शिक्षकको आन्दोलन सशक्त बन्दै, आन्दोलनका लागि काठमाडौ आउने शिक्षक बढ्दै

हेमराज शर्मा
काठमाडौ, २६ चैत । विद्यालय शिक्षा ऐनको माग राख्दै दाङ सहित देशभरबाट काठमाडौमा जुटेका शिक्षकहरूले आज मंगलवार दिउँसै टर्च बालेर विरोध प्रदर्शन गरेका छन्। सात दिनको सडक आन्दोलन पछि पनि सरकारले शिक्षकहरूको मागलाई सम्बोधन नगरेको भन्दै शिक्षकहरूले आज दिउँसै टर्च बालेर विरोध प्रदर्शन गरेका हुन्।

नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडतालको घोषणा गर्दै, देशभरका शिक्षकहरूलाई काठमाडौंमा केन्द्रीत आन्दोलनमा सहभागिता जनाउन आह्वान गरेका छन्। पठनपाठन बन्द गर्दै शिक्षकहरूले माइतिघरदेखि बानेश्वरसम्म टर्च बालेर प्रदर्शन गर्दै विद्यालय शिक्षा ऐनको शीघ्र प्रकाशनको माग गरेका छन्।

आन्दोलनका लागि दाङबाट १० वटै पालिकाबाट उल्लेख्य संख्यामा शिक्षकहरुको सहभागी भएका छन । बिद्यालय बन्द गरि आमहडताल घोषणा गरिएसगै दाङबाट काठमाडौ केन्द्रित आन्दोलनकालागी आउने शिक्षकको संख्या दिनहु बढ्दै गएको नेपाल शिक्षक महासङघ दाङका अध्यक्ष युवराज बस्नेतले जानकारी दिनुभयो । अब शिक्षकहरुले निर्णायक आन्दोलन गर्नुको बिकल्प नभएको भन्दै महासङघका जिल्ला अध्यक्ष बस्नेत जिल्ला रहेका सवै शिक्षकलाई आन्दोलनका लागि काठमाडौ आउन आग्रह गर्नुभएको छ ।

आन्दोलनका अगुवा शिक्षकहरुले सरकारले लामो समयदेखि उनीहरूको मागलाई सम्बोधन नगरेका कारण उनीहरू बाध्य भएर सडकमा उत्रनु परेको बताएका छन्। प्रदर्शनको क्रममा “पुराना ऐन खारेज गर, नयाँ ऐन जारी गर” जस्ता नारा लगाउँदै उनीहरूले सरकारसँग तात्काल कारवाहीको माग गरेका छन्। महासंघले चेतावनी दिँदै शिक्षकका माग सम्वोदन नभए थप कडा संघर्षको कार्यक्रम ल्याउने चेतावनी दिएका छन ।