पौडेल डेरी एण्ड बेकरीद्वारा सफ्टि आइसक्रिम बजारमा

दाङ, २८ चैत । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित नेत्रलाल चोकबाट सञ्चालनमा रहेको पौडेल डेरी एण्ड बेकरी उद्योग अन्तर्गतको घोराही फुड्सले उपभोक्ताहरूका लागि नयाँ स्वाद र अनुभव दिने उद्देश्यले ताजा र स्वादिष्ट ‘सफ्टि आइसक्रिम’ उत्पादन सुरु गरेको छ ।

आधुनिक सफ्टि आइसक्रिम मेसिनमार्फत उत्पादन गरिने यस आइसक्रिमले बजारमा छुट्टै स्वाद र गुणस्तर प्रदान गर्ने व्यवसायीको दाबी छ ।

घोराही फुड्सले सुरुवातमै चक्लेट, भेनेला, स्ट्रबरी लगायतका लोकप्रिय फ्लेवरहरूमा सफ्टि आइसक्रिम उपलब्ध गराइरहेको छ भने आगामी दिनमा अन्य फ्लेवरहरू पनि थप गर्दै लैजाने योजना रहेको सञ्चालक विष्णु पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार ताजा, सफा र गुणस्तरीय दूधजन्य उत्पादनहरू उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको यस उद्योगले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नुका साथै स्वदेशी उत्पादनमा आत्मनिर्भरता ल्याउने लक्ष्य लिएको छ ।

घोराही फुड्सले दूध, दही, घिउ, पनिर, कुल्फी, पेस्टी लगायतका दर्जनौं डेरी तथा बेकरी परिकारहरू उत्पादन गर्दै उपभोक्तामाझ सुपथ मूल्यमा वितरण गर्दै आएको छ । घोराही फुड्सले ग्राहकलाई ताजा तथा स्वास्थ्यप्रद खाद्य सामग्री प्रदान गर्ने उद्देश्य बोकेको छ ।

सञ्चालक पौडेलका अनुसार, सफ्टि आइसक्रिमका लागि प्रयोग हुने कोण निर्माण सामग्री समेत ेराही फुड्सले तयार पारिने भएकाले गुणस्तरमा कुनै सम्झौता गरिएको छैन । साथै, विवाह, जन्मदिन, उत्सव, पार्टी तथा अन्य शुभकार्यहरूका लागि ताजा आइसक्रिम आवश्यक परेमा अग्रिम बुकिङ सुविधा समेत उपलब्ध गराइएको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार फ्लेवर छनोट गरेर सुलभ दरमा सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।

व्यवसायी पौडेलले उपभोक्ताको विश्वास, सन्तुष्टि र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यलाई प्राथमिकतामा राख्दै उद्योग सञ्चालनमा ल्याइएको उल्लेख गर्नुभयो । ग्राहक सन्तुष्टि नै सफलता भएको कुरामा विश्वास राख्ने घोराही फुड्सले भविष्यमा अझ नविनतम उत्पादन र सेवाहरू ल्याउने तयारीमा रहेको जानकारी समेत दिएको छ ॥