामा परी उनको कम्मरभन्दा मुनी चल्न नसक्ने भयो र जीवनभर त्यसको असर परिराख्यो ।
बहुदल स्थापनापछि २०४९ सालमा भएको पहिलो स्थानीय निर्वाचनबाट उनी तत्कालिन जिल्ला विकास समितिको प्रथम सभापति निर्वाचित भए । उनको पालाबाट समग्र जिल्लाको विकासको अबधारण निर्माण गर्ने र त्यसैअनुसार बजेट विनियोजन गर्ने अभ्यास प्रारम्भ भएको थियो । उनी २०३६ सालको जनमत संग्रहपछि र २०५६ साल गरेर दुई पटक नेपाली कांग्रेस दाङको सभापति बनेका थिए । स्वर्गीय ज्ञवालीका श्रीमति सिता ज्ञवाली, छोरा रविन ज्ञवाली र छोरी एकता ज्ञवाली शर्मा रहेका छन् । छोरी एकता अमेरिकामा रहेको उनी नेपाल फर्किएपछि दाह्रासस्कार गर्ने परिवारले जनाएको छ ।
कांग्रेस दाङले तीन दिन झण्डा आधा झुकाउने
नेपाली कांग्रेस दाङले ज्ञवालीको निधनप्रति दुःख व्यक्त गर्दै सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको छ । श्रद्धाञ्जलीका लागि ज्ञवालीको पार्थिव शरीर जिल्ला पार्टी कार्यालय घोराहीमा राखिने र अन्तिम संस्कारको बारेमा परिवारजनसँग सल्लाह पश्चात् थप जानकारी गराइने जनाइएको छ ।
नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले मंगलवार शोक बक्तत्व जारी गर्दै ज्ञवालीलाई ‘कुशल संगठन, विकास र समाज परिवर्तनका अभियन्ता’ को रूपमा सम्झिँदै दुःखमा रहनुभएका परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । साथै नेता चैतुको निधनले नेपाली काँग्रेस दाङले एक असल अभिभावक गुमाएको भन्दै चैतुको निधनले नेपाली काग्रेस पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।
सभापति देउवाद्वारा दुःख व्यक्त
यसैविच नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति तीर्थराज ज्ञवाली ‘चैतुु’को निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलवार शोक विज्ञप्ति जारी गर्दै लामो समय नेपाली कांग्रेसका विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै पार्टीको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा पु¥याउनु नेतृत्वदायी भूमिकाको सदा स्मराणीय रहिरहने उल्लेख गरिएको छ ।
साथै शोक विज्ञप्तिमा ज्ञवालीको निधनले कांग्रेस पार्टीले इमानदार, समर्पित र अनुभवी नेता गुमाएको उल्लेख गरिएको छ । श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गरेका साथै, शोकसन्तप्त परिवारजन र पार्टीका सम्पूर्ण सदस्यप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
