Goraksha

National Daily

घोराहीमा संस्कृति ज्ञान परीक्षा,मावि बिजौरीकी छात्रा बुढामगर प्रथम

गोरक्ष समाचारदाता
दाङ, १७ फागुन । घोराहीमा भएको स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा माध्यामिक विद्यालय बिजौरीकी छात्रा मिना बुढामगर प्रथम भएकी छिन् । हिन्दु स्वयंसेवक संघ घोराही नगर समितिद्वारा शनिवार घोराही उपमहानगरपालिका–१८ स्थित माध्यामिक विद्यालय रझेनामा भएको स्वामी विवेकानन्द सांस्कृतिक ज्ञान परीक्षामा बुढामगर प्रथम भएकी हुन् । प्रथम भएकी बुढा मगरले नगद २० हजारसहित पुरस्कार प्राप्त गरेकी छिन् ।

घोराही नगरपालिकाका ८०० बढी विद्यार्थी सहभागी उक्त प्रतियोगितामा पद्मोदयकी छात्रा रुविना रानामगर द्वितीय र माध्यामिक विद्यालय रझेनाका छात्र यमराज बोहरा तृतीय भएका थिए । द्धितीय भएकी रानामगरले पन्ध्र हजार र तृतीय भएका बोहराले नगद दश हजारसहित पुरस्कार प्राप्त गरेका छन् । उक्त परीक्षामा १४ जना विद्यार्थीले शतप्रतिशत नम्बर प्राप्त गरेपछि गोलाप्रथाबाट प्रथम द्धितीय तृतीय र सान्त्वना पुरस्कार दिइएको थियो ।

शतप्रतिशत अंक ल्याएर सान्त्वना पुरस्कार पाउने अन्य विद्यार्थीमा गुरुकुल एकेडेमी घोराहीका ३ जना सुहम् खनाल, सक्षम पौडेल, येशु बुढाथोकी, दीपशिखा माविकका दुईजना शशांक गौतम र प्रकृति डिसी, मावि रझेनाका दुईजना महेन्द्र ठेडी मगर र अमृता घर्ती, माता पवित्रा देवी गुरुकुलका प्रज्वल भट्टराई, ज्ञानसिन्धु माविका सन्दीप डाँगी, गोर्खा माविका निशान्त न्यौपाने, सिद्ध रत्ननाथ माविका अनुपम कर्ण रहेका छन् ।

घोराही नगर संयोजक मदन खनालको अध्यक्षता तथा अम्बिकेश्वरी मन्दिर समितिका अध्यक्ष नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा भएको कर्यक्रममा मेरिल्यान्ड विद्यालयका छात्रछात्राले सुन्दर आध्यात्मिक प्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रममा नगर अध्यक्ष लक्ष्मण थापा मगर, संघ प्रचारक विकुल दाहाल, साहित्यकार नारायण नेपाल, पिताम्बर रिजालले मन्तव्य तथा काव्यपाठ गरेका थिए । कार्यक्रमको सञ्चालन श्रवण नेपालीले गरेका थिए ।