Goraksha

National Daily

दाजुभाई दिलीप र विकासको सङ्घर्ष र सफलता

पार्वती बस्नेत
दाङ, १९ चैत । जीवनमा सफलता पाउनका लागि दृढ सङ्कल्प, परिश्रम र अवसरको संयोजन आवश्यक पर्छ । यही सत्यलाई पुष्टि गर्दै दाङ जिल्लाका राजपुर गाउँपालिका–५ निवासी २० वर्षीय दिलीप बोहोरा र २५ वर्षीय विकास बोहोरा चुनौतीपूर्ण जीवनयात्रालाई सङ्घर्षमार्फत् अवसरमा बदल्न सफल भएका छन् । दिलीप र विकास दाजुभाइ सानै उमेरमा आमाबुवाको माया नपाएका नाबालक हुन् ।

२०६७ सालमा आमा गुमाएपछि कमाउनका लागि बुबा इन्डिया गएका थिए । कमाउन गएका बुवाले हालसम्म उनीहरूसँग सम्पर्क गरेका छैनन् । ठुलीआमाको संरक्षणमा हुर्किरहेका दिलीप र विकासले आमाको जस्तै माया पाइरहेका थिए । त्यही बेला दिलीप र विकासलाई भाग्यले मात्र होइन, स्वास्थ्यले पनि कठोर परीक्षा लियो ।

दिलीप र विकास दाजुभाइ दुवैको दृष्टि समस्या छ । दिनभर धमिलो देख्ने उनीहरू रात पर्नासाथ पूर्णरूपमा दृष्टिविहीन हुन्छन् । यस्तो अवस्थामा पनि शिक्षा र सिपप्रति उनीहरूको लगाव अद्भूत छ । दिलीपले २०८० सालमा ‘ए+’ प्लससहित १२ कक्षा उत्तीर्ण गरे भने विकासले १० कक्षासम्म मात्र अध्ययन गरेका छन् । अध्ययन गर्ने इच्छा भए पनि कमजोर आर्थिक अवस्थाले पढाइलाई निरन्तरता दिन नसकेको बताउँदै विकास भन्छन्, ‘आर्थिक रूपमा कमजोर, त्यसैमा दृष्टिविहीन हुँदा पढाइलाई अघि बढाउन समस्या भयो ।’

घरको कमजोर आर्थिक अवस्थाका कारण गाउँघरमा मजदुरी गरेर भएको आम्दानीले दैनिक गुजारा चलाउँदै आएको बताउँछन् । काम गर्दा दैनिक पाँच सय रुपैयाँ प्राप्त गर्न सकिने र गाउँघरमा महिनाभरि निरन्तर काम नपाइने भएकाले दैनिकी चलाउन कठिन भएको विकास बताउँछन् । यही अवस्थामा ग्रामीण महिला उत्थान केन्द्र र निवास संस्थाको साझेदारीमा सञ्चालन गरेको ‘महिला परिवारलाई सुरक्षित आवासमार्फत् सुदृढीकरण परियोजना’ अन्तर्गत ३० दिने मिस्त्री तालिम प्राप्त गरेपछि सिप सिकेर आम्दानी गर्न सहज भएको उनी बताउँछन् ।

तालिमपश्चात् लेबरसँगै दक्ष मिस्त्री बनेका विकास र दिलीप आफ्नो सिपलाई प्रमाणित गर्न सङ्घर्षरत छन् । ‘नयाँ भएकाले अहिले सबैले पत्याउने अवस्था छैन तर पाएको ठाउँमा राम्रो काम गरिरहेका छौँ’, दिलीपले भने, ‘सकेसम्म सिपलाई निखार्दै दैनिक काम पाउने अवस्था सिर्जना गर्न लागेका छौँ ।’ बेरोजगारीका कारण हजारौँ युवा बिदेसिइरहेको समयमा स्वदेशमै दक्ष जनशक्ति उत्पादन भए विदेश जान नपर्ने विकास बताउँछन् ।