Goraksha

National Daily

मैत्रीपूर्ण फुटबलमा पत्रकार टिम विजयी

घोराही,२९ फागुन। होली पर्वको अवसरमा भायनेट तुलसीपुर शाखाको आयोजनामा नेपाल पत्रकार महासंघ दाङ शाखा र भायनेट तुलसीपुर शाखाबीच बिहीबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ। तुलसीपुरको अरनिको मैदानमा आयोजित खेलमा पत्रकार टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ४-२ को जित हात पार्यो।

खेलको पहिलो हाफमा पत्रकार टोलीले आक्रामक प्रदर्शन गर्‍यो। सुमन केसी र शरद विष्टले क्रमशः एक–एक गोल गर्दै टिमलाई दुई गोलको अग्रता दिलाए। दोस्रो हाफमा पनि पत्रकार टोली उस्तै लयमा रहँदै हिमाल महरा र कपिल शर्माले थप दुई गोल गर्दै टिमलाई मजबुत स्थितिमा पुर्‍याए।

भायनेट टोलीले पनि उत्कृष्ट खेल कौशल देखाउँदै प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्‍यो। टोलीका रेवन्त थापा र नारायण परियारले एक–एक गोल गर्दै खेललाई रोमाञ्चक बनाउने प्रयास गरे। तर, पत्रकार टोलीको मजबुत रणनीति र समन्वयका कारण उनीहरू हार टार्न असफल भए।

खेलपछि दुबै टोलीका खेलाडीहरूबीच आपसी भाइचारा र सौहार्दता झल्किएको दृश्य देखियो। सहभागीहरूले यस्ता मैत्रीपूर्ण प्रतियोगिताले खेलकुदको प्रवर्द्धन गर्नका साथै आपसी सम्बन्ध मजबुत बनाउन मद्दत पुग्ने बताए। आयोजक भायनेट तुलसीपुर शाखाले आगामी दिनमा पनि यस्ता खेलहरू निरन्तर आयोजना गरिने प्रतिबद्धता जनाएको छ।