गोरक्ष समाचारदाता
दाङ, २६ चैत । दाङमा प्याज खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । कम लगानी र मिहिनेतमा राम्रो उत्पादन लिन सकिने र बिक्रीमा समस्या नहुने भएपछि प्याज खेतीमा किसानको आकर्षण बढ्दै गएको हो ।
केही वर्ष अघिसम्म घरका लागि आवश्यक प्याज रोप्ने किसानले पछिल्लो समय व्यावसायिक खेतीमा लागेका छन् । तिनैमध्येका एक हुन् घोराही उपमहानगरपालिका–८ स्यानीगाउँ निवासी दीपक चौधरी । कम लगानी र मिहिनेतमै राम्रो आम्दानी लिन सकिने र बिक्रीमा समस्या नहुने भएपछि प्याज खेती गर्न थालेको उनी बताउँछन् । विगत तीन वर्षदेखि व्यावसायिक उत्पादनमा जोडिएको भन्दै किसान चौधरीले प्याज बिक्री गरेर सिजनमा ५०÷६० हजारसम्म आम्दानी गर्ने गरेको बताउँछन् । करिब चार कछ्ठा जमिनमा प्याजखेती गरेका चौधरीले गाउँमा सिँचाइको सुविधा भएकाले खेती गर्न सजिलो हुने गरेको बताए ।
घोराही उपमहानगरपालिका–७ निवासी सरीता चौधरीले पनि प्याजखेती गर्दै आएकी छन् । सिँचाइको सुविधा भएको ठाउँमा प्याजखेती गर्दा राम्रो उत्पादन हुने र बिक्रीमा पनि समस्या नहुने भएकाले प्याजखेती गर्दा फाइदा हुने गरेको उनको भनाइ छ । ‘जिल्लामा थोरै मात्रमा प्याजखेती हुन्छ, त्यसैले उत्पादन भएको प्याज बिक्री गर्न समस्या हुँदैन’, उनले भनिन्, ‘त्यही भएर पछिल्लो समय गाउँमा धेरै किसानले प्याजखेती थालेका छन् ।’ उनका अनुसार पहिले घरका लागि मात्र आवश्यक प्याजखेती गर्ने किसान अहिले व्यावसायिक प्याजखेती गर्न थालेका छन् । प्याजका लागि माटो र हावापानी उपयुक्त भएकाले खेती गर्न समस्या नभएको उनले बताइन् । उनका अनुसार सिजनमा ३०÷४० हजार रुपैयाँसम्मको प्याज बिक्री गरेर आम्दानी हुन्छ ।
उनले हरियोदेखि तयार भएको प्याज बिक्री गर्ने गरेको बताइन् । अन्य तरकारीभन्दा प्याजखेती गर्न सजिलो भएको उनको भनाइ छ । उनले भनिन्, ‘प्याज खेतीमा अन्य तरकारी खेती जस्तोे जोखिम हुँदैन, सिँचाइ र गोडमेल गर्नुपर्छ, रोगको समस्या पनि हुँदैन ।’ गाउँमा व्यक्तिगत तथा सामूहिक रूपमा किसानले प्याजखेती गर्ने गरेका उनले बताइन् । प्रतिनिधिमूलक किसान भएपछि जिल्लामा पछिल्लो समय घोराहीको स्यानीगाउँ, तुलसीपुरको कचिला, उरहरीलगायत दंगीशरण गाउँपालिका र देउखुरीका विभिन्न क्षेत्रमा किसानले व्यावसायिक प्याजखेती गर्दै आएका छन् ।
जिल्लामा धेरै खेती नहुँदा बिक्री गर्न समस्या नहुने र आम्दानी पनि राम्रै हुने भएपछि किसान प्याज खेतीमा जोडिँदै गएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी एवम् कृषि प्रसार अधिकृत पृथ्वीराज लामिछानेले बताए । सूचना अधिकारी लामिछानेका अनुसार जिल्लामा यो वर्ष करिब ८८ हेक्टर क्षेत्रफलमा प्याजखेती भएको छ । गत वर्ष ८५ हेक्टर क्षेत्रफलमा भए पनि यो केही क्षेत्रफल बढेर ८८ हेक्टर क्षेत्रफलमा प्याजखेती विस्तार भएको छ । सूचना अधिकारी लामिछानेका अनुसार जिल्लामा आठ सय ७५ दशमलव ५ मेट्रिकटन वार्षिक प्याज उत्पादन हुने गरेको छ ।