राम्रा कामको प्रचार नहुँदा जनतामा निराशा : महामन्त्री थापा

गोरक्ष समाचारदाता
तुलसीपुर, २५ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले गरेका राम्रो कामको प्रचार नहुँदा जनतामा निराशा छाएको बताएका छन् ।

तुलसीपुरमा आइतवार नेपाल थारू संघको नगर र क्षेत्रस्तरीय अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले राम्रा कामको प्रचार नहुँदा जनतामा निराशा र असन्तुष्टि बढेको बताएका हुन् । सरकारले राम्रा काम गरेको तर प्रचारप्रसार नभएको भन्दै कार्यक्रमका प्रमुख अतिथि थापाले भने,‘स्वास्थ्यका क्षेत्रमा स्वास्थ्य बिमा, वन विकास, आप्रवासन, भौतिक पूर्वाधारका क्षेत्रमा सकारात्मक काम भएपनि प्रचार हुन सकेको छैन, गाउँ–गाउँमा पुगेर प्रचार गर्नुहोस् । जनतालाई बुझाउन लाग्नुस् ।’उनले राम्रा कामको जनतालाई बुझाउन सके अहिले दलप्रति बढेको असन्तुष्टि हट्ने बताए ।

महामन्त्री थापाले संविधानमा देखिएका त्रुटि सच्याउन, संशोधन गर्नका लागि सरकारभित्र र बाहिर रहेका दलहरूसँग पटक–पटक संवाद मै रहेको समेत बताएका थिए । उनले नागरिकको जीवनस्तर उकास्न नीतिगत सुधार र नेताहरूको आचरणमा परिवर्तन जरुरी रहेको भन्दै धार्मिक स्वतन्त्रताको समर्थन गर्दै धर्म परिवर्तन गराउने कार्य रोकिनुपर्ने र वैदिक सनातन धर्मसहित सबै संस्कृति र परम्पराको जगेर्ना गर्नुपर्ने बताएका थिए ।

नेपाल राष्ट्रका अगाडि ठुलो समस्या सम्बोधन गर्नका लागि पार्टी राष्ट्रिय चेतका साथ स्थापना भएको उनले बताए । ‘अहिले जताततै बिग्रियो भत्कियो भन्ने जनतामा असन्तुष्टि छ, यसलाई हटाउन कांग्रेसले देशमा भएका राम्रा कामको जनतालाई बुझाउन आवश्यक छ’ उनले भने । उनले कांग्रेसका कार्यकर्ता र देशबासीलाई सङ्घीय लोकतान्त्रिक व्यवस्थाका पारेमा सबैलाई बुझाउन आग्रह गरे ।

अहिले धेरै कुरामा बेचयन भएको भन्दै नागरिकले ल्याएको व्यवस्थाका कारण यस्तो अवस्था आएको हो र यो व्यवस्था बदल्नु पर्छ भन्ने केही शक्ति लागेको समेत बताए । उनले कांग्रेस पहिलो प्रजातान्त्रिक पार्टी भएको भन्दै संविधान निर्माणदेखि अन्य कुरामा नेतृत्व गर्दै आएकाले अब पनि समस्यालाई समाधान गर्नतर्फ लाग्नु पर्ने बताए । उनले संविधानमा केही सुधार गर्नु पर्ने र केही समस्याहरू रहेको भन्दै त्यसलाई सबैसँग छलफल गरेर सच्याउन सकिने बताए ।

‘हामी नेपालको राष्ट्रिय पार्टी हो यो हामीहरूले समाल्नु पर्छ सङ्घीयता उल्टो गरी उभिएको छ, खुट्टाबाट उभिनुपर्नेमा टाउकोबाट उभिँदा केही समस्या छन्’ उनले भने’ यसमा सबै मिलेर सुधार गर्न आवश्यक छ ।’ सरकारप्रति जनताको निराशा र केही असहमति रहेको भन्दै त्यसलाई सुधार गर्न आवश्यक रहेको बताए । ‘अहिले सबै खुसी नभएको अवस्था छ, यसबाट भाग्नुभन्दा पनि यो अवस्था बदल्नतर्फ सबै लाग्नु पर्छ’ उनले भने ।

महामन्त्री थापाले अहिले कुशासनको विरूद्ध केही समस्या आएको भन्दै यो अवस्था बदल्न आचरण, व्यवहार सबैले बदल्न आवश्यक रहेको समेत बताए । त्यस्तै उनले सरकारले कुनै एउटा व्यक्तिको लाभका लागि नभई सबै जनताले लाभ पाउने काम गर्नुपर्ने उनको धारणा थियो । उनले अहिले शिक्षकदेखि अन्यसँग संगठन र पीडितले आन्दोलन गरिरहेको भन्दै सबैका जायज मागहरू सरकारले सम्बोधन गर्नुपर्ने बताए ।

थापाले नेपालको राष्ट्रियतादेखि अन्य कुरामा महत्वपूर्ण भूमिका थारू समुदायको रहेको भन्दै आफ्ना मागहरूलाई पूरा गर्न संगठित हुनुपर्ने बताए । उनले थारू जातिहरूले राजनीतिक न्याय प्राप्त गर्न नसकेको भन्दै थारूको मुद्दाको सम्बोधन हुने बताए । ‘थारू जातिका केही मागहरू छन्, त्यसको बारेमा पनि छलफल भइरहेको छ, । त्यो हाम्रो पार्टी सरकार दुवैले गर्ने छ’ थापाले भने । त्यस्तै उनले नेपाल थारू संघ कांगे्रसको कान्छो संगठन भएको भन्दै कांग्रेसका नयाँ पुस्तालाई जोड्न लाग्नु पर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. मिलेन्द्र रिजालले कांग्रेसले विभिन्न समयमा विभिन्न उपलब्धीमूलक काम गरेको भन्दै अब पनि जनताको पक्षमा काम गर्नुपर्ने बताए । उनले नेताहरू राजा जस्तो होइन जनताको काम गर्ने जनताको पक्षमा हुनुपर्ने बताए ।

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले दाङ थारू जातिको बाहुल्यता भएको जिल्ला भएको भन्दै थारू जातिको महत्व र उनीहरूको इतिहास लामो भएको बताए । उनले दाङको विकासका लागि आफूहरू लागेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्ता दिने बताए । कार्यक्रममा केन्द्रीय सदस्य योगेन्द्र चौधरीले कांग्रेसले समावेशीतालाई कार्यान्वयन गरेको भन्दै थारूलाई विभिन्न स्थान दिने पार्टी कांग्रेस भएको बताए । उनले सबै क्षेत्रमा समान सहभागीता आवश्यक भएको समेत बताए ।

नेपाल थारू संघ क्षेत्र नं. ३ का अध्यक्ष यादव चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, गेहेन्द्र गिरी, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, जिल्ला सभापति शंकरप्रसाद डाँगी, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, क्षेत्रीय सभापति जगतबहादुर खड्का, नेपाल थारू संघका केन्द्रीय अध्यक्ष शिषनारायण महतो, केन्द्रीय सदस्य पृथ्वी चौधरी, गणेशकुमार चौधरी, नेपाली कांग्रेस गैसस विभाग केन्द्रीय सदस्य चुर्णबहादुर चौधरी, जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरी, दंगीशरण गाउँपालिका वडा नं. ३ का अध्यक्ष शुकलाल चौधरी, क्षेत्रीय उपाध्यक्ष मोहनकुमार चौधरीलगायतले बोलेका थिए ।

नेपाल थारू संघका नगर अध्यक्ष पुरन चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा धन्यवाद ज्ञापन प्रवक्ता सन्तोष चौधरीले गरेका थिए भने संगठनिक प्रतिवेदन सचिव आशा चौधरीले प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सहजीकरण इन्द्र चौधरीले गरेका थिए ।