युवराज शर्मा
खेतीपाती गरेर ज्यान पाल्ने किसानहरु विलखबन्दमा छन् । उनीहरुलाई सरकारी राहत छैन, बजारमा तरकारी बिक्दैन । अन्नबाली उब्जाउन मल–वीऊ छैन । गत वर्ष गरिमा धानको वीऊले गर्दा धान भएन । वर्षाको वेमौसमी मारमा परेर मकै र तोरी भएन । अधिक वर्षाका कारणले गर्दा मसुरो, चना र केराउको सत्यानाश भयो । गहूँको उत्पादन घटेको छ । जौँको उब्जनी पनि सार्थक भएन । किसानहरुले जीवनमा निराशा, चिन्ता र दुःख मात्र भोग्नुप¥यो ।
उनीहरुलाई सम्झने, बुझ्ने र समस्यामा सघाउने व्यक्तिहरु स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको कुनै पनि व्यक्ति देखापरेनन् । निर्वाचनका समयमा भोट माग्ने मात्र भएका थिए । जनप्रतिनिधि भएर कुर्सीमा बसेपछि मतदातालाई बिर्सेको अवस्था देखियो । सबैले स्वार्थी भावना देखाए । खेतीपाती गर्ने किसानले गणतन्त्रको अनुभूति गर्न पाएनन् । नेताहरुका बीचमा अन्तरकलह, द्वन्द्व र प्रतिशोध मात्र बाहिरियो । किसानले गर्ने काम र पाउने मल–वीऊ, पैसा तिर्दा पनि पाउन सकेका छैनन् । उनीहरुका लागि सरकारको उपस्थिति देख्न दिवास्वप्न भएको छ । पहुँच पुग्दैन, राहत देखिन्न । किसानलाई आहात मात्र छ ।
यस वर्षको कोरोना भाइरसले गर्दा सरकारबाट चाँडै लकडाउन गरियो । आवागमन बन्द भयो । हिउँदे बालीनाली स्याहार्न पनि समस्या भोग्नुप¥यो । वर्षेबाली लगाउने बेला भयो । मल–वीऊ छैन । किन्न पनि बजार बन्द छ । अन्न उब्जनी भएन भने कसरी जहान बच्चा पाल्ने हो ? चिन्तामा किसानहरु छन् । गाउँघरमा प्रहरीहरु गस्ती गर्छन् । उनीहरुलाई नागरिकले देखेर तर्सिन्छन् । हुन त गाउँलेहरु प्रहरी र वनपालेदेखि धेरै मात्रामा भयभित हुन्छन् । यसमा पनि महामारीको अवस्थामा कोरोना भाइरस बढिरहेको छ । देश विदेशमा त्यो रोगबाट संक्रमित हुनेहरु धेरै संख्यामा छन् । मृत्यु हुनेहरुको संख्या पनि डरलाग्दो छ । यो रोग सरुवा रोग हो भने परजीवी पनि हो । यो मान्छेको शरीरमा मान्छेको संसर्ग, खानपिन, रहनसहन, सरसफाई नभएर हात मिलाउँदा सर्छ । तर पशुपंक्षीमा सर्दैन । उनीहरु रोग सार्ने सम्वाहक बन्न सक्दैनन् । यो रोग मान्छेको शरीरमा बसेपछि मात्र क्रियाशील हुन्छ । यसको लक्षण रुघा लागेर १००.४ डिग्री सेन्टिग्रेट तापमान भएपछि ज्वरो बढ्दै गएमा रोगले चाँप्दै गएको देखिन्छ । शरीरमा आलश्यता हुनु र खानाको स्वाद थाहा नपाउनुजस्ता लक्षणहरु हुन्छन् । यस्ता ज्ञान गराउने निकायहरु गाउँ–गाउँमा पुग्दैनन् । उनीहरु गाउँ पुगेको वा नपुगेको जान्ने बुझ्ने कोही हुन्न । अहिलेसम्म किसानहरुलाई यो रोगका सम्बन्धमा ज्ञान गराएको पाइन्न । कोरोना भाइरसका सम्बन्धमा खेतीपाती गर्नेवर्ग अनभिज्ञ छन् । चेतनाको अभाव छ ।
नेपालमा सहकारी स.स्था, प्रधानमन्त्री कृषि कार्यक्रम, कृषि समूह कार्यक्रमजस्ता दर्जनौँ संस्थाहरु खुलेका छन् । ती संस्थाहरुका लागि सरकारले अर्बौँ रकम बाँडेको छ । तर गाउँले खेतीपाती गरेर जीउ पाल्ने किसानहरुलाई पैसा तिर्दा पनि मल–वीऊ पाउँदैनन् । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका कृषिमन्त्रालय र निकायहरु छन् । तर उनीहरुले किसानलाई देख्न पाएनन् । अर्बौँ रकम थाप्ने सहकारीहरुलाई मात्र देख्न सकेका छन् । यस्तो वातावरणमा नेपाललाई कृषिप्रधान देश कसरी भन्छन् ? किसानहरुले बुझ्न सकेका छैनन् । उनीहरुले यो नेताबाट हाम्रो कृषिमा निकाश गलर्दा भन्ने सोच्छन् र भोट दिन्छन् । त्यसलाई जिताउँछन् पनि ।
तर घरआँगनमा भोट माग्न आएका नेताले कृषिमन्त्री पद पाएपछि जनता भुल्छन् । किसानलाई बिर्सन्छन् । खेतीपातीको ज्ञान हराएको मनस्थिति देखाउँछन् । उनले यस्तो देखाउने अवस्था आउनुको कारण नेपालमा उत्पादन भएको चामल खाँदैनन् । विदेशी चामल र तरकारीमा रमाएका मन्त्री र नेताहरुलाई नेपालको कृषि क्षेत्रको ज्ञान गर्नसकेको वातावरण छैन । यसतो अवस्थामा किसानको जीवनस्तर कसरी माथि उठ्ला ? सोचनीय अवस्था छ । नेपाललाई खाद्यमा आत्मनिर्भर बनाउन कृषि विकास आवश्यक छ । सोचाई राज्यले लिने हो । राज्य सञ्चालन गर्ने अधिकार राजनीतिज्ञहरुको हो ।
त्यसैले होला कार्यकारिणी अधिकार सम्पन्न प्रधानमन्त्रीलाई बनाएको हो । सरकार चलाउनेले प्रणाली, नीतिनियम, व्यवस्थापन, त्रिकोणात्मक रुपमा समान कार्यशैली अपनाउनु पर्छ । प्रणाली दिने मन्त्रिपरिषद् हो भने नीतिनियमहरुको पालना गराउने न्यायपालिकाको कार्यक्षेत्र हो । व्यवस्थापनको कार्यशैली मन्त्रालयका मन्त्री र सचिवको हुन्छ । देशमा डेमोक्रेसी शासन व्यवस्थामा जनतालाई कर्मचारीको काम, कार्य र अधिकार सुनिश्चित हुनुपर्छ । डेमो भनेको जनता र क्रेसी भनेको कर्मचारीलाई बुझाउँछ । यसमा वाद पनि समाजवाद हो । तर वर्तमान कार्यशैली गणतन्त्रात्मक बन्न सकेन र किसानको जीवनस्तर उठाउने योजनाहरु आएनन् । मै खाउँ मै लाउँ, मै मोज सयल म नै गरु भन्ने वातावरण बन्दै गएकोले कृषि क्षेत्र र किसानको जीवन स्तर उठ्न नसकेको वातावरण बनिरहेको अवस्था छ । यस्तो अवस्थामा किसानले के गर्ने ? प्रश्न उठिरहेको वातावरण गाउँघरमा छ । यसतर्फ जिम्मेवार व्यक्तिहरुको गहिरो अध्ययन भएको पाइन्न । किसानको समस्या बुझ्ने व्यक्ति पनि पाइन्न ।
खेतीपाती गरेर जीवन धान्ने किसानहरुको जीवन स्तर माथि उठाउनुपर्ने समय आएको छ । विश्वमा फैलिरहेको कोरोना भाइरसले नेपाल पनि छुटेन । विश्वका एक सय २० राष्ट्रहरुमा फैलिएको यो सरुवा रोगले गर्दा किसानहरु मल–वीऊको अभाव पूरा गर्न पछि परेका छन् । त्यसमा पनि लकडाउनले गर्दा आवागमन बन्द छ । मल–वीऊ गाउँमा पुगन सकेको छैन । स्थानीय सरकारको उदासीनता हो वा बन्दका कारण सहज वातावरणमा नबनेको हो ? जान्न सकिएन । रवि–बाली भिœयाएर मकै छर्ने, धानको वीऊ राख्ने समय भएको छ । तर मलवीऊ किसानले पाउने वातावरण स्थानीय सरकारले वडा–वडा, गाउँ–गाउँमा माग अनुसार किसानलाई उपलब्ध गराउने कार्य गर्नुपर्छ । अन्यथा खाद्य उत्पादनमा समस्या बढ्दै छ ।
यसमा सम्बन्धित निकायहरुको ध्यान पुग्नु पर्छ । जनउत्तरदायी सरकारको अनुभूति किसानहरुलाई गराउनु पर्छ । अन्नबालीहरुको उत्पादन गराउने काममा किसानहरुलाई लकडाउन हटाउनु भन्दा सामाजिक दूरी कायम गर्ने सल्लाह दिनुपर्छ । लकडाउन सहर बजारका लागि हो । जहाँ मानिसको आवागमन धेरै हुन्छ । सामाजिक दूरी कायम गर्दैनन् । तर खेतीपती गर्नेवर्गसँग कोरोना भाइरस क्रियाशील बन्न सक्दैन । खेतीपाती कार्यमा अवरोध खडा गर्नु हुन्न । अन्न उब्जने भने खाद्य संकट पर्छ, जमिन बाँझो रहन्छ । गरिब मजदुरहरु खान नपाएर मर्छन् तर यो कोरोना भाइरस (कोभिड–१९)बाट मर्ने छैनन् ।