दाङ बैशाख २० । नेपाल पत्रकार महासंघले यो बर्ष प्रेस स्वतन्त्रता हननका घटना अघिल्लो बर्षको जस्तै भएपनि ती घटनाबाट पीडित हुने पत्रकारको संख्या अझै बढी भएको जनाएको छ । बिश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा महासंघका अध्यक्ष गोबिन्द आचार्यले जारी गरेको शुभकामना सन्देशमा यो तथ्यांक उल्लेख गर्दै सन् २०१९ मे महिना देखि २०२० को मार्चसम्ममा ६० वटा प्रेस हनन्का घटना भएको जानकारी गराइएको छ । ती घटनावाट ९४ जना पत्रकार र ३ संचार संस्था पीडित हुन पुगेको पनि महासंघले जनाएको छ । यस वर्षको बिश्व प्रेस स्वतन्त्रता दिवसको नारा ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ तय गरिएको छ ।
महासंघका अध्यक्ष आचार्यले आफ्नो सन्देशमा बिभिन्न तहका निर्वाचित नेतृत्वले नै पत्रकारहरुलाई धम्क्याउने प्रबृत्ति देखिएको बताएका छन् । शुभकामना सन्देशमा भनिएको छ, ‘यसवर्ष विभिन्न तहका निर्वाचित सरकारको नेतृत्ववाट संचारकर्मी र सञ्चारमाध्यमले आफ्नो पक्षमा नलेखेको भन्दै पटक पटक खुल्लारुपमा आरोप र धम्की दिने कार्य पनि भएका छन् । आफ्नो र सरकारको गुणगान गाउँदा ठीक भन्ने र अलिकति मात्रै आलोचना वा सत्य तथ्य समाचार र सूचना प्रभाह भयो भने सञ्चारकर्मी र सञ्चार माध्यम विरुद्ध खनिने प्रवृत्तिले लोकतन्त्रको संस्थागत विकासमै बाँधा पु¥याउदछ । यसतर्फ सम्वन्धित सबैको ध्यान जानु पर्दछ ।’ सो सन्देशमा यस वर्ष अनलाइन सञ्चार माध्यममा समाचार लेखेकै आधारमा पत्रकारलाई साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ गर्ने तथा अदालतले रिहा गरेका पत्रकार अदालतको गेटवाटै पुनः पक्राउ पर्ने क्रम बढेको उल्लेख गर्दै यसले नेपाली पत्रकारितामा नयाँ चुनौति थपिएको उल्लेख छ ।
‘रिपोर्टर विदआउट बोर्डर (आरएसएफ) ले प्रकाशित गरेको प्रेस स्वतन्त्रता इन्डेक्स २०२० मा नेपालको स्थान गत वर्षको तुलनामा ६ स्थान खस्किएर १८० राष्ट्रहरुमध्ये ११२ औं स्थानमा रहेको छ । आरएसएफले पनि सञ्चारसम्बन्धी प्रस्तावित कानूनहरु र सरकारका प्रतिनिधिहरुले प्रेसका बारेमा गर्ने टिप्पणीहरुलाई नै आधार मानी यस वर्ष नेपालको स्थान खस्किएको जनाएको छ’ अध्यक्ष आचार्यद्वारा जारी सो सन्देशमा भनिएको छ, ‘पत्रकार महासंघले अगाडि सार्दै आएका श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, पत्रकारको दक्षता अभिबृद्धिका लागि केन्द्र र प्रदेश स्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, आमसञ्चार प्राधिकरण, समानुपातिक विज्ञापन वितरणका लागि विज्ञापन परिषद् जस्ता निकायको स्थापना, प्रेस काउन्सिलको पुनर्संरचना, संचार माध्यमलाई संचार सेवा उद्योगको मान्यता, विदेशी टेलिभिजन च्यानलमा क्लीनफिड नीति लागू गर्ने व्यवस्था, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, जेष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था एवं आमसञ्चार विकास कोषको स्थापनालगायतका मागहरू पूरा गर्न सरकारसहित सम्बन्धित निकायहरुमा पुनः ध्यानाकर्षण गराउदछँु ।’
कोरोना सक्रमणले उत्पन्न गराएको अहिलेको संकटपूर्ण अवस्थामा केही सञ्चारगृहमा श्रमजीवी पत्रकारहरुलाई दवावपूर्ण वेतलबी विदामा राख्ने, हटाउने तथा समयमै पारिश्रमिक उपलब्ध नगराउने जस्ता समस्या देखिएका उल्लेख गर्दै अध्यक्ष आचार्यले त्यस्ता कदमहरु तत्काल रोकी श्रमजीवी पत्रकारहरुका समस्या सम्वोधन गर्न सम्वन्धित संचार प्रतिष्ठान र सरकारको ध्यानाकर्षण गराएका छन् । ‘कोरोना सक्रमणवाट अति प्रभावित जिल्लामा फिल्डमा खटिइरहेका पत्रकार, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको तत्काल स्वास्थ्य परिक्षण र विमाको व्यवस्था मिलाउन महासंघ आग्रह गर्दछ’ सन्देशमा भनिएको छ । उनले कोरोना सक्रमणका क्रममा फिल्डमा खटिने सबै संचारकर्मीका लागि आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था, नियमित स्वास्थ्य परिक्षण, विमा र सहज सूचना प्राप्तिको व्यवस्थाका लागि पनि सरकारसँग आग्रह गरेका छन् ।
‘प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा हैन, यो समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय हो । लोकतन्त्रको सुदृढीकरणका लागि प्रेस स्वतन्त्रताको निर्वाध उपयोग अनिवार्य शर्त हो । नेपालमा संवैधानिक दृष्टिले पहिलेभन्दा तुलनात्मकरूपमा अहिले प्रेस स्वतन्त्रताको संरक्षण गरिए पनि व्यवहारमा त्यस अनुरूप वातावरण बन्न सकेको छैन’ शुभकामना सन्देशमा भनिएको छ,‘राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको अधिकार र संचार माध्यमको हितका पक्षमा दृढतापूर्वक उभिई पत्रकारिताको विकासका साथै नेपाल र नेपाली जनताको हितमा काम गर्न हामी सबैलाई प्रेरणा मिलोस्, विश्व प्रेस स्वतन्त्रता दिवस २०२० को अवसरमा पुनः सबैमा हार्दिक बधाईं तथा शुभकामना ।’