तुलसीपुर खानेपानीको निर्वाचन : जित पक्षमा पार्न रस्साकस्सी
गोरक्ष समाचारदाता
तुलसीपुर, १ चैत । तुलसीपुर खानेपानीको निर्वाचनले आउन अरू एक दिन बाँकी छ । यही चैत २ गते हुने निर्वाचनमा तुलसीपुर खानेपानी तथा सरसफाइ संस्थाको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दिएका उम्मेदवारले घरदैलो कार्यक्रमदेखि आफ्नो प्रचारप्रसारलाई तरुव्रता दिएका छन् । तरुन जनाले अध्यक्ष पदका लागि उम्मेदवारी दिएसँगै प्यान बनाएर चुनावी माहोल बनाउन होमिएका छन् ।
तीन ठुला राजनीतिक दलले अध्यक्षलगायत प्यानल खडा गरेर उम्मेदवारी मनोनयन दर्ता गराएसँगै आफ्नो पक्षमा कसरी नेतृत्व हात पार्ने भन्ने रससाककस्सीमा दलका नेता, कार्यकर्ता र शुभेच्छुकदेखि पूर्वपदाधिकारी लागेका छन् । खानेपानी संस्थाको निर्वाचन भए पनि चुनावी माहोल भने सङ्घीय तथा स्थानीय चुनावको झल्को दिने गरी प्रचारप्रसारलाई अगाडि बढाएका छन् । व्यक्तिगत तथा समूहगत रूपमा उम्मेदवार तथा दलका केन्द्रीय, जिल्लादेखि स्थानीय नेताहरू आफ्नो प्यानललाई जिताउन लागेका छन् । स्थानीय तहका नेतृवसमेत प्रचारप्रसारमा होमिएको छ । विभिन्न स्थानमा बैठकदेखि छलफल भइरहेका छन् ।
गाउँ, सहरमा माइकिङदेखि प्रर्चा–पम्पलेट बनाएर प्रचारप्रसार तीव्र पारेका छन् । निर्वाचनमा नेपाली कांग्रेस एकल रूपमा चुनावमा होमिएको छ भने नेकपा एमाले र राप्रपाको संयुक्त प्यानल र नेकपा माओवादी केन्द्रको तर्फबाट प्यानलसहित सानादललाई समेत साथमा लिएर चुनावमी मैदानमा उत्रिएको अवस्था छ । नेपाली कांग्रेसबाट अध्यक्षमा वर्तमान अध्यक्ष यमकान्त भण्डारीसहितको प्यानलले उम्मेदवारी दिएर प्रचारप्रसार गरिरहेको छ । अहिले कांग्रेस एकढिक्का भएर आफ्ना उम्मेदवार जिताउन लागेको अवस्था छ भने अन्य दलले पनि संयुक्त प्यानल बनाई चुनावी मैदानमा उत्रिएका छन् ।
कांग्रेसले भण्डारीको नेतृत्वमा उपाध्यक्षमा नारायणप्रसाद शर्मा, सचिवमा रञ्जनकुमार गौतम र कोषाध्यक्षमा वर्तमान कोषाध्यक्ष भोला थापाले उम्मेदवार बनाएको छ भने महिला सदस्यमा कांग्रेसको तर्फबाट लुमा बुढा मगर, सूष्मा अधिकारी, शारदी सार्की र खुल्ला सदस्यमा प्रमोदकुमार योगी (शरद) र बुद्धिराम चौधरीलाई उम्मेदवार बनाएर चुनावमी माहोलमा होमिएको छ । भण्डारीले यस अघि पनि काम गरिसकेको र आगामी कार्यकालमा पनि आफूहरूले सुरु गरेका योजनाहरू पूरा गर्नुका साथै तुलसीपुर खानेपानीको विकासका लागि थप काम गर्ने अपेक्षासहित चुनावमी माहोलमा होमिएको छ ।
अघिल्लो कार्यकालमा तुलसीपुर खानेपानी उपभोक्ता तथा सररफाइ संस्थाको अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष भण्डारीले ‘पानी सबैका लागि’ भन्ने अभियान अनुसार काम गरेको र ‘सबैका लागि शुद्ध पिउने पानी’ भन्ने अभियानलाई सार्थक तुल्याउन उनले पानी वितरण प्रणालीमा समान व्यवहार अख्तियार, शुद्ध पिउने पानी ठुला वा साना अर्थात् धनी वा गरिबका भनेर नभई समान रूपमा वितरण हुनुपर्छ भन्ने मान्यता व्यावहारिक रूपमा स्थापित गरेर देखाएको बताए ।
‘म आएपछि नै सुकुम्बासी वा ऐलानी जग्गामा बसोवास गर्ने गरिब र दिनदुःखी पनि मानिस हुन् र उनीहरूले पनि समान रूपमा शुद्ध पानी पिउन पाउनुपर्छ भन्ने मान्यताका साथ काम गरेको हुँदा हरेक झुपडीमा पानीको धारा वितरण गरिएको हो’, अध्यक्षका उम्मेदवार भण्डारीले भने ।यसैगरी एमाले र राप्रपा मिलेर संयुक्त लोतान्त्रिक प्यानलबाट नेकपा एमालेबाट अध्यक्षमा पूर्वसचिव मनोज लामिछाने र उपाध्यक्षमा राप्रपाको तर्फबाट लक्ष्मण केसीले उम्मेदवारी दिएका छन् । केसी वर्तमान सदस्यमा रहेर काम गरेका छन् ।
सचिवमा नेकपा एमालेका भुवन भुसाल, कोषाध्यक्षमा सुशीला न्यौपाने, महिला सदस्यमा एमालेका छमा भण्डारी, प्रमिला तिवारी र सुशीला वली, पुरुष खुला सदस्यमा पदमबहादुर खड्का र सुकन्ठ न्यौपाने (सुशील) ले उम्मेदवारी दिएसँगै चुनावी माहोलमा होमिएका छन् । सो प्यानलले पनि खानेपानीको मुहान सुरक्षितदेखि वितरण प्राणालीमा पारदर्शिता, घर–घरमा शुद्ध पानी पु¥याउने भन्दै चुनावी प्रचारप्रसारमा लागेका छन् भने आफूहरूलाई उपभोक्ताले जिताउने दाबी गर्दै आएका छन् ।
यसैगरी तुलसीपुर खानेपानीको आगामी नेतृत्वको लागि नेकपा माओवादी केन्द्रको तर्फबाट सिताराम शर्मा आचार्यसहित साझा प्यानल चुनावी प्रचारप्रसारमा छन् । उनीले पनि विभिन्न समयमा खानेपानीको विभिन्न पदमा रहेर काम गरेको भन्दै मतदाताले आफूलाई न्याय गर्ने भन्दै आफ्नो प्यानलाई जिताउने दाबी गरिरहेका छन् । सो टिमबाट उपाध्यक्षमा दुर्गाप्रसाद भण्डारी, सचिवमा रुपबहादुर वली, कोषाध्यक्षमा कर्णबहादुर वली र महिला सदस्यमा कमला चौधरी, मनिशा शेर्पाइली, डिला परियार, खुल्ला सदस्यमा मनबहादुर वली र प्रेम कवँरले मतदाता समक्ष पुगेर मत मागिरहेका छन् । यसैगरी स्वतन्त्र सदस्यका उम्मेदवार शोभाराम पुन मगरले चुनावी प्रचारप्रसार गरिरहेका छन् ।
