Goraksha

National Daily

जीवनका दुई पाटाहरू

आज साथीहरुसंग बसेर चियागफ गर्दै गर्दा उनीहरुले बहुत गजब र गहन कुरा गरे, एक “असल त मेरो दुश्मन नहोस्, जस्ले जहाँनेर पनि खाल्डोमा हाल्दिन्छ” दुई “आफैलाई बुझ्न त गाह्रो छ, कसलाई बुझ्ने ।” तीन त्यही समयमा कतै सामाजिक सञ्जालमा लेखेको पढे “केही मानिस यस्ता पनि पनि हुन्छन जोसंगै बसेर हाँस्छन्, रमाउँछन् तर पछाडी कुरा काट्छन्” यो तिन कुरा एकदम सत्य र मनन योग्य लाग्यो । मनमा अनेक कुरा खेल्न थाले र भावनालाई पोख्न मन लाग्यो ।
अनि सोंच्दै गएः

जीवन एक जटिल यात्रा हो, जहाँ असल मित्रता, इमान्दारिता, विश्वास र परोपकारको साथ–साथै धोका, स्वार्थ, र षड्यन्त्र पनि पाइन्छ । कुनै पनि व्यक्तिको सफलताका लागि सम्बन्धहरू अत्यन्त महत्वपूर्ण हुन्छन्, तर ती सम्बन्धहरू सही हुन् वा गलत भन्ने छुट्याउन सक्ने क्षमताले नै मानिसलाई परिपक्व बनाउँछ ।

हाम्रो समाजमा सिधा, सरल र इमान्दार मानिसलाई मूर्ख ठान्ने प्रवृत्ति छ । जो अत्यन्तै असल, भलाद्मी, र सहनशील हुन्छ, प्रायः ऊ नै शोषणको सिकार हुन्छ । यस्तो हुनुको मुख्य कारण भनेको समाजको व्यवहारवादी चरित्र हो । समाजमा धेरै जसो मानिसहरू अवसरवादी हुन्छन्, जो अरूको सरलताको फाइदा उठाउन खोज्छन् ।
यो भनाइ विशेष गरी व्यवहारिक जीवनमा अझै सान्दर्भिक देखिन्छ । उदाहरणका लागि, कुनै संस्थामा अत्यन्तै परिश्रमी, इमान्दार र सहनशील कर्मचारी भएमा, उसलाई नै सबैभन्दा बढी कामको भार दिइन्छ । तर, ऊ आफ्नो अधिकार माग्न जाँदा, उसलाई मूर्ख बनाइन्छ वा अवहेलना गरिन्छ । यसको अर्थ के हो भने;

• सिधा हुनु नराम्रो होइन, तर अति सिधा हुनु घातक हुनसक्छ ।

• मानिसले आत्मचिन्तन गर्नुपर्छ आफूलाई बुझ्नु पर्छ, आफूलाई बुझ्न नसक्नेले अरूलाई बुझ्ने अपेक्षा गर्नु व्यर्थ हो ।

• अत्यधिक सरलता कमजोरी हो, त्यसैले चतुरता आवश्यक हुन्छ ।

हामी जीवनमा त्यस्ता मानिससँग पनि भेट्छौं, जो बाहिर हाँसेर मित्रताको नाटक गर्छन्, तर पछि धोका दिन्छन् ।

यो व्यवहार हाम्रो समाजमा व्यापक रूपमा पाइन्छ । केही मानिसहरू सामुन्ने नाटक गर्छन् कि उनीहरू असल साथी हुन्, तर भित्री रूपमा स्वार्थी हुन्छन् । त्यस्ता व्यक्तिहरूले आपतकालीन अवस्थामा साथ दिने बहाना गर्छन्, तर वास्तविक सहयोगको समय आउँदा हराउँछन् वा बहाना बनाउँछन । कतिपय अवस्थामा, हामीले जसलाई असल साथी ठान्छौं, आफ्नै ठान्छौं, ऊ नै पछि गएर हाम्रो विरोधी बन्छ, खुराफात गर्छ ।

यो, प्रवृत्ति हाम्रो व्यक्तिगत जीवनदेखि व्यवसायिक जीवनसम्म देख्न सकिन्छ । उदाहरणका लागि, धेरैजसो नेताहरू चुनावमा जनताको सेवाको कुरा गर्छन्, तर पदमा पुगेपछि उनीहरूकै निर्णयले जनतालाई पीडा पु¥याउँछ । यसबाट हामी सिक्न सक्छौं कि;

•  हरेक हाँस्ने मान्छे मित्र हुँदैन ।

•  जीवनमा विश्वास गर्नुपर्छ, तर विवेक प्रयोग गरेर ।

• सम्बन्धको वास्तविक परीक्षण समयमै गर्नुपर्छ, नत्र धोका सहनुपर्ने हुनसक्छ ।

विश्वास जीवनको आधारभूत तत्व हो । यदि समाजमा विश्वास नै हरायो भने, कुनै पनि सम्बन्ध सम्भव हुँदैन । तर, विश्वास गर्दा विवेकशील हुन आवश्यक छ ।

सम्बन्धहरू स्थायी हुँदैनन्, तिनीहरू परिवर्तनशील हुन्छन्, आज आफ्नो जीवन भन्दा प्यारो लाग्ने मान्छे भोली मन नपर्न सक्छ, कोही पनि यो दुनियाँमा सधै सबैको लागि मनपर्ने हुन सक्दैन। कोही आज असल मित्र लाग्न सक्छ, तर परिस्थितिले उसको वास्तविक स्वभाव उजागर गर्न सक्छ । हामीले कुनै पनि सम्बन्धमा आँखा चिम्लेर विश्वास गर्नु हुँदैन। यो दुनियामा सबै मानिसहरू असल हुन्छन्, तर विश्वास गर्नु अघि परीक्षण गर्नु आवश्यक छ । किनकि अपवादहरु जहाँ पनि हुन्छ ।

यदि हामी अति सरल भयौं भने, अरूले फाइदा उठाउने सम्भावना धेरै हुन्छ । त्यसैले, व्यक्तिगत सीमाहरू राखेर आफूलाई सुरक्षित राख्नु बुद्धिमानी हुन्छ । धेरै मित्र बनाउनु नराम्रो होइन तर केही असल मित्र बनाउनु अझ बढी महत्वपूर्ण हुन्छ । संख्या ठूलो हुनु भन्दा गुणस्तर राम्रो हुनु नै प्रमुख कुरा हो । जीवनका दुई पाटाहरूलाई सरलता जुन आवश्यक छ तर अति भएपछि घातक हुनसक्छ; अर्कोतिर, धोका दिने प्रवृत्ति जसबाट जोगिन विवेकशील हुनुपर्छ ।

जीवनलाई सरल बनाउनु राम्रो हो, तर मूर्ख नबन्ने गरी। विश्वास गर्नु राम्रो हो, तर परीक्षण नगरी होइन। सम्बन्धहरूलाई सहज रूपमा लिनु राम्रो हो, तर आँखा चिम्लेर होइन । जीवनमा सच्चा साथी कमै पाइन्छ, यदि पाइयो भने, त्यो नै सबैभन्दा ठुलो सम्पत्ति बन्नसक्छ, त्यसैले असल मित्रता पहिचान गरौं, अन्जानमा पनि खेर नफालौं।