सम्बन्धविच्छेद र बाल मनोसामाजिक असर
भुवन पोख्रेल
हिन्दु धर्म परम्पराअनुसार विवाह एक पवित्र बन्धन हो । अग्निलाई सात पटक परिक्रमा गरेर साक्षी राखी सात जन्मसम्मको अटुट बन्धन हुन्छ भन्ने मान्यता छ । अहिले समय बदलिएको छ । विवाहलाई नाफा र घाटाको व्यापार जसरी लेखाजोखा गर्ने पद्धति बनेको छ । विदेश जानेहरुले आफ्नो घरपरिवारलाई थाहै नदिई डिपेन्डेन भिसाका लागि अदालतमा विवाह दर्ता गर्ने र पछि मन नपरे सम्बन्ध विच्छेद गरी अर्कै केटोकटीसँग विवाह गरेको पनि देखिन्छ । यस्ता क्रियाकलापले समाजमा नकारात्मक असर पर्दछ ।
विशेषगरी सेलिब्रिटीहरुले करौडौँ खर्च गरेर विवाह गर्ने र त्यसको केही समयमै हिंसा भयो भन्दै रुदै मिडियामा आउने, डिमोर्स दिने गरेका छन् । सामान्य मान्छेका सम्बन्ध विच्छेदका घटनाहरु मिडियामा आउँदैनन् हाल टिकटक, फेसबुक, इन्स्टाग्रामले पनि यस्ता घटनाहरुलाई बढावा दिइरहेको जस्तो लाग्दछ । सम्बन्ध विच्छेदका घटनाहरु घट्नुमा महिला र पुरुष दुवै दोषि हुन्छन् । खोक्रो र रंगीन दुनिया कल्पनामा रमाउन खोज्दा आफ्नो स्वर्ग जस्तो घर वर्वाद भएको पत्तो नै पाउँदैनन् । जीवनको भोगाई देखावटी र काल्पनिकतामा अगाडि बढाउन सकिँदैन । वास्तविक जीवन संघर्षमय हुन्छ, तितो यथार्थ भोग्नु नै पर्दछ ।
श्रीमान् श्रीमती एक रथका दुईवटा पांग्रा हुन र सुखदुःखमा साथ दिँद्यै रथलाई अगाडि बढाउनु पर्दछ । श्रीमान्सँग प्रतिस्पर्धी भएर होइन सहयात्रीको व्यवहार गर्नुपर्दछ । परिवारमा अशान्ति, बेभेल, शंका, कलहले डेरा जमायो भने मेलमिलापको अन्त्य भई सुख शान्ति हराउँछ । पितृ सत्तात्मक समाज भएकाले महिलालाई सक्षम हुँदा हुँदै पनि कमजोर ठान्ने, निर्णय प्रक्रियामा महिला सहभागिताको आवश्यक नदेख्ने, महिला स्वतन्त्र भएको देख्न नरुचाउने कारण यस्ता घटनाहरु बढी घटिरहेका छन् । अब महिलाहरु पनि आत्मनिर्भर हुँदै गइरहेका छन् । आत्मनिर्भर भएपछि आफ्नो व्यक्तिगत स्वतन्त्रता आत्मनिर्णय, आत्मसम्मानमा पनि विशेष ख्याल राख्ने भएका छन् ।
अब महिलाहरु पहिला जस्तो घरभित्रको चार पर्खालमा सीमित छैनन् । विभिन्न किसिमका बन्धेज, अवरोधबाट माथि उठेर आफ्नो हक अधिकारका लागि लडिरहेका छन् । अब समाजमा महिलालाई सकारात्मक दृष्टिले हेरिनु पर्दछ । सम्बन्ध विच्छेदका घटनाको प्रत्यक्ष असर बालबालिकाको मानसिक स्वास्थ्यमा परेको छ । पतिपत्नीको सम्बन्ध विच्छेदमा तिनीहरुका सन्तानको भविष्य पनि सँगसँगै जोडिएको हुन्छ । सानातिना विवादमा बाबुआमाले सम्बन्ध विच्छेद गरे तिनका नाबालक सन्तान आफ्ना आमाबाबुको मायाबाट विमुख भई कुलतमा फस्ने जोखिम हुन्छ । बाबुआमाको सम्बन्ध विच्छेद भएका बालबालिकाले उनीहरुको साथ मात्रै गुमाएका हुँदैनन्, सँगसँगै आर्थिक अभाव, सामाजिक, पारिवारिक समस्याबाट समेत गुज्रिनु पर्ने हुन्छ ।
सम्बन्ध विच्छेदको लािग निवेदन परेमा अदालतले दुवै पक्षलाई भरसम सम्झाई बुझाई मेलमिलाप गराउनु पर्ने छ । यसले क्षणिक आवेशमा सिर्जना भएको विवाद साम्य भई सम्बन्ध विच्छेदमा कमी आओस् भन्ने देखिन्छ । सम्झाउँदा बुझाउँदा पनि पतिपत्नी बिच मेलमिलाप गराउन नसकेमा र विवाह कायम राख्नुभन्दा सम्बन्ध विच्छेद हुन उपयुक्त देखेमा निवेदन परेको एक वर्षपछि अदालतले निजहरुको सम्बन्ध विच्छेद गरिदिने भन्ने कानुनी व्यवस्था रहेको पाइन्छ । यो अवधिमा आत्म मूल्याङ्कन गर्ने र आफ्ना कमी कमजोरीलाई समीक्षा गर्ने गरी सम्बन्ध जोगाउन सकिन्छ ।
सानो कुरामा विवाद गरेर सिर्जना भएको सामान्य विवादमा सम्बन्ध विच्छेद गर्नु अघि धेरै पटक सोच्नु पर्दछ । सानातिना विवादलाई व्यवस्थापन गर्न नसकेर वा एकअर्काले सहन गर्ने नसक्ने प्रकृतिका देखिएर सम्बन्ध विच्छेदमा आएका हुन्छन्, यस्ता विवाद । जस्तोसुकै परिस्थितिमा पनि महिलाले सहेर बस्नुपर्छ भन्ने हिजोको पितृसत्तात्मक सोचमा परिवर्तन देखिन थालेको छ । सम्बन्ध विच्छेद सम्बन्धी मुद्दा संख्या बढ्न थालेको छ । सर्वोच्च अदालतको वार्षिक प्रतिवेदनमा सबै अदालतमा दायर भएका सम्पूर्ण मुद्दामध्ये सम्बन्ध विच्छेद पहिलो नम्बरमा रहेको छ । समग्र मुद्दामा यसको हिस्सा ११.४३ प्रतिशत रहेको छ ।
विवाहले लोग्ने स्वास्नी बिच वैवाहिक सम्बन्धको स्थापना गर्दछ भने सम्बन्ध विच्छेदले लोग्ने स्वास्नीबिच कायम भएको वैवाहिक सम्बन्धको अन्त्य हुन्छ भन्ने बुझनु पर्छ । विवाह जस्तो पवित्र नाता सम्बन्ध विच्छेदमा परिणत हुनका कारण आर्थिक, सामाजिक, संस्कृति परिवेश तथा देखासिकिले गर्दा प्रायजसो सम्बन्ध बिग्रेर जान्छ । सबैभन्दा बढी सम्बन्ध विच्छेद त वैदेशिक रोजगारको कारणले हुने गर्दछ किनकि छोराछोरी पढाउने निहुँमा सहर झरेर डेरामा बस्ने र सहरी परिवेशमा आफूलाई ढाल्न खोज्दा गरिबी, बेरोजगारी, मादक पदार्थ, कलिलो उमेरमा विवाह आदि प्रमुख आधार मान्न सकिन्छ ।
पछिल्लो समयमा घरपरिवारमा दिनहुँ झगडा हुँदा श्रीमान्ले श्रीमतीलाई समय नदिँदा अथवा छोरा जन्माउन नसक्ने जस्ता कारणहरु पनि प्रबल बनेका छन् । मानसिक तनावबाट छुट्कारा पाउन दिनहुँको अत्याचार सहन नसक्नु अथवा घरमा श्रीमान् श्रीमती हुँदा पनि बाहिर सम्बन्ध बनाउनु जस्तो कारणले पनि सम्बन्ध विच्छेद हुन्छ । यसले पारिवारिक अवस्था त खलबलिन्छ नै यसका साथै बालबालिकामा कस्तो प्रभाव पार्दछ भन्ने विषय महत्वपूर्ण रहेको छ ।
अहिलेको परिवर्तित समयमा सामाजिक सुव्यवस्था कायम गराउन बनाइएको वैवाहिक सम्बन्धमा टकराब आई पतिपत्नी बिच सम्बन्ध विच्छेद हुनु सामान्य बनिसकेको छ । पतिपत्नीमा आपसी प्रेम, सम्मान, विश्वास र मेल छैन भने त्यो सम्बन्ध स्वस्थकर हुँदैन र लामो समय टिक्न पनि सक्दैन । पतिपत्नीमा बेमेल र मनमुटाव भइरहेमा त्यस्तो सम्बन्ध व्यक्तिको अधिकार हो ।
हाम्रो कानुनले पनि पतिपत्नीले चाहेमा सजिलै सम्बन्ध विच्छेद गराउन सक्ने बाटो खोलिदिएको छ । जसअनुरुप पछिल्ललो समय सम्बन्ध विच्छेद बढ्दो क्रममा रहेको देखिन्छ। तर सम्बन्ध विच्छेदका कारण उनीहरुका सन्तानले धेरै नै दबाब, तनाव र अप्ठेरा परिस्थिति झेल्नु परेको छ । आमाबाबुको सम्बन्ध विच्छेद भएपछि उनीहरुका सन्तानले सहजरुपले पालनपोषण शिक्षादिक्षा, स्वास्थ्य, सुरक्षा पाउन सक्दैनन् भने आर्थिक्, सामाजिक तथा मनोवैज्ञानिक असरबाट समेत प्रभावित हुने गरेका छन् ।
अधिंकाश सम्बन्ध विच्छेदका घटना पति र परिवारबाट महिला माथि गरिने दुव्र्यवहार, कुटपिट, मानिसक तनावका कारण भएको देखिन्छ । सम्बन्ध विच्छेद बढ्नुमा विभेदकारी सामाजिक व्यवस्था, आर्थिक सामाजिक स्वतन्त्रताको चाहना र अन्य बाध्यात्मक परिस्थिति पनि उत्तिकै जिम्मेवार छन् । मुलुकी देवानी संहिता अनुसार पतिपत्नी दुवैले चाहेमा जहिलेसुकै पनि सम्बन्ध विच्छेद गर्न सक्छन् । पतिको मात्रै चाहनाले सम्बन्ध विच्छेद गर्ने हो भने चारवटा अवस्था हुनुपर्छ । मञ्जुरी नलिई पत्नी तिन वर्षभन्दा बढी समय अलग्गै बसेमा, खान लाउन नदिएमा वा घरबाट निकालेमा, शारीरिक वा मानसिक कष्ट पुग्ने प्रपञ्च गरेमा, अर्को विवाह गरेमा अन्य महिलासँग यौन सम्बन्ध राखेमा, पत्नीलाई जबरजस्तीकरणी गरेमा पत्नीले सम्बन्ध विच्छेद गर्न पाउँछिन् ।
महिलाको हकमा सम्बन्ध विच्छेदको कानुन केही हदसम्म उदार छ । मुलुकी देवानी संहिताको दफा ८२ (ग) मा पतिले अर्को विवाह गर्नासाथ पहिली पत्नीसाग स्वतः सम्बन्ध विच्छेद भएको मानिँदैन तर विवाहित महिलाले सम्बन्ध विच्छेद नहुँदै दोस्रो बिहे गरेमा पतिपत्नीबिचको सम्बन्ध स्वतः अन्त्य भएको मानिने उल्लेख छ । सम्बन्ध विच्छेदले बालबालिकामा मनोविज्ञान, शिक्षा, स्वास्थ्य र विभिन्न सुविधाको पहुँचमा पनि नकारात्मक असर पर्ने गरेको छ । आमाबाबुको बेमेलपछि कतिपय बालबालिका घरबट भाग्ने, लागु औषध दुव्र्यसनीमा फस्ने, श्रम शोषणमा पर्ने जस्ता समस्या देखिएको समाजशास्ती तथा कानुनका जानकारहरु बताउँछन् ।
बाबुआमाको सम्बन्ध विच्छेदबाट उनीहरुका सन्तानले दुवैको प्रेम, वात्सल्य, लालनपालन, शिक्षादिक्षा र साथ सहयोग त गुमाएका छन् नै साथ साथै आर्थिक, सामाजिक, पारिवारिक, समस्याबाट समेत प्रभावित भइरहेका देखिन्छन् । पारिवारिक विखण्डनकै कारण उनका सन्तानले आमाबाबु दुवैसँग बस्ने अधिकार गुमाएको पनि तथ्याङ्ले देखाएको छ । सम्बन्ध विच्छेदकै कारण बालबालिका सम्बन्धी ऐन २०७५ ले व्यवस्था गरेका कतिपय बालबालिका अधिकार पनि खोसिएका छन् ।
सम्बन्ध विच्छेद पछिको असरबाट बालबालिकालाई बचाउन आमाबाबु दुवै जिम्मेवार हुनुपर्छ । बच्चाको शारीरिक तथा मानसिक सम्बन्ध र दैनिक जीवनशैलीलाई प्रभावित नपर्ने गरी आमाबाबुले नै आफ्ना समस्या सुल्झाउनेतर्फ ध्यान दिनुपर्छ । विवाहबाट जसरी पुरुष र महिलाबिचको सम्बन्ध श्रीमान् श्रीमतीको रुपमा जोडिन्छ त्यसैगरी सम्बन्ध विच्छेदबाट सोही नाता तोडिन्छ । श्रीमान् श्रीमती अस्तित्व् कानुनी रुपमा समाप्त गरी दुवै पक्षलाई स्वतन्त्रता प्रात्तीको लागि चालिने कानुनी हक नै सम्बन्ध विच्छेद हो । नेपालमा सम्बन्ध विच्छेद सम्बन्धी कानुनी व्यवस्था मुलुकी देवानी संहिता २०७४ को परिच्टछेद ३ बमोजिम व्यवस्था गरेको छ ।
मुलकी देवानी संहिता २०७४ दफा ९३ बमोजिम पतिपत्नी दुवैले चाहेमा जुनसुकै बेला सम्बन्ध विच्छेद गर्न सकिन्छ । आपसी सहमतिमा अंश अथवा एकमुष्ठ रकम लिएर सम्बन्ध विच्छेद गर्न सकिन्छ । आपसी सहमतिमा सम्बन्धमा सम्बन्ध विच्छेद गर्दा नाबालकको हितलाई सर्वोपरि ठानिन्छ । आपसी सहमतिमा सम्बन्ध विच्छेद गर्दा अदालती प्रक्रिया दुई दिनमा समाप्त हुन्छ । यसरी सम्बन्ध विच्छेद गर्दा समय कम लाग्ने, खर्च कम लाग्ने मानसिक तनाव पनि कम हुने हुन्छ ।
अदालतको आदेशमार्फत् सम्बन्ध विच्छेद गर्ने अर्को प्रक्रिया हो । यसका लागि अदालतमा मुद्दा दायर गर्नुपर्दछ । मुद्दा दायर भएपछि प्रमाण बुझेर सकेसम्म् दुवैलाई मिलापात्र गर्नका लागि अदालतले पहल गर्दछ । बाबुआमाबिच बिग्रेको सम्बन्धको प्रत्यक्ष असर बालबालिकामा पर्ने देखिएको छ । बाबुआमाको साथ टुटेपछि जीवन गुजारा गर्न उनीहरु श्रम गर्न बाध्य हुने गरेका छन् भने अर्कातिर बालापनमा बाबुआमाको मायाको अभावमा उनीहरु गलत संगतमा लाग्ने गरेका छन् ।
आश गरेर समाजमा हुने वेथितिले बालश्रमलाई प्रश्चय दिँदा त्यसको शिकार बालबालिका हुने गरेका छन् । सामाजिक सञ्जाल लगायतका प्रविधिको दरार सिर्जना भएको देखिन्छ । बाबुआमा एकआपसबाट अलग भएपछि बाबुले कान्छी आमा ल्याउने, आमा अरुसँग विवाह गरेर जानुले पनि कतिपय बालबालिकाका साहाराविहीन बन्न पुगेका छन् । अभिभावकले गर्ने गलत व्यवहार र क्रियाकलापले कलिलो मस्तिष्कमा नकारात्मक धारणाको समेत विकास हुने मनोविश्लेषकको भनाई छ । पछिल्लो समय विकृतिका रुपमा बढ्दै गएको सम्बन्ध विच्छेदले बालबालिकाको वृद्धि विकासमा हानी पु¥याएको छ ।
देशैभरीका अदालतहरुमा मुद्दा दर्ताको अभिलेखबाट नेपाल सम्बन्ध विच्छेदको अवस्था दिनप्रतिदिन बढिरहेको छ भन्ने तथ्य देखाउँछ । युवा पुस्ता प्रौढ पुस्ताभन्दा तुलनात्मक रुपले बढी खुल्ला छ । अध्ययन र प्रविधिको सहज उपलब्धताले निर्णय क्षमतामा पनि दखल राख्छ । चलायमान आर्थिक गतिविधिले अरुमा कम आश्रित र आफू बढी स्वाधिन र स्वाभिमानी छ । आफ्ना निजी गतिविधिमा अरुको हस्तक्षेप रुचाउँदैनन् । स्वतन्त्र जीवनयापनका सवालमा वैवाहिक सम्बन्धका पारस्पारिक मान्यता, परिवारभित्रको अनुशासन र जिम्मेवारीका कुराहरुले विवाहिताहरुको मनोविज्ञानमा असहजिलो महसुस गराउन सक्छ ।
विवाहित सम्बन्ध, बढ्दो महत्वांकाक्षा, अभावको सामना र परम्पराको अविश्वासले त्यो असहज अवस्थालाई झन झयागिंने अवस्थामा पु¥याउने गर्छ । फलतः पारिवारिक कलह र हिंसाको तह हुँदै वैवाहिक सम्बन्ध विच्छेदका लागि अदालतसम्म आइपुग्ने अवस्था हुन्छ । स–सानो घरेलु विवादको अवस्थामा पनि प्रतिष्ठा र दम्भको विषय बनाइ सम्बन्ध विच्छेदका लागि अदालतसम्म आउने अवस्था छ । यसलाई उचित परामर्शदाताको सल्लाह सुझावबाट सुल्झाउन सकिन्थ्यो ।
मिलेर बस्न सकिँदैन भने छुट्टिएर बस्नु स्वभाविक हो । यही मनसाय र उद्देश्यले नै कानुनमा सम्बन्ध विच्छेदको व्यवस्था गरिएको हो तर सँगै मिलेर बस्न सकिने सम्भावनको खोजी नै नगरी हतारमा छुटिन खोज्ने निर्णय अपरिपक्क हो । समस्यालाई समयमै सम्बोधन गरिएन भने ठुलो रुप लिन सक्छ । बेमेल र हिंसाबाट अर्को ठुलो अपराध जन्मिन सक्छ । त्यसैले समस्याको सहज र समयमै विकास दिनु पनि स्वस्थ र सकारात्मक अभ्यास मानिन्छ ।
सम्बन्ध विच्छेद पछि केटीले केटाको अंश पाइने कानुनी प्रावधानले पनि सम्बन्ध विच्छेदको अवस्थालाई केही मात्रामा सजिलो विकल्प प्रवृतिमा बढोत्तरी ल्याएको पाइन्छ । विवाह पछि जीवनयापन गर्ने क्रममा दम्पत्तिले आर्जन गरेको सम्पत्तिमा महिलाले सम्बन्ध विच्छेद गर्ने परिस्थितिमा आधा हक लाग्नु स्वभाविक हो । किनभने सम्पत्ति आर्जनमा महिलाको पनि योगदान रहेको हुन्छ तर विवाह गरेको छोटो समयमै केटाको पुख्यौली सम्पत्तिमा हक लाग्ने कानुनी प्रावधान रहेको हो पनि सम्बन्ध विच्छेदका घटनामा बढोत्तरी भइरहेका छन् । विवाह हुनासाथ केही समय त्यो घरपरिवारसँग नबसिकन पुख्यौली सम्पत्तिमा हक हुने परिपाटीका कारण कतिपयले त सम्पत्ति कै लागि विवाहलाई हल्का रुपमा लिने गरेको देखिएको ।
पुख्यौली सम्पत्तिमा हक स्थापित हुनका लागि व्यक्तिले सम्बन्धित परिवारभित्र जन्मनु पर्दछ भने जोडिएको नाताले व्यक्तिको सम्पत्ति हकका लागि सम्पत्ति आर्जनमा उसउले गरेको योगदान अर्थपूर्ण हुन्छ । सम्पत्ति आर्जनमा कुनै योगदान नभई केवल जोडिएको नाता सम्बन्धले मात्र व्यक्तिको पुस्तेनी सम्पत्तिमा समान अंशको हक स्थापित भएको अवस्थाले पनि पछिल्लो पुस्ताले सम्बन्ध विच्छेदलायृ सहज विकल्पको रुपमा लिने गरेको छ ।
युवा पुस्ताको मनोभाव नबुझनु, संस्कारका नाममा पारिवारिक बन्धनमा राख्न खोज्नुले पनि विवाहलाई बोझको रुपमा लिने गरेको पाइन्छ । अहिले स्वतन्त्रताका खातिर पति र बालबच्चा चटक्कै छाडेर आफ्नो जीवन आफ्नै तरिकाले जिउन चाहन्छन् । पारिवारिक जीवनमा रमाउन सिक्नु पर्दछ । व्यक्तिगत इच्छा, चाहनालाईभन्दा परिवारको स्वार्थ हेर्नेहरुले सम्बन्ध बचाएर राख्न सक्छन् ।
