Goraksha

National Daily

निशुल्क आँखा शिविरमा चार सय बढीलाई सेवा

गोरक्ष समाचारदाता
दाङ, १७ फागुन । निशुल्क आँखा जाँच शिविरमा चार सय बढीले सेवा लिएका छन् । नेपाली कांग्रेस केन्द्रद्वारा सञ्चालित सय दिने अभियानअन्तर्गत शनिवार नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका–१९ वडा कार्यसमितिको आयोजना तथा नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोगमा भएको निशुल्क स्वास्थ्य शिविरमा चार सय नौ जनाले आँखा सम्वन्धी सेवा लिएका हुन ।

आँखा जाँच गरिएकामध्ये ४० बर्षमाथिका चश्मा लगाउनुपर्ने दुई सय छ जना बिरामीलाई निशुल्क रुपमा चश्मा वितरण गरिएको र ४३ जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका–१९ वडा कार्यसमितिका सभापति पदमबहादुर वलीको सभापतित्व एवं नेपाली कांग्रेस दाङ जिल्ला सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यता एवं नेपाली कांग्रेसले सञ्चालन गरेको सय दिने अभियानका क्रममा वडामा खटिएका जिल्ला प्रतिनिधि गोविन्द मजगैयाँको विशिष्ट आतिथ्यतामा निशुल्क शिविर भएको थियो ।

शिविर उद्घाटन कार्यक्रममा बोल्दै नेपाली कांग्रेस दाङ सभापति डाँगीले विकास निर्माण, सामाजिक सचेतनासँगै कांग्रेसले जनताको स्वास्थ्यप्रति सचेत रहेको बताएका थिए । राजनीतिक गतिविधिसँगै जनताको सुखदुखमा साथ दिने कांग्रेस पाटी भएको भन्दै सभापति डाँगीले तुलसीपुर उपमहानगरपालिका वडा नं। १९ कार्यसमितिले राम्रो काम गरेको बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य जानुका केसी, नेपाली कांग्रेस दाङ क्षेत्र नं। २ का सचिव हिमबहादुर डाँगी, नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल, नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीलगायतले मन्तव्य वक्त गर्दै जनतालाई कांग्रेसप्रति आकर्षित हुने गरि कार्यक्रम सञ्चालन गरेर राम्रो काम गरेको बताएका थिए । उपससभापति प्रेमबहादुर रावतको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव कर्णबहादुर वलीले गरेका थिए ।