सम्पादकीय : नयाँ वर्षको शुभकामना

नयाँ वर्ष २०८२ आजदेखि शुभारम्भ भएको छ । विक्रम संवत् अनुसार हरेक नयाँ वर्ष वैशाख महिनाको १ गते अर्थात् आजकै दिनबाट सुरु हुन्छ । संसारभरिका मानिसले विभिन्न प्रकारका आआफ्नै तरिकाले आआफ्नै समयमा नयाँ वर्ष मनाउने चलनमा ल्याएका छन् तर विक्रम संवत् भने एउटा पुरानो अनि ऐतिहासिक संवत्को रूपमा विशेषतः पूर्वीय दर्शन र पौराणिक वैदिक सनातन संस्कारमा व्याख्या गरिएको छ । गएको सालमा विविध उपलब्धिमूलक भएका छन् । त्यसका साथै केही अप्रिय घटनाबाट धनजनको क्षति हुन पुगेको छ ।

अघिल्ला वर्षझैँ वर्ष २०८१ राजनीतिक, आर्थिक र सामाजिक तथा विपत्जन्य घटनाका कारण चर्चामा रह्यो । मुलुकका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको प्रदर्शन, सहकारी प्रकरण, ठुलो जनधनको क्षतिसहितको प्राकृतिक प्रकोप र दुर्घटना तथा अध्यादेश, कर्मचारी सरुवा बढुवादेखि विभिन्न घटना परिघटना पनि गत सालमा देखियो । यो नयाँ वर्षले सबैमा एउटा सुखद् आश्चर्य लिएर आउनेछ । बितेका वर्षमा भएका घटना परिघटनबाट सबैले पाठ सिक्न जरुरी हुन्छ । अबको वर्ष शुभ हुन्छ । प्रगति हुन्छ अनि स्वस्थ्य, सुखद र कल्याणकारी हुन्छ, हामीले उत्साही विश्वास राख्नुपर्छ ।

आराध्य देव, राष्ट्रदेव महादेव झैँ ‘समय’ पनि शून्य अनि निराकार, अन्त्यहीन अनि बलवान पनि । समय रोक्न, नियन्त्रण गर्न मानिसको बशको सवाल होइन । मानिसहरू निरन्तर साहस गरिरहन्छन्, समयलाई आफ्नो प्रकारले गणना गरिरहन्छन् । हात या भित्तामा भएको घडी अनि क्यालेन्डरहरूले यस्ता समयको मापन गर्ने गर्छन्, दिन, घडी, पला, नक्षत्र, पक्ष, मास अनि वर्षहरू फेरिरहन्छन् । हाम्रो प्रकृतिमा फूलका लालीगुराँस फूल आँप, लिची, दाना बसेका कटहर, नासपतीका हाँगाहरू, बोटबिरुवामा भर्खरैका चिल्ला पातहरूले वसन्त आगमनको सूचक सबैलाई नव वर्षको शुभकामना सन्देश प्रवाह गरेझैँ लाग्छ । देशको समृद्धि र विकासमा यो नयाँ वर्षमा पक्कै केही न केही नयाँ हुनेछन् ।

नयाँ विकास निर्माणका कामका सुरुवात गर्नुका साथै सबैको ध्यान पक्कै पनि देश राष्ट्रको समृद्धितिर जानेछ । जनताको धेरै आशा अपेक्ष छन् ती सबै यो नयाँ वर्षले केही हदसम्म पुरा हुनेछन् भन्ने सबैका अपेक्षा र आशा छ । कामना गरौँ कि आजको दिन नै त्यस्तो दिनको सुरुवात बनोस् । राजनीतिमा मात्र होइन, अर्थतन्त्रमा पनि कुनै गतिलो उपलब्धि हासिल गर्न नसकिएको अवस्थमा पक्कै पनि यो नयाँ वर्षले नयाँ उपलब्धि हासिल गर्नेछ ।

भौतिक विकासका प्रक्रिया सुस्त रहेको र सुशासनका क्षेत्रमा खासै उपलब्धि हासिल नभएको अवस्था पनि छ । जेजस्तो भए तापनि आशावादी हुनुको विकल्प हँुदैन । सबैले सकारात्मक र सद्भावका साथ अघि बढ्नुपर्ने हुन्छ । नयाँ वर्षमा प्रवेश गरेसँगै नयाँ कुरा हुनेछन् । नयाँ वर्ष साचो अर्थमा खुसी र उमङ्ग बन्ने दिन आउने छ । नयाँ वर्ष २०८२ साच्चै सुशासन, स्वशासन र सामाजिक न्यायको वर्ष बनोस् । सबैको स्वाभिमान र सबैको समृद्धिको वर्ष बनोस् । हामी हाम्रा आम पाठक, विज्ञापन दाता, शुवेच्छुक आम नेपाली दाजुभाइ, दिदीबहिनी र देशविदेशमा बस्नुहुने सबैलाई जीवनमा जे चाहनुभएको छ त्यो तपाईँलाई प्राप्त हुनेछ र सुख, शान्ति, लक्ष्य प्राप्तिमा सफलता मिलोस् भन्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।