Goraksha

National Daily

अखाद्य वस्तुको बढ्दो प्रयोगले जनस्वास्थ्यमा असर

बालाराम खड्का
तुलसीपुर, १८ चैत । केही दिन अघि तुलसीपुर उपमहानगरपालिकाका साना बजार अनुगमन गरियो । तुलसीपुर उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरलगायतको प्रतिनिधि टोलीले गरेको बजार अनुगमनको क्रममा रँगसहितको अखाद्य वस्तु र गुणस्तहीन तेल भेटियो ।

यसरी नै पछिल्लो समयमा मिसावट तथा मानिसको स्वास्थ्यमा असर पर्ने गरी विभिन्न अखाद्य वस्तुको प्रयोग बढिरहेको छ । पकौडा पकाउने तेलको परीक्षण गर्दा त्यो गुणस्तरहीन भेटिएपछि तेल र पकौडासमेत नष्ट गरियो । सरकारी निकायले गर्ने अनुगमनमा भेटिएको यो त प्रतिनिधिमूलक उदाहरण हो । बजार अनुगमनका क्रममा यसरी नै पटक–पटक खाद्य वस्तुमा गुणस्तरहीन भेटिने गरेका छन् । बढ्दो जनसङ्ख्या, बजारीकरण, प्रविधिको व्यापकता र यातायातको सुलभताले पछिल्लो समय खाद्य स्वच्छतामा नयाँ–नयाँ चुनौती थपिएका विज्ञ बताउँछन् ।

एकातर्फ पुराना व्यवसायमा सुधार हुँदै गएको र अर्कोतर्फ नयाँ खालका समस्या थपिँदै गएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर, दाङका सूचना अधिकारी तथा खाद्य निरीक्षण अधिकारी विवेककुमार सुवेदीले गोरक्षलाई बताए । हालसालै मात्र बजारमा ठुलो मात्रामा बाह्य रँग हालेको मासको दाल, कृत्रिम रूपमा रँगाइएका चटपटे मटरजस्ता स्न्याक्स फुड, नक्कली चुक अमिलो, अस्वच्छ तरिकाले तयार गरिएका बरफ जुससमेत बिक्री वितरण गरेको भेटिएको उनले बताए । विभिन्न विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर पारिरहेको छ । शारीरिक र मानसिक रूपमा सक्रिय जीवनका लागि खाद्यन्न आधारभूत आवश्यकताको रूपमा रहन्छ । पछिल्लो समयमा जङ्कफुटको प्रयोग पनि बढ्दो छ ।

पानीपुरी र चटपटे नखाने कमै होलान् । सडक पेटीमा चटपट, पानीपुरी बेच्न राखिएको हुन्छ तर तिनै पानीपुरी र चटपटेको प्रयोग गर्दा मानव स्वास्थ्यमा पर्ने असरको बारेमा कसैको ध्यान गएको पाइँदैन । रँगसहितको अखाद्य वस्तुमात्र नभएर गुणस्तहीन तेल प्रयोग गरेर बनाइएका वस्तु सडकपेटीमा बेच्ने गरिएको छ । चटपट तथा अन्य पकौडालगायत खाद्य वस्तु बिक्री गर्दा पत्रिका र किताबको पानामा बिक्री समेत हुने गरेको छ । यसैगरी बाहिर देखाउन सजाइएका वस्तु राम्रोसँग सुरक्षित रूपले सुरक्षा नगर्र्दा सडकको धुलोसमेत त्यसमा पर्ने गरेको छ । यसले मानव स्वास्थ्यमा ठुलो असर गरिरहेको छ ।

‘बजारमा नक्कली चुक अमिलो धेरै प्रयोग भएको देखिएको छ, एक सयमा एक बोतल अमिलो चुक बजारमा छ्यापछ्याप्ती पाइन्छ, राम्रो चुक महँगो हुन्छ’, खाद्य निरीक्षण सुवेदीले भने । उनले स्वास्थ्यमा असर गर्ने वस्तु बिक्री वितरण नगर्न र अस्वच्छ तरिकाले तयार गरिएका बरफ जुससमेत बिक्री वितरण र प्रयोग नगर्न सजक गराएको बताए । बजार अनगुमनको क्रममा खाद्यवस्तुको पूर्ण परिचय नखुलाई, लेबलिङसमेत नगरिएका वस्तु यदाकदा भेटिने गरेका सुवेदीले बताए । ‘यस्ता वस्तु कतिपय अवस्थामा वदनियतपूर्वक उत्पादन तथा विक्री वितरण गरेको पाइन्छ भने कतिपयमा प्राविधिक ज्ञान र सचेतनाको कमीले कारणलेसमेत उत्पादन र बिक्री गरेको पाइएको छ’, सूचना अधिकारी तथा खाद्य निरीक्षण अधिकारी सुवेदीले भने ।

गुणस्तरहीन खाद्यवस्तुको प्रयोगले झाडापखाला, टाइफाइड, कमलपित्त, झाडा पखाला, पाचन प्रणाली, कलेजो र मृगौलासम्बन्धी रोग लाग्ने चिकित्सक बताउँछन् । उपभोक्ताले कुनै वस्तु प्रयोग गर्दा खाद्यवस्तुको नाम, उत्पादकको ठेगाना, व्याच नं., उत्पादन मिति, उपभोग्य मिति, समिश्रण गरिएका खाद्यवस्तुको नाम, लेवलबारे जानकारी लिनुपर्ने हुन्छ । अखाद्य तेल प्रयोग गर्दा मानव स्वास्थ्यमै गम्भीर असर पुग्ने चिकित्सक बताउँछन् । गुणस्तरहीन तेलले फुडप्वाइजनका साथै विभिन्न रोगको शिकार बन्ने सम्भावना हुने चिकित्सक बताउँछन् ।

यसैबिच खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले चालु आर्थिक वर्ष २०८१÷०८२ मा कार्यालयबाट हालसम्म एउटा उद्योगको सुधार नहुन्जेलसम्मका लागि उत्पादन रोक्का, एउटा उद्योगको समस्या देखिएको उत्पादन बजारबाट फिर्ता गरी नष्ट गराउन निर्देशन दिइएको, एउटा उद्योग उपर ऐन बमोजिम मुद्दा दायर गरिएको छ भने कैफियत देखिएका केही खाद्यपदार्थ उपर अनुसन्धान गरी थप कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको जनाएको छ । कार्यालयले हालसम्मको अवधिमा ७३ पटक खाद्य किराना बजार, ५१ पटक होटल÷ रेस्टुरेन्ट÷खाजाघर, १६ पटक गुनासो सम्बोधन तथा खाद्य उद्योगसमेत गरी पाँच सयभन्दा बढी खाद्य व्यवसायको अनुगमन गरिसको जनाएको छ । यसैगरी तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले विभिन्न समयमा बजार अनुगमन गर्ने गरेको छ ।