Goraksha

National Daily

स्ववियु निर्वाचनका लागि महेन्द्र बहुमुखी क्याम्पसमा नौ विद्यार्थी संगठन दर्ता

दाङ,२० फागुन । घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि नौ वटा विद्यार्थी संघसंगठन दर्ता भएका छन् । स्ववियु निर्वाचन कार्यतालिका अनुसार सोमवार क्याम्पसमा नौ वटा विद्यार्थी संघगठनहरु दर्ता भएका हुन् ।

स्ववियु निर्वाचनका लागि महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल (क्रान्तिकारी), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं), अखिल (क्रान्तिकारी) बहुमत र स्वतन्त्र विद्यार्थी समुह दर्ता भएको निर्वाचन समिति सदस्य डा सुदीप गौतमले जानकारी दिएका छन् ।

स्ववियु निर्वाचनका लागि सोमवार दिउँसो १२ बजेदेखि ३ बजेसम्मको समय छुट्याइएको थियो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत आगामी चैत्रको ५ गते स्ववियुको निर्वाचन हुन थालेको छ । स्ववियु निर्वाचनका लागि फागुनको २७ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । जिल्लामा त्रिभुवन विश्वविद्यालयबाट सम्वन्ध प्राप्त गरेका २५ बढी क्याम्पसहरुमा निर्वाचन हुन थालेको छ ।