गोरक्ष समाचारदाता
घोराही, २२ चैत । दाङको घोराहीमा जारी मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । प्रदेश खेलकुद परिषद, लुम्बिनीको आयोजनामा भएको प्रतियोगिताको सेमिफाइनलमा रुपन्देही, बाँके, रोल्पा र पाल्पा प्रवेश गरेका छन् ।
घोराही उपमहानगरपालिका–१५ स्थित जिल्ला समन्वय समितिको मैदानमा शुक्रबार भएका क्वाटरफाइनलका खेलमा जित्दै रुपन्देही, बाँके, रोल्पा र पाल्पाले सेमिफाइनल यात्रा तय गरेका हुन । पहिलो क्वाटरफाइनलमा कपिलवस्तुलाई ३–० को सोझो सेटमा हराउँदै रोल्पा सेमिफाइनल पुगेको हो । रोल्पाले २५–१७, २५–२०, २५–१८ को सेटमा जित निकालेको थियो ।
त्यसैगरी दोस्रो क्वाटरफाइनलमा दाङलाई ३–० को सोझो सेटमा हराउँदै रोल्पा सेमिफाइनल पुगेको छ । पाल्पाले २५–१५, २५–१५ र २५–१८ को सोझो सेटमा दाङलाई हराएको थियो । तेस्रो क्वाटरफाइनल खेलमा रुकुमपूर्वलाई ३–२ को सेटमा हराउँदै बाँके सेमिफाइनलमा पुगेको छ । निकै प्रतिष्पर्धात्मक खेलमा बाँकेले अन्तिम सेटमा नतिजा आफ्नो पक्षमा पार्दै अन्तिम चारमा स्थान सुरक्षित गरेकोे हो । बाँकेले २५–२२, २५–१८, २२–२५, २०–२५ र १५–११ को सेटमा रुकुमपूर्वलाई हराएको थियो ।
क्वाटरफाइनलको अन्तिम खेलमा अर्घाखाँचीलाई ३–० को सोझो सेटमा हराउँदै रुपन्देही सेमिफाइनलमा पुगेको छ । रुपन्देहीले २५–१६, २५–८ र २५–२० को सोझो सेटमा अर्घाखाँचीलाई हराएको थियो । प्रतियोगिताको सेमिफाइनलमा पहिलो खेल पाल्पा र रोल्पा र दोश्रो खेल रुपन्देही र बाँकेको महिला टिमका बिचमा हुने आयोजक प्रदेश खेलकुद परिषदका सदस्य कैलाश रोका मगरले जानकारी दिएका छन् । उनका अनुसार प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट महिला टिमको सहभागीता रहेको छ ।
प्रतियोगिताको उपाधि जित्ने टिमले नगद एक लाख, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने छ भने उपविजेता टिमले नगद पैसट्टी हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । तृतीय हुने टिमले नगद पैतिस हजार र सान्त्वना हुने टिमले नगद पन्ध्र हजारसहित प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद दश हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनुका साथै ६ विधामा उत्कृष्ट हुने खेलाडीलाई पाँच हजारसहित पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यहि चैत २० गतेदेखि सञ्चालन भएको फाइनल खेल शनिवार आज दिउँसो हुने आयोजकले जनाएको छ ।