calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

आँखाको अप्रेसन गराउन प्रतिष्ठानमा बंगलादेशबाट बिरामी

दाङ,२८ फागुन । घोराहीमा रहेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आँखाको उपचारदेखि सानादेखि ठुला अप्रेसन हुन थालेपछि सेवा थप प्रभाबकारी हुँदै गएको छ ।

जिल्लाभित्र र बाहिरबाट आँखाको उपचार गर्न प्रतिष्ठानमा आउनु स्वाभाबिक हो । तर, प्रतिष्ठानको सेवा प्रभाबकारी बन्दै गएपछि बंगलादेशबाट आँखाको अपरेसन गराउन बिरामी आएका छन । ४२ वर्षीय कुञ्जा नाम गरेकी बंगलादेशी महिला विगत २ वर्षदेखि देब्रे आँखा ठूलो र बाहिर निस्किदै आइरहेकोले आफ्नै देशमा आँखाको डाक्टरसंग उपचार गर्न पुग्छिन्। आँखाको गेडीको पछाडि र मस्तिष्क नजिक भएको ठूलो ट्युमर पुरै निकाल्न नसकिने र निकाल्दा आँखाको नशा समेत बिग्रिन सक्ने भन्ने कुरा त्यहाँको डाक्टरले उपचार सेवा परामर्श दिन्छन् ।

नेपालमा यसको सफल शल्यक्रिया हुन्छ भनेर बाँके जिल्लामा बसोबास गर्ने आफ्नी बहिनी र ज्वाइँले नेपाल आउन सल्लाह दिन्छिन् । नेपालगन्जमा आँखा रोग विषेशज्ञ कहाँ उपचारको लागि बोलाउँछन् । नेपालगन्जस्थित आँखा अस्पतालमा कार्यरत आँखा रोग विषेशज्ञले एमआरआई गरी आँखा गेडी पछाडि र मस्तिष्क नजिक ठुलो ट्युमर रहेको र त्यस्को उपचारको लागि घोराहीमा रहेको प्रतिष्ठानमा कार्यरत अकुलोप्लास्टिक सर्जन तथा आँखा क्यान्सर विज्ञ सह–प्राध्यापक डा.सुरेश रसाइलीसंग शल्यक्रियाको लागि रिफर गरिदिन्छन् ।

बिरामीको आवश्यक सम्पूर्ण चेकजाँच गरी शल्यक्रिया गर्नलाई डा. रसाइलीले मंगलबार एनेस्थेसियोलोजीष्टसँंगको सहकार्यमा बेहोस बनाई शल्यक्रिया गर्ने सुझाव दिन्छन् । मस्तिष्क नजिक ठुलो ट्युमर रहेको तर भास्कुलर ट्युमर भएकोले हड्डीलाई नकाटीकन पनि पुरै निकाल्न सकिने सुझाव दिन्छन् । सोही अनुसार पुरै बेहोस बनाई डा. रसाइलीको नेतृत्वमा डा हिमाङ, डा. श्रद्धालगायत एनेस्थेसियोलोजीष्ट डा. राजन शाक्य र स्वास्थ्यकर्मी टीमको सहभागीतामा जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । शल्यक्रिया पश्चात बिरामीको आँखाको ज्योति नर्मल रहेको र कुनै समस्या नभएको जानकारी डा. रसाइलीले दिए ।

विगत पुसमहिनादेखि प्रतिष्ठानमा अक्यूलोप्लास्टिक सर्जरी तथा आँखाको क्यान्सर सम्बन्धी विशिष्टिकृत सेवा सञ्चान हुँदै आइरहेकोले अनुहार तथा आँखाको कस्मेटिक सर्जरीका साथै आँखाको क्यान्सर सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रियाको सेवा प्रभावकारी भइरहेको उनले बताए ।

थाइराइड हर्मोनको समस्याले आँखामा पार्ने सम्पूर्ण जटिलताको पनि उपचार र शल्यक्रिया प्रतिष्ठानमा भइरहेको छ। बन्द भएको आँशु नलिको छालामा चिरफार नगरी नाकभित्रबाट दूरबिनको माध्यमबाट पनि सफल शल्यक्रिया भइरहेको जानकारी डा. रसाइलीले दिए । साथै मोति बिन्दुको अत्याधुनिक प्रविधि फेकोइँमुल्सिफिकेशन सर्जरीबाट स्वदेशी तथा विदेशी प्रीमियम लेन्सइम्प्लान्ट, सुईबिना, दुःखाइरहित, बिना चिरफार सफल शल्यक्रिया भएको बताए ।