गणतन्त्रको नाममा लुटतन्त्र मच्चिएको छ : अध्यक्ष लिङ्देन

प्रिया स्मृती गजमेर
देउखुरी,२५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा गणतन्त्रका नाममा लुटतन्त्र मच्चिएकाले नयाँ व्यवस्था आवश्यक रहेको बताएका छन् ।

राप्रपा क्षेत्र नं. १ दाङले आइतबार लमहीमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले गणतन्त्रमा नाममा प्रमुख दलले लुटतन्त्र मच्याउने काम गरेको आरोप लगाउँदै जनतालाई परिवर्तनका पक्षमा उभिन आग्रह गरेका हुन् । राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्ने भन्दै अध्यक्ष ल्ङिदेनले गणतन्त्रका नाममा लुटतन्त्रलाई संस्थागत गर्न नहुने बताए । वर्तमान सत्ता गठबन्धन जति चलेपनि जनताले दुःख पाउन नछोड्ने बताएका हुन् । ‘गणतन्त्रको नाममा नेताका आसेपासेले देशमा लुटतन्त्र मच्चाएका छन् ।

यसरी देशको समृद्धि हुन सक्दैन’,सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने,‘देशको समृद्धि र स्थायित्वका लागि राजतन्त्रसहितको हिन्दु राज्य आवश्यक छ ।’ उनले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) जति पटक प्रधानमन्त्री बने पनि देश नबदलिने दाबी गरे । ‘२०४६ सालदेखि अहिलेसम्म उही नेता, उही नेतृत्वले देशलाई कहाँ पु¥यायो ?’ लिङ्देनले प्रश्न गरेका थिए । उनले देशमा उड्न नसक्ने हवाइजहाज किन्ने र जहाज नबस्ने विमानस्थल बनाउने कार्य कमिसनका लागि गरिरहेको आरोप लगाएका थिए ।

अब परिवर्तनको पक्षमा उभिने बेला आएको उल्लेख गर्दै लिङ्देनले राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्ने उदाहरण विश्वमा प्रशस्त रहेको बताए । ‘राजसंस्था ल्याउनु भनेको प्रजातन्त्र मास्ने भन्ने होइन । पार्टीको राजनीतिभन्दा माथि राजा हुन्छन्’,उनले भने,‘कार्यकारी प्रधानमन्त्री जनताबाटै चुन्नुपर्छ । हामीले खोजेको यही व्यवस्था हो ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले वर्तमान राजनीतिक दलबाट देशको विकास सम्भव नभएको भन्दै परिवर्तनका पक्षमा आउन जनतालाई आग्रह गरेका थिए । शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको निहुँमा राप्रपाका नेता तथा नागरिकलाई झुटा मुद्दा लगाएर दुःख दिने काम भइरहेको भन्दै बिना सत्र्ता रिहाईको माग गरेका हुन् । लोकतन्त्रमा आफूलाई मन नपरेको विषयमा आन्दोलन गर्न पाउने नागरिकको अधिकार भएको भन्दै विरोध गरेकै नाममा नेतालाई दुःख दिने र जेल हाल्ने काम भए त्यसको कडा प्रतिवाद गर्ने बताएका थिए । सरकारले दुःख दिने काम गरे राप्रपाले देशभर ‘जेल भर अभियान’ चलाउने बताए ।

अब देशमा जनताले राजतन्त्रसहितको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री छान्न पाउनु पर्ने व्यवस्था आवश्यक रहेको भन्दै भने,‘प्रधानमन्त्रीलाई सबैले भोट हाल्ने व्यवस्था चाहिन्छ । त्यसले मात्र सरकारको स्थायित्व र देशले समृद्धि पाउँछ ।’ उनले कांग्रेसलाई राष्ट्रवादी कि आतंकवाद कुन रोज्ने हो भनेर प्रश्न गरेका थिए । ‘कांग्रेस कुन कित्तामा उभिने हो, कांग्रेसले क्लियर गरोस्,उनले भने,‘देशमा राष्ट्रवादी र आतंकवादी दुई कित्ता छन् । कुन रोज्ने हो, कांग्रेसले रोजोस् ।’ राष्ट्रिय प्रजातन्त्र पार्टी दाङ क्षेत्र नं. १ का अध्यक्ष विनय बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा दर्जनौँ युवा राप्रपामा प्रवेश गरेका थिए ।