Goraksha

National Daily

उताको आकर्षण होइन, यताको निराशा : केन्द्रीय सदस्य गिरी

कांग्रेसको क्षेत्र प्रदेश सम्मेलन
खेमराज रिजाल
तुलसीपुर, २२ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व सिँचाइ मन्त्री तथा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद दीपक गिरीले भर्खरै राजधानी काठमाडौंमा भएको राजावादीको प्रदर्शन र सामाजिक सञ्जालमा देखिएको वर्तमान राज्य व्यवस्थाप्रतिकै असन्तुष्टिलाई राजतन्त्रप्रतिको आकर्षण नभएको स्पष्ट पारेका छन् । नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं. ३(१) को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘अहिले मुलुकको राजधानीमा राजावादीहरूको प्रदर्शन उता (राजतन्त्र)को आकर्षण होइन, यता (वर्तमान सरकार प्रति)को निराशा हो’, प्रमुख अतिथि गिरीले भने, ‘लोकतन्त्रको उच्चतम विकल्प हुँदैन ।’ यसका लागि जनतालाई डेलिभेरी दिने सवालमा सरकार सच्चिएर जानुपर्ने उनको अभिव्यक्ति थियो । विभिन्न कारणले मुलुकको आन्तरिक ढुकूटी कमजोर बन्दै गएको तथा जनताका आकाङ्क्षा बढिरहेको सन्दर्भमा यसलाई सन्तुलन कायम राख्न सरकारमा सहभागी नेतृत्वले गम्भीर समीक्षा गर्नुपर्ने उनको सुझाव थियो । कांग्रेसले संवैधानिक राजतन्त्र, सांस्कृतिक राजा तथा बेबीकिङको समेत अवधारण ल्याएको थियो तर राजा निरङ्कुश बन्दै गएपछि यो अवस्था पनि नरहेको भन्दै उनले राजावादीहरूले राजधानीमा उच्छृङ्खल प्रदर्शन गर्दैमा राजतन्त्र फर्कने दिवा स्वप्न नदेख्न आग्रह गरे ।

नेपाली कांग्रेस क्षेत्र नं ३(१)का प्रदेश सभापति देवेन्द्र रिजालको सभापतित्वमा भएको सम्मेलनमा नेता गिरीले अबको राजनीति जनतालाई डेलीभरी दिने सन्दर्भमा जोडिनु पर्ने बताए । नेपाली कांग्रेसले नै दाङको हरेक क्षेत्रमा विकासको नेतृत्व गरेको बताउँदै आफूले गरेका कामलाई ढुक्कसँग जनतालाई बताउन आम नेताकार्यकर्तालाई आह्वान गरे । ‘हामीले एयरपोर्ट बनाएका थियौँ, हामीले पुल बनायौँ, सिँचाइका पूर्वाधार निर्माण ग¥यौँ, अब नेपाली कांग्रेसकै पहलमा घोराही–तुलसीपुर चारलेनको ठेक्का पनि खुल्दैछ’, नेता गिरीले भने, अब फेरि मेरै नेतृत्वमा आगामी आर्थिक वर्ष टरिगाउँ विमानस्थलको स्तरोन्नति हुन्छ ।’

कांग्रेस नै लोकतन्त्रको बलियो आधार भएको जनताले राम्रोसँग बुझिसकेको भन्दै उनले पछिल्लो समयमा यस क्षेत्रमा भएका संस्थागत निर्वाचनहरूमा नेपाली कांग्रेसकै वर्चस्व कायम भएकोमा गौरव अनुभूति गरे । ‘राप्ती बबईको स्ववियु निर्वाचनको परिणाम हेरौँ, नेविसंघको पूरै प्यानलले जितेको छ, तुलसीपुर खानेपानीमा कांग्रेस समर्थित टिमकै वर्चस्व निर्वाचनबाटै चुनिएको छ, शान्तिनगरको माइलीपानी खानेपानी होस् वा भोजपुरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कांग्रेसलाई नै विश्वास गरिएको छ’, गिरीले भने, ‘अब थप एकताबद्ध भएर आगामी २०८४ को आम निर्वाचनमा पनि दाङमा तीनवटै निर्वाचन क्षेत्रमा कांग्रेसले जित्नेछ ।’

तर पनि एउटाले एकता भनिरहने अर्कोले नौटङ्की गरीरहने प्रवृत्ति भने हाबी रहेको बताउँदै यस्ता नौटङ्की प्रवृत्तिलाई परास्त गर्न उनले सबैलाई आग्रह गरे । यो अवस्थामा राजधानीमा भएको कथित राजावादीहरूको आन्दोलनले राजा फर्कन नसक्ने दाबी गरे ।

प्रदेश सम्मेलनमा बोल्दै विशिष्ट अतिथि तथा लुम्विनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि वर्तमान अवस्थामा जनतामा सरकारप्रतिको वितृष्णा बढेकाले यसलाई व्यवस्थापन गर्न उच्च नेतृत्व लागिपरेको बताए । ‘हामी सत्तामा छौँ तर जनतामा फ्ल्यास्टुयसन छ, हामीले पनि गल्ती गरेका छौँ होला, त्यसलाई सच्याएर जानुपर्छ’, पूर्वमुख्यमन्त्री चौधरीले भने । उनले रुख बालेर आगो ताप्नेहरू कांग्रेस नहुने भन्दै त्यस्ता चरित्रलाई नेपाली कांग्रेसले स्वीकार गर्न नसक्ने बताए । तपनि, निषेधको राजनीतिलाई त्याग्नुपर्ने उनको सुझाव थियो ।

दाङका विकासप्रेमी नेता भनेर चिनिने पूर्वमुख्यमन्त्री चौधरीलाई कहीँकतै आफ्नो क्षेत्रमा मात्र विकास बजेट हाल्यो भन्ने आरोप लाग्ने गर्दछ तर नेता चौधरीले आफूले हरेक क्षेत्रमा त्यहाँका कांग्रेस नेताहरूकै आग्रहम योजना पारेको बताए । ‘पुलमा कांग्रेस छ, सिँचाइ कुलोमा कांग्रेस, मन्दिर र भुइँह्यारथानमा कांग्रेस अनि तटबन्धमा पनि तपाईँ कांग्रेस देख्नुहुन्छ’, नेता चौधरीले भने, ‘तर हामीले गरेको विकासलाई भँज्याउने अरू राजनीतिक दलका तत्वहरू सामाजिक सञ्जालमा सक्रिय देखिन्छन् । लाजै नमानी फेबुकमा हालिदिन्छन्, यो पुल मैले बनाएको हो भनेर ।’

अर्का विशिष्ट अतिथि तथा नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले कांग्रेसले हरेक संघसंस्थामा प्रतिनिधित्व गर्नुपर्ने अवस्था रहेको भन्दै सबैले जनप्रतिनिधि नै रोज्ने अवस्था सिर्जना नगर्न आम जिल्ला नेतृत्वलाई आग्रह गरे । संगठनको मियो भनेकै सक्रिय सदस्यता भएको बताउँदै पार्टी सभापति डाँगीले जिल्लामा क्रियाशील सदस्यता विवाद धेरै नरहेको बताए । ‘क्रियाशील सदस्यता नवीकरणका सन्दर्भमा केही वडामा मात्रै सामान्य विवाद छन्, ती विवादलाई क्रमशः जिल्ला समितिले व्यवस्थापन गर्दैछ’, जिल्ला सभापति डाँगीले भने ।

उनले अब नेपाली कांग्रेसका हरेक नेतृत्वले मञचबाट गुट र उपगुटका कुरा नगर्न आग्रह गरे । नेपाली कांग्रेस दाङका धेरै सांगठनिक गतिविधिका विषयमा जानकारी उनले गराएका थिए । ‘अब हामी यही महिनाको २९ गते महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा घोराहीमा जिल्ला सम्मेलन गर्दै छौँ, त्यसमा आम कांग्रेसजनलाई चुलेनिम्तो गर्दछु’, सभापति डाँगीले भने । तर नेपाली कांग्रेस दाङले सम्पन्न गरेको सयदिने अभियानको अझै आउटपुट आई नसकेकाले आगामी वैशाखमा यसको जिल्लास्तरीय समीक्षा कार्यक्रम हुने बताए ।

नेपाली कांग्रेस प्रदेश ३(१)का उपसभापति शालिकराम रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्र नं ३ का सभापति जगत खड्का, कांग्रेस नेता तथा पूर्व प्रदेश सभा सदस्य शंकर गिरी, नेता केशव आचार्य, नेपाली कांग्रेस तुलसीपुर नगर समितिका सभापति सुरेश हमाल, महासमिति सदस्य देवा डाँगी, सूषमा लामिछाने गिरी, वडाध्यक्ष घनश्याम ढकाल, दंगीशरण गाउँपालिका कांग्रेस सभापति शम्भु गिरी, बबई कांग्रेस सभापति प्रकाश बस्नेत, शान्तिनगर सभापति झलक केसी, प्रदेश उपसभापति द्रोण देवकोटालगायतले सम्मेलनको सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा निर्वाचन क्षेत्र प्रदेश ३ (१) अन्तर्गत पर्ने सबै वडाका इकाइ सभापतिले क्रियाशील सदस्यता नवीकरणको अवस्था तथा आफ्ना वडाहरूले यो अवधिमा सञ्चालन गरेका गतिविधिका विषयमा जानकारी गराएका थिए । सम्मेलनमा प्रदेश सचिव तेजबहादुर डाँगीले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष यमुना कँडेल शाहले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सहजीकरण सचिव तेजबहादुर डांगी र तरुण नेता मुक्ति न्यौपानेले गरेका थिए । सो अवसरमा हालै सम्पन्न तुलसीपुर खानेपानीको निर्वाचनमा विजयी तथा राप्ती बबई क्याम्पसको स्ववियु निर्वाचनमा विजयी बनेका सबैलाई सम्मान गरिएको थियो ।