गोरक्ष समाचारदाता
दाङ,२८ चैत । प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेला–२०८१ चैत ३० गतेदेखि सुरु हुेन भएको छ ।
दाङ सोसाइटी क्लवको १६ औं बार्षिकोत्सवका अवसरमा चैत २८ गतेदेखि घोराही उपमहानगरपालिका–१४ झिगौंरामा हुने भनिएको मेला मौसम प्रतिकुलतालगायतका प्राविधिक काममा भएको ढिलाईका कारण दुईपछि सरेको हो ।
‘खेलकुद र संस्कृति दाङको पहिचान, स्वरोजगारको आधार’ भन्ने नारासहित क्लबको १६औं वार्षिकोत्सवको अवसरमा अव चैत ३० गतेदेखि वैशाख १० गतेसम्म सञ्चालन हुने मेला आयोजक दाङ सोसाइटी क्लबका अध्यक्ष लेखनाथ बुढाथोकीले जानकारी दिएका छन् । जिल्लामै पहिलो पटक खेलकुद महोत्सवका रुपमा सञ्चालन हुन थालेको मेलामा ३७ विभिन्न खेलहरुमा प्रतिष्पर्धा हुन थालेको छ ।
मेलामा फुटबल, क्रिकेट, भलिबल, कबड्डी, मिनी म्याराथन, ब्याडमिन्टन, एथलेटिक्स, स्लो बाइक र स्कुटी रेस, बास्केटबल, बक्सिङ, बुद्धिचाल, भारोत्तोलन, लङजम्प, हाईजम्प, तेक्वान्दो, क्यारमबोर्ड, कुर्सी दौड, बक्तृत्वकला, चम्चा दौड, कविता, डोर पञ्चर (रस्साकस्सी), लुडो, टेबल टेनिस, वादविवाद, हाजिरीजवाफ, साइकल रेस, पन्जा लडाइँ, बेलुन टच, बोरा दौड, चकलेट दौड, तिर निसानलगायतका प्रतियोगिता हुन थालेका छन् ।
त्यसैगरी इ–स्पोट्र्स अन्तर्गत पप्जी र फ्रि फायरजस्ता लोकप्रिय गेम पनि प्रतियोगिताका रुपमा समावेश गरिएको छ । प्रतियोगिताका बिजेताले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
साँस्कृतिक कार्यक्रमअन्तर्गत राष्ट्रिय तथा स्थानीयस्तरका ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहने छन । मेलाको तयारी अन्तर्गत संचालन हुनेस्थान सरसफाइ र कम्पाउण्ड निर्माणको काम तीव्र रूपमा भइरहेको क्लबले जनाएको छ ।