Goraksha

National Daily

प्रत्यक्ष निर्वाचित कार्यकारी हुने व्यवस्था आवश्यक : पूर्व प्रधानमन्त्री भट्टराई

गोरक्ष समाचारदाता
घोराही, १५ चैत ।  पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराईले देशमा देखिएको बर्तमान संकट समाधानका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्था आवश्यक रहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपाल दाङले विहीवार घोराहीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री भट्राईले प्रत्यक्ष निर्वाचित कार्यकारी हुने व्यवस्था भएमा सरकार स्थिर रहने देशमा आर्थिक विकास संस्थागत हुने बताएका हुन । अहिलेकै व्यवस्थामा राजनीतिक स्थायित्व नहुने र देश झन आर्थिक संकटमा फस्ने अवस्था देखिएकाले राष्ट्रिय सहमति कायम गरेर केन्द्रमा प्रत्यक्ष राष्ट्रपति र प्रदेशमा मुख्यमन्त्री हुने व्यवस्था गर्नुपर्ने बताएका थिए ।

छिटो सहमति जुटाएर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम गर्न सकेमा समस्या समाधान हुने भन्दै पूर्व प्रधानमन्त्री भट्राईले भने,‘प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा जान नसक्ने र डराउने हो भने अझै १५÷२० बर्ष देशको हालत यस्तै हुन्छ । कुनै परिवर्तन हुँदैन ।’ उहाँले गम्भीर अवस्थामा फसेको अर्थतन्त्रलाई जोगाउनका लागि त्यसतर्फ जानुपर्ने आवश्यकता रहेको धारणा राखेका थिए ।

राष्ट्रिय सहमति जुटाएर निर्वाचन प्रणाली सुधार गरेर अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रदेश मुख्यमन्त्रीका साथै प्रत्यक्ष निर्वाचित संघीय र प्रदेश सांसदको व्यवस्था गर्नुपर्ने बताए । त्यसैगरी उनले विषय विज्ञबाट मन्त्री चयन गरेर सरकार चलाउन सके सुशासन र गतिशीलता ल्याउन सकिने बताए ।

पूर्व प्रधानमन्त्री भट्टराईले भुत भइसकेको राजतन्त्र फेरी फर्किएर आउन सक्ने सम्भावना नभएकाले राजतन्त्रका बारेमा अनावश्यक बहस आवश्यक नभएको बताए । राजनीतिक व्यवस्थामा असफल भइसके र केही भाडाका मानिस ल्याएर सडकमा उत्रिँदैमा लामो त्याग, तपस्या र बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था नढल्ने बताएका हुन । वर्तमान संविधानले राजतन्त्रको परिकल्पना नगरेको भन्दै उहाँले ल्याउने नै भए आगामी निर्वाचनमा दुई तिहाई बहुमत प्राप्त गर्दै संविधान संशोधन गरेर राजतन्त्र ल्याउन राप्रपालाई आग्रह गर्नुभएको थियो । उनले भने,‘अहिलेको व्यवस्थामा राजतन्त्र आउन सक्ने अवस्था छैन ।

राजतन्त्र ल्याउछौँ भनेर उर्फिनु मसानघाटमा पुगेको मृत शरिर फर्काछौ भन्नु जस्तै हो,त्यो सम्भव नै छैन ।’ उनले राजनीतिमा आउने नै रहर भए निर्वाचनका माध्यमबाट प्रतिष्पर्धामा ज्ञानेन्द्र शाह पनि आउन सक्ने बताएका हुन । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष समेत रहनुभएका भट्राईले उपलव्धीलाई बचाउँदै देशको विकासका लागि गणतन्त्रका पक्षधर एक ठाउँमा उभिनुपर्ने बताए ।

देशमा राजनीतिक अधिकार स्थापित भएपनि आर्थिक समृद्धि र सुशासन कायम गर्न बाँकी रहेको भन्दै उनले नयाँ विचारमा आधारमा नयाँ शक्ति पार्टी लागेको बताएका हुन । रिपोर्टर्स क्लब नेपाल दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सन्तोष केसीले गरेका थिए ।