Goraksha

National Daily

पार्टीलाई जोगाउन बलियो र एकताबद्ध संगठन आवश्यक : सहमहामन्त्री आङ्गदेम्बे

अमरराज आचार्य
दाङ, २५ फागुन । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्गदेम्बेले पार्टीको गरिमा जोगाउँदै आगामी निर्वाचनमा प्रमुख पार्टीका रूपमा विजयी गराउनका लागि सबै एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ (१) दाङले शनिवार घोराहीमा आयोजना गरेको तेस्रो सम्मेलको उद्घाटन गर्दै सहमहामन्त्री आङ्गदेम्बेले गुट, उपगुट, पद प्रतिष्ठा बिर्सिएर सबै पार्टीलाई संगठित र एकताबद्ध बनाउनका लागि एक भएर अघि बढ्न आवश्यक रहेको बताएका हुन् । पार्टीलाई एकताबद्ध बनाउँदै जनताले विश्वास गर्ने पार्टी बनाउन तल्लोदेखि माथिल्लो तहसम्मका नेता तथा कार्यकर्ताहरू लाग्नुपर्ने भन्दै एकले अर्कालाई दोष दिएर पार्टी कहिलै नबन्ने बताए । कांग्रेसलाई बलियो बनाउनका लागि सशक्त र एकताबद्ध संगठन हुन आवश्यक रहेको बताएका थिए ।

‘हाम्रो कारणले पार्टी कमजोर भएको हो, अरूलाई दोष दिएर कोही पनि उम्कनु हुँदैन’, कार्यक्रमका प्रमुख अतिथि आङ्गदेम्बेले भने, ‘दाङमा विगतको जस्तै बलियो कांग्रेस बनाउन सवै मिल्नुपर्छ, व्यक्तिगत तिक्तता बिर्सनुपर्छ ।’ पार्टीभित्र मतभेत भएर सबै एकै स्थानमा बसेर छलफलका माध्यमबाट समाधान गरेर अघि बढनुपर्ने भन्दै काम गर्दाका क्रममा भएका कमीकमजोरीलाई इगोका रूपमा कसैले ल्याउन नहुने बताए । पार्टीको विधान समयानुकूल बनाउन आवश्यक रहेको भन्दै त्यसका लागि संशोधन गर्नुपर्ने सहमहामन्त्री आङ्गदेम्बेलेको भनाइ थियो ।

‘पार्टीलाई चलाउने भनेको विधानले हो, विधान संशोधन गरेर समयानुकूल बनाउनु पर्छ’, उनले भने, ‘पार्टीको विधान संशोधन गरेर विचारलाई युवा बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’ पार्टीको विधान संशोधनका लागि विधान अधिवेशन गर्न आवश्यक रहेको भन्दै सबै क्षेत्रबाट आएका सुझाव अनुसार पार्टीको विधान संशोधन हुने उनले बताए । नेपाली कांग्रेस सरकारमा रहेकाले नागरिकलाई सरकारको औचित्य पुष्टि गर्न लाग्नुपर्ने बताए । ‘नागरिकलाई औचित्य पुष्टि गर्न नसक्दा पार्टीप्रतिको चासो र दृष्टिकोण फरक भएको हो’, उनले भने ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले पार्टीभित्र रहेका कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । कमजोरी सच्याउँदै अगाडि बढे पार्टी बलियो बनाउन सकिने उनको भनाई थियो । पार्टीको क्रियाशील सदस्यता वितरण गर्दा मतको आधारमा वितरण गर्नुपर्ने बताए । मतको आधारमा क्रियाशील सदस्यता वितरण गरिए पार्टीलाई मत बढाउन सहयोग पुग्ने बताउँदै उनले त्यसका लागि पार्टीले गरेको विकास निर्माणका तथा सामाजिक कामको बारेमा जनतालाइ बुझाउन जरुरी बताए ।

‘गरेका कामका बारेमा जनतालाई बुझाउन सकेका छैनौँ’, उनले भने, ‘पार्टीले गरेका राम्रा कामको बारेमा जनतालाई बुझाइयो भने, पार्टी आकर्षण हुन्छ ।’ नेपाली कांग्रेस अरूभन्दा फरक पार्टी भएको भन्दै उनले नेपाली कांग्रेस सधैँ जनालाई बलियो बनाउने काम गरेको बताए । हरेक ठाउँमा निराशाका कुरा आउने भन्दै भएका राम्रा कामका बारेमा सबैलाई बुझाउन लाग्नुपर्ने उनले बताए ।

‘निराशा मात्र होइन आशावादी हुनु आवश्यक छ, यसतर्फ सबै लाग्नुस्’, उनले भने । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति राजु खनालले पार्टीलाई चुस्त दुरुस्त बनाउनतर्फ सबै लाग्नुपर्ने बताए । त्यसका लागि पार्टीले विशेष कार्यक्रम बनाउनुपर्ने र नेता तथा कार्यकर्ताहरू सवै मिलेर लाग्नुपर्ने उनको भनाइ छ । नागरिक केन्द्रित कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउँदै उनले पार्टी र नागरिकलाई जोड्ने काम नागरिक केन्द्रित कार्यक्रमले गर्ने बताए । कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेले पार्टीलाई क्रियाशिलसँगै संगठित बनाउनका लागि केन्द्रदेखि तल्लो तहमा रहेका नेता तथा कार्यकर्ताले पार्टीको विधानलाई इमान्दार रुपमा लागनु गर्न सके समस्या नआउने बताएका थिए ।

नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले पार्टीले गर्ने हरेक कार्यक्रम समाजसँग जोडिएको हुनुपर्ने बताए । पार्टीको कुनै पनि कार्यक्रम क्यालेन्डर निर्माण गरेर सञ्चालन गर्दा सहज हुने उनले बताए । कार्यक्रममा बोल्ने अन्य वक्ताले पार्टी विधि र विधान अनुसार अगाडि बढ्नुपर्ने बताएका थिए । केन्द्रले विधानविपरीत गरिएका क्रियाकलापले सिङ्गो पार्टी समस्यामा परेको उनीहरूको भनाइ थियो । जनताको हरेक सुखदुःखको सारथी कांग्रेस भएकाले यसतर्फ ध्यान दिनुपर्ने उनीहरूको भनाइ थियो । पार्टीलाई बलियो बनाउन एकताबद्ध हुन उनीहरूले आग्रह गरेका थिए । राज्यले नागरिकलाइ दुःख दिन नभएर सुविधा दिनतर्फ ध्यान केन्द्रित गर्नुपर्ने भए पनि त्यस अनुसार काम गर्न नसकेको उनीहरूको आरोप छ ।

कार्यक्रममा नेपाली कांग्रेसका रोल्पा जिल्ला सभापति किशोर आचार्य, नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति विरकेशरी गौतम, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति मोहनलाल वली, कांग्रेस लुम्बिनी प्रदेश सदस्यहरू पुष्पा श्रेष्ठ, जानका केसी, महासमिति सदस्यहरू भुपबहादुर डाँगी, कमलकिशोर घिमिरे, बिमला योगी, गोमा रावत, किरणकिशोर घिमिरे, प्रदेश सभा सदस्य लोका विक, दाङ क्षेत्र नं २ का सभापति भीमप्रकाश खड्का, महाधिवेशन प्रतिनिधि गोपालराज शर्मा, दाङ क्षेत्र नं २ (२) का सभापति अभियान बस्नेत, किसान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष रीता केसी, नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावत, नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका सभापति जागेश्वर अधिकारी, बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी, नेपाल महिला संघ क्षेत्र नं २ का सभापति सुशीला पौडेल, घोराही उपमहानगरपालिका वडा नं १८ का इकाइ सभापति केशरबहादुर रावतलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाली कांग्रेस क्षेत्र नं २ (१) का सभापति प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वार्षिक प्रतिवेदन सचिव माया पोख्रेल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष नारायण भण्डारीले प्रस्तुत गरेका थिए । उपसभापति लक्ष्मण बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव शिशिर अधिकारीले गरेका थिए ।