Goraksha

National Daily

फुटबल प्रतियोगिताको उपाधि होटल व्यवसायीलाई

गोरक्ष समाचारदाता
घोराही,१५ चैत । दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थापना दिवसको अवसरमा आयोजना गरिएको फुटबल प्रतियोगिताको उपाधि दाङ देउखुरी होटल व्यवसायीले हात पारेको छ ।
लुम्बिनी फुटबल ग्राउन्डमा विहीवार भएको फाइनल खेलमा दाङ देउखुरी होटल व्यवसायीले गल्ला तथा किराना व्यवसायीलाई २–१ को संघर्षपूर्ण जित निकाल्दै उपाधि चुम्न सफल भएको हो ।

खेलको सुरुवाती समयदेखि नै होटल व्यवसायी टोलीले आक्रामक प्रदर्शन गर्दै दबाब सिर्जना गरेको थियो । खेलको पहिलो हाफमा बिलास श्रेष्ठको गोलमार्फत होटल व्यवसायीले अग्रता लिएका थिए। तर, पहिलो हाफको अन्त्यतिर किराना व्यवसायी टोलीका खेलाडी बिकेश चौधरीले फ्रिकिकमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। दोस्रो हाफमा होटल व्यवसायी टोलीका पूर्ण बहादुर खड्काले निर्णायक गोल गर्दै टिमलाई जित दिलाएका थिए ।

संघ र बैंकर्सबीच मैत्रीपूर्ण खेल बराबरी

फाइनल खेलअघि घोराही बैंकर्स र दाङ जिल्ला उद्योग वाणिज्य संघबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो। खेलको पहिलो हाफमा बैंकर्सले गोल गर्दै संघमाथि दबाब सिर्जना गरेको थियो। तर, पहिलो हाफको अन्त्यतिर संघले गोल फर्काउँदै खेल बराबरीमा ल्यायो। दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन नसक्दा खेल बराबरीमा टुंगिएको थियो । प्रतियोगितामा उद्योग बाणिज्य संघअन्तर्गत रहेका विभिन्न बस्तुगत समितिहरुको सहभागीता रहेको थियो ।