बालबालिकाको हुर्काइमा बुवाको सहभागिता प्रवर्द्धन गर्न सामग्री हस्तान्तरण
बर्दिया, २५ फागुन । बर्दियाको ठाकुरबाबामा प्लान ईन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा तथा स्थानीय निकायहसँगको समन्वयमा सञ्चालित ‘सशक्त बालिका परियोजना’ अन्तर्गत प्रारम्भिक बालविकास तथा बालबालिकाको सर्वाङ्गीन विकासमा बुबाको संलग्नता सुनिश्चित गर्न शिवपुर स्वास्थ्य चौकीलाई दुर परामर्श सामग्री हस्तान्तरण गरिएको छ।
ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा एक लाख ५१ हजार नौ सय ८४ रुपैयाँ बराबरको परामर्श सामग्री हस्तान्तरण गरिएको हो। उक्त हस्तान्तरण कार्यक्रम ठाकुरबाबा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जयप्रसाद पौड्यालको अध्यक्षता तथा राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ प्रमुख आतिथ्यतामा भएको थियो।
कार्यक्रममा बोल्दै राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष श्रेष्ठले कामको सिलसिलामा घरबाहिर रहने बुवाहरूले प्रविधिको प्रयोगमार्फत आफ्ना बालबच्चा तथा परिवारको स्वास्थ्य स्थितिबारे जानकारी प्राप्त गरी उनीहरूको पालनपोषणमा थप जिम्मेवारी बोध गर्न सकुन् भन्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको बताए ।
कार्यक्रममा ठाकुरबाबा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष जयप्रसाद पौड्यालले प्रविधि र सेवाहरूलाई जोडेर परिवारका सदस्यहरूबीच सहज सूचना आदानप्रदान हुन सक्ने वातावरण निर्माण गर्नु आजको आवश्यकता रहेको बताए । उनले यो पहलले बालबालिकाको विकासमा टेवा पुर्याउने र परिवारभित्र सहयोगी भावना प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका थिए ।
सामग्री हस्तान्तरण कार्यक्रमले बुवाहरूको अभिभावकीय भूमिका अझ सशक्त बनाउँदै बालबालिकाको समग्र विकासमा प्रविधि र परामर्शको प्रभावकारी प्रयोगलाई जोड दिने अपेक्षा गरिएको छ।
