बबईमा अन्तरपालिका घुम्ती बैठक, विद्युत र वनका कारण विकासमा समस्या
लीलाधर वली
दाङ, २४ फागुन । विकास निर्माणका क्रममा वन र विद्युत बाधक बन्ने गरेको जनप्रतिनिधिले गुनासो गरेका छन् । जिल्ला समन्वय समिति दाङको आयोजना तथा बबई गाउँपालिकाको व्यवस्थापनमा शुक्रवार बबई गाउँपालिकाको पर्यटकीय स्थल पुरन्धरा छहरामा भएको अन्तर स्थानीय तह स्तरीय घुम्ती बैठकमा सहभागी जनप्रतिनिधिले विकासका लागि काम गर्न खोजे पनि अप्ठेरो वन ऐन र विद्युत पोल समयमा नसारिँदा समस्या हुने गरेको बताएका थिए ।
पालिकामा अधिकांश वन क्षेत्र, ऐलानी जग्गा भएको र उक्त क्षेत्रमा अव्यवस्थित बसोवासी बसे पनि विकास निर्माणका काम गर्दा कानूनी जटिलता देखिने गरेको बताएका थिए । कानूनी जटिलता हटाउन प्रदेश वा सङ्घीय सरकार समक्ष पटक–पटक आग्रह गरे पनि समस्या समाधान हुन नसकेको जनप्रपितनिधिले गुनासो गरेका थिए । जनप्रतिधिले स्थानीय तहमा काम गर्दा भइरहेका समस्या समाधान गर्न र साझा सरोकारका विषयलाई सम्बोधन गर्न एकीकृत रूपमा मिलेर अघि बढ्ने निष्कर्ष निकालेका हुन् ।
बैठकमा बोल्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले कानूनी अड्चनका कारण स्थानीय तहको नेतृत्व सम्हालेको करिब ढाई वर्ष भइसक्दा पनि बाटोमा परेको सुकेको रुख हटाउन नसकेको बताए । आफू जनप्रतिनिधि भएर जिम्मेवारी सम्हालेको ३३ महिना बित्दा पनि धेरै काम विद्यमान नीति, नियम र कानूनका कारण गर्न नसकिएको भन्दै अध्यक्ष विष्टले भने, ‘वन कानूनले धेरै जसो समस्या भइरहेको छ ।
सडकमा सुकेको सिसौको रुख काट्न पनि कानूनले दिएको छैन । यो समस्या सडकको राइट अफ वेमा छ । भन्न थालेको पनि पाँच वर्ष भयो । धेरै पटक यही कुरा उठाउने काम भयो तर कार्यान्वयन भएन ।’ उनले कुन दिन रुख ढलेर क्षति व्यहोर्नुपर्ने हो भन्ने अवस्था रहेको भन्दै वनसँग स्थानीय सरकारलाई व्यावहारिक विषयमा जोडेर हेरिदिन आग्रह गरेका थिए ।
राप्ती गाउँपालिका अध्यक्ष विष्टको जस्तै गुनासो दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको पनि थियो । पालिकामा छरिएर रहेका बस्तीसम्म सडक, विद्युतलगायतका विकास निर्माणका काम गर्नुपर्ने आवश्यकता रहे पनि वनसम्बन्धी कानूनी जटिलताका कारण समस्या भएको बताए । विकास निर्माणका काम अघि बढाउँदा कानूनी रूपमा समस्या हुने तर जनतालाई विकास पु¥याउनै पर्ने बाध्यताका कारण जनप्रतिधिले काम गर्नै नसक्ने अवस्था रहेको बताए ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अन्तरपालिका बैठकमा राजनीतिक दलका प्रतिनिधि, सांसदको उपस्थित बढाउनसके गरिएका निर्णय कार्यान्वयन गर्न सहयोग पुग्ने बताए । बैठकमा आफ्ना कुरा राख्दै अध्यक्ष शर्माले भने, ‘हामी सबै उस्तै उस्तै छौँ । निर्णय कार्यान्वयन गरे पनि हुने, नगरे पनि हुने अवस्था छ । हामीलाई धेरैजसो वनको समस्या छ । कसरी काम गर्ने भन्ने चुनौती छ । बजेट आउँछ तर काम गर्न नसक्ने अवस्था छ । नियमावली, कार्यविधि संशोधन गर्न ध्यान दिनुपर्ने देख्छु ।’ उनले समन्वय समितिको बैठकमा समन्वय मात्रै हुने गरेको भन्दै निर्णय कार्यान्वयनलाई प्रभावकारी बनाउन सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
‘समन्वय समितिको बैठकमा समन्वय मात्रै भयो । कार्यान्वयनमा ध्यान दिनुपर्ने छ । अब हाम्रै पालिकामा पर्ने हुलाकी सडकको काम आधा अधुरो छ । पूर्णता दिन सकिएको छैन’, उनले भने, ‘काम गर्न दबाब दिँदादिँदा हैरान भइसक्यौँ । राप्ती नदी तटबन्ध नहुँदा अर्को समस्या छ । समयमा काम भएन भने अब आउने बर्खामा १५ गाउँमा डुबानमा पर्ने अवस्था छ, यसका लागि काम गर्नुपर्छ ।’ उनले स्थानीय सरकारले आफ्नो क्षेत्राधिकार अनुसार काम गर्न समेत नपाएको बताए ।
जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा भएको अन्तर पालिकास्तरीय बैठकमा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले असल अभ्यासलाई सबैले आत्मसात गरेर अघि बढ्नुपर्ने बताएका थिए । उनले समाज हितका पक्षमा काम गर्दा पनि विभिन्न निकाय र कानूनको अड्चनले काममा बाधा पुग्ने गरेको बताए । ‘बनेका नीति, नियम र कानूनले दुरुपयोग रोक्ने हो ।
सदुपयोग रोक्ने होइन तर यसो हुन सकेको छैन’, नगर प्रमुख खड्काले भने, ‘समाज हितका पक्षमा काम गर्दा डराउनु पर्ने अवस्था छ । यसले स्थानीय सरकारको काममा बाधा पुग्ने गरेको छ ।’ उनले अन्तर पालिका समन्वय बैठक प्रभावकारी बनाउन सबै गम्भीर हुनुपर्ने बताए । विपद्को सन्दर्भमा गरिएको काममा महालेखाले समस्या उत्पन्न गर्ने गरेको बताए । ‘बर्खामा खाल्डा पुर्ने काम ग¥र्या । गिट्टी नदीबाट निकाल्दा कर तिर्नुपर्छ भने किन गर्ने ? समाधान खोज्नुपर्छ । महालेखाले यो काम किन गरेको भन्छ, यसको सहजीकरण हुनुपर्छ’, उनले भने ।
लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले राजस्व व्यवस्थापनमा ध्यान दिनुपर्ने बताइन् । सामुदायिक वनको कर व्यवस्थापन हुन नसक्दा नागरिक मारमा परेको बताइन् । शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले जिल्ला दररेट र बजार दररेट समायोजन अनिवार्य रहेको बताए । बैठकमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले विपदको विषयमा भइरहेका प्रयास र आउनसक्ने चुनौतीबारे जानकारी गराउँदै तयारीका सन्दर्भमा सचेत गराएका थिए । विपद् व्यवस्थापन ऐन २०७४ अनुसार ३–३ महिनामा बैठक बस्ने प्रावधान अनुसार काम भइरहेको भए पनि जोखिमको सम्भावना पहिचान, जोखिम न्यूनीकरण, प्रतिकार्यको योजनालाई प्रभावकारी बनाउन सबैले ध्यान दिनुपर्ने बताएका थिए ।
अन्तर स्थानीय तह स्तरीय घुम्ती बैठकमा जिल्लाका सबै पालिकाभित्र रहेका सडक क्षेत्रमा पर्ने विद्युत पोल सार्न पहल गर्ने, तुलसीपुर पुरन्धारा सुर्खेत सडक स्तरोन्नतिका सम्बन्धमा सरोकार निकायलाई काममा गति दिन पहल गर्ने, बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा जङ्गली जनावरको आतङ्क रोक्ने सम्बन्धमा मातहतका कार्यालयमा ध्यानाकर्षण गराउने, जिल्ला दररेट भन्दा बजार दररेट महँगो हुँदा आयोेजना ठेक्कामा नगएको तथा विकास निर्माणमा असर परिरहेकोप्रति जिल्ला दररेट निर्धारण समितिबाट निकास खोज्ने विषयमा साझा सहमति गरिएको छ ।
जिल्लाका १० वटै पालिकाबाट प्रवाह हुने विज्ञापन जिल्लाकै सञ्चार माध्यमलाई उपलब्ध गराउने सम्बन्धमा नेपाल पत्रकार महासंघ दाङ शाखाले गराएको ध्यानाकर्षणका सम्बन्धमा पालिकाहरूले स्थानीय तहको मेरुदण्ड स्थानीय मिडिया रहेको भन्दै विज्ञापनलाई स्थानीय मिडियामा प्राथमिकता दिने प्रतिबद्धता पनि जनाएका छन् । बैठकमा सुख्खा मौसम सुरु भएको अवस्थामा वनमा लाग्ने डढेलो नियन्त्रणका सम्बन्धमा डिभिजन वन कार्यालयले राखेको प्रस्तावमा छलफल गर्दै विपद् न्यूनीकरणमा जुट्ने निर्णय गरेका छन् ।
बैठकमा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले बबई गाउँपालिकाको परिचयसँगै गाउँपलिकाले गरेका असल अभ्याससँगै चुनौतीबारे जानकारी गराएका थिए । उपाध्यक्ष बमकुमारी खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले घुम्ती बैठकलाई विकास निर्माणका सवालमा सहजीकरणसँगै पर्यटन, खेल र कला, संस्कृतिको विकासका सवालमा साझा एजेन्डा बनाएर अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।
बैठकमा जिल्ला समन्वय समिति दाङकी उपप्रमुख चेतना चौधरी,लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरी, राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकी, उपाध्यक्ष धनपति यादव, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत विजय गौतम, डिभिजन वन कार्यालय घोराहीका प्रमुख मदन ढुङ्गाना, नेपाल रेडक्रस सोसाइटी दाङका विश्राम अधिकारीलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण बिमला खनालले गरेकी थिइन् ।
