गोरक्ष समाचारदाता
तुलसीपुर, २२ फागुन । चैत २ गते हुने तुलसीपुर खानेपानी तथा सरसफाइ संस्थाको नयाँ नेतृत्वका लागि तीन जनाले अध्यक्षका लागि उम्मेदवारी दिएका छन् । तीन ठुला राजनीतिक दलले अध्यक्षलगायत उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
योसँगै तुलसीपुर खानेपानीमा त्रिपक्षी भिडन्त हुने देखिएको छ । आगामी नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाको संयुक्त प्यानल र नेकपा माओवादी केन्द्रको तर्फबाट प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट अध्यक्षमा वर्तमान अध्यक्ष यमकान्त भण्डारीसहितको प्यानलले उम्मेदवारी दर्ता गराएको छ । भण्डारीको नेतृत्वबाट उपाध्यक्षमा नारायणप्रसाद शर्मा, सचिवमा रञ्जनकुमार गौतम र कोषाध्यक्षमा वर्तमान कोषाध्यक्ष भोला थापाले उम्मेदवारी दिएका छन् । यसैगरी महिला सदस्यमा कांग्रेसको तर्फबाट लुमा बुढा मगर, सूष्मा अधिकारी, शारदी सार्की र खुल्ला सदस्यमा प्रमोदकुमार योगी (शरद) र बुद्धिराम चौधरीले उम्मेदवारी दिएका छन् ।
यसैगरी एमाले र राप्रपा मिलेर संयुक्त रूपमा उम्मेदवारी दिएका छन् । नेकपा एमालेबाट अध्यक्षमा पूर्वसचिव मनोज लामिछाने र उपाध्यक्षमा राप्रपाको तर्फबाट लक्ष्मण केसीले उम्मेदवारी दिएका छन् । यसैगरी सचिवमा नेकपा एमालेका भुवन भुसाल, कोषाध्यक्षमा सुशीला न्यौपानेले उम्मदवारी दर्ता गराएका छन् । यसैगरी महिला सदस्यमा एमालेका छमा भण्डारी, प्रमिला तिवारी र सुशीला वलीले उम्मेदवारी दर्ता गराएका छन् । पुरुष खुला सदस्यमा एमालेकै पदमबहादुर खड्का र सुकन्ठ न्यौपाने (सुशील) ले उम्मेदवारी दिएका छन् ।
यसैगरी तुलसीपुर खानेपानीको आगामी नेतृत्वको लागि नेकपा माओवादी केन्द्रको तर्फबाट सिताराम शर्मा आचार्यले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । सिताराम संस्थाको निवर्तमान उपाध्यक्ष हुन् । यो टिमबाट उपाध्यक्षमा दुर्गाप्रसाद भण्डारी र सचिवमा रुपबहादुर वली र कोषाध्यक्षमा कर्णबहादुर वलीले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा माओवादीको टिमबाट महिला सदस्यमा कमला चौधरी, मनिसा शेर्पाइली र डिला परियार र खुल्ला सदस्यमा मनबहादुर वली र खगेश्वर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।
तुलसीपुर खानेपानीको खुल्ला सदस्य पदमा माधव गिरी, प्रेम कवर र शोभाराम पुनले उम्मेदवारी दिएको निर्वाचन समितिकाले जनाएको छ । खुल्ला सदस्यमा दुई जनाको ठाउँमा नौ जनाको उम्मेदवारी परेको हो । निर्वाचन समितिका अनुसार बुधवार मनोनयन दर्तापछि उम्मेदवारको नामाबली प्रकाशन सोही दिन बेलुकी ५ बजे गरिनेछ ।
संयोजक अधिवक्ता प्रदीप धितालका अनुसार फागुन २२ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको नामावली उपर दाबी विरोधको समय तोकिएको छ । फागुन २३ गते बेलुकी ५ बजेसम्म संशोधित नामाबली प्रकाशन, २५ गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । यसैगरी उम्मेदवारको अन्तिम नामाबली प्रकाशस २६ गते बिहान ११ बजेसम्म तोकिएको छ भने सोही दिन दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ ।
निर्वाचन चैत २ गते बिहान साढे ७ बजेदेखि दिउँसो साढे ४ बजेसम्म तुलसीपुरको अरनीको मैदानमा हुने संयोजक अधिवक्ता धिताले बताएका छन् । निर्वाचित पदाधिकारी तीन वर्षे कार्यकाल रहने छ । खानेपानीको नेतृत्व चुन्न १० हजार नौ सय ७० जना मतदाता रहेका छन् ।
नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारलाई जिताउन नेपाली कांग्रेसले अनुरोध गरेको छ । नेपाली कांग्रेस क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, क्षेत्र ३ ‘क’ का सभापति देवेन्द्र रिजाल, तुलसीपुर नगर सभापति सुरेश हमाल, प्रजातान्त्रिक उद्यमी संघका तुलसीपुर नगर अध्यक्ष जनक खरालले कांग्रेसका आधिकारिक उम्मेदवार भण्डारीको प्यानललाई विजयी बनाउन आग्रह गरेका हुन् । बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।