Goraksha

National Daily

एसइई दिने विद्यार्थीलाई बिदाइ

गोरक्ष समाचारदाता
दाङ, २३ फागुन । घोराही उपमहानगरपालिका–१६ सर्रा स्थित ज्ञानमाला एकेडेमीले एसइई २०८१ का विद्यार्थीलाई बिदाइ गरेको छ । कक्षा ९ का विद्यार्थीले शुक्रवार एक औपचारिक कार्यक्रम गरी एसइई २०८१ मा सहभागी हुने विद्यार्थीलाई विद्यालयबाट बिदाइ गरेका हुन् ।

कक्षा ९ की छात्रा स्मारिका चौधरीको अध्यक्षता एवम् विद्यालयका प्रिन्सिपल महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीले गीत, नृत्य र कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षा ९ का विद्यार्थीले बिदाइ भएर जाने कक्षा १० का विद्यार्थीलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रम समापनपछि कक्षा ९ की छात्रा अदिति केसीले तयार पारेको कक्षा १० का विद्यार्थीहरूको विगतदेखि वर्तमानसम्मका गतिविधि समेटिएको भिडियो डकुमेन्ट्री प्रस्तुत गरिएको थियो ।

बिदाई कार्यक्रममा बिदाइ भएर जाने विद्यार्थीले विद्यालयबाट असल शिक्षा र मार्गदर्शन प्राप्त गरेको बताएका थिए । उनीहरूले पारिवारिक वातावरणमा शिक्षा प्राप्त गरेको उल्लेख गर्दै पछिल्ला वर्षहरूमा ज्ञानमाला एकेडेमीले विद्यार्थीहरूको क्षमता विकासमा केन्द्रित रहेर गरेका गतिविधिले विद्यालयको उन्नति भएको चर्चा गरेका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल महेश बस्नेतले एसइईपछि भौतिक रूपमा टाढा भए पनि भावनात्मक रूपमा सबै एकअर्काको सामिप्य रहिरहनु पर्ने बताए । उनले विद्यार्थीले विद्यालयबाट सिकेका जीवनोपयोगी व्यावहारिक र शैक्षिक ज्ञान, सिपहरू अन्य क्षेत्रमा लागु गर्न आग्रह गरे ।

कक्षा ९ की छात्रा सनिश केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शिक्षक मिना योगी, कक्षा १० का विद्यार्थीहरू शिद्धान्त भट्टराई, बुद्धिप्रकाश चौधरी, वेविका श्रेष्ठ र करुणा वलीले, कक्षा ९ का विद्यार्थीहरू सविना चौधरी, समीर सार्की र क्रिस बुढा मगरले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण कक्षा ९ का छात्रा अदिति केसी र छात्र जेम्स विष्टले गरेका थिए ।