घरमै भत्ता, दंग हरिसराहरु…

खेमराज रिजाल
हेमन्तपुर, १८ बैशाख । ‘८० पुग्न २ बर्ष बाँकी छ, कति बाँचूला र !, सधै यहीँ ल्याइदिनुहोला भत्ता’, चार महिनामा जम्मा भएको १२ हजार ज्येष्ठ नागरिक भत्ता घरमै बुझ्न पाउँदा धर्मशाला टोल हेमन्तपुरकी हरिसरा बुढा दंग पर्दै भनिन् । चार महिनाअघि बैंकमा भत्ता बुझ्न जाँदा लाइन लाग्दाको समस्या उनले झल्झल्ती सम्झिइन् ।

तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुरस्थित सोही टोलकै ६४ बर्षीय रविलाल नेपाली पनि बिहीवार घरमै भत्ता बुझाउन वडाध्यक्षसहितको टोली आउँदा मख्ख थिए । क्षयरोगका बिरामी रवि दिनदिनै औषधि सेवन गर्छन् । रोगले गलाएका बेलाको लकडाउनमा भत्ता लिनै समस्या देखिएपछि केही दिन उनी एउटा छटपटीमा थिए । ‘हामी बृद्ध, त्यसमा पनि बिरामी, बैंकमा गएर लाइन बसी भत्ता बुझ्नु धेरै अप्ठेरो थियो, तपाईले जे गर्नुभो धन्यवाद छ’, रविले यति मात्रै भने । सोही बस्तीका शोभाराम दमाईले पनि घरमै भत्ता बुझे । उनकी श्रीमती पिमी दमाई पनि भत्ता बुझ्ने उमेरकी छिन् । ‘दमकी बिरामी श्रीमतीलाई बैंकसम्म लगेर भत्ता बुझ्न निकै गाह्रो थियो, अब त सजिलो हुनेभो’, शोभारामले भने ।

तुलसीपुर उपमहानगरपालिका–१८ का सबै टोलमा हरिसरा, शोभाराम र रविलालजस्ता झण्डै साढे ६ सय लक्षित वर्गलाई यसरी नै घर–घरमा लगेर सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउने तयारी वडा कार्यालयले गरेको छ । गत मंगलवारको गोरक्ष दैनिक पत्रिकामा तुलसीपुरको ज्योति विकाश बैंकलगायतका बैंकहरुमा भत्ता लिन बृद्धबृद्धाहरुलाई सकस शीर्षकको समाचारले स्थानीय सरकारहरुको ध्यान केन्द्रित भएपछि यो वडाले घर–घरमै भत्ता उपलव्ध गराउने अभियान शुरु गरेको हो । सम्भवतः यो दाङमै पहिलो अभ्यास पनि भएको दाबी गरिएको छ ।

अन्य वडा तथा पालिकाहरुले भने अझै पनि ज्येष्ठ नागरिकहरुलाई भत्ता बुझ्न बैंकमै जान बाध्य बनाएका छन् । विश्व स्वास्थ्य संगठनले बृद्धबृद्धा तथा बालबालिकाहरुलाई कोरोनाको संक्रमणको जोखिम अधिक हुने भन्दै उनीहरुलाई यसबाट जोगाउन चेतावनी दिँदै आएका बेला जिल्लामा भने बृद्धभत्ता लिन बैंकमा लाइन लाग्नुपर्ने विवशता जारी राखेका छन् । अधिकांश ज्येष्ठ नागरिकहरु कुनै न कुनै रोगले थलिएका हुन्छन् । भत्ता लिन आफै उपस्थित हुनुपर्ने एउटा बाध्यता छ भने अर्को बाध्यता धेरैजसो बाणिज्य बैंकहरु भवनको माथिल्ला तलामा हुँदा झनै समस्या पर्दै आएको छ ।

‘निर्वाचनताकै हामीले ज्येष्ठ नागरिक र असहाय/अशक्तहरुलाई घर–घरमै भत्ता पु¥याइदिने प्रतिवद्धता जनाएका थियौं, कोरोनाविरुद्धको लकडाउनले यो अवसर जुराइदियो’, वडाध्यक्ष माधव वलीले भने । यसलाई अब लकडाउन अवधिभरी मात्र नभएर सधै निरन्तरता दिने पनि उनले प्रतिवद्धता जनाए । सामाजिक सुरक्षा भत्ता पाउने दायराका ६ सय ३७ जनालाई अबको चार हप्ताभित्रै घर–घरमै भत्ता उपलव्ध गराउने वडासदस्य धनबहादुर बस्नेतले बताए ।

वडाध्यक्ष वलीसँगै अर्का वडासदस्य शितलप्रसाद घर्तीले झोलाभरी नगद, चेकबुक र पासबुक बोकेका थिए । बैंकबाट भत्ता निकाल्नुअघि वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता राखिदिएको बिजौरीस्थित देवः विकाश बैंकसँग समन्वय गरेको थियो । पैसा निकालेपछि बिहीवारदेखि वडा कार्यालयले सामाजिक दूरी कायम गर्दै असहाय तथा ज्येष्ठ नागरिकहरुलाई प्राथमिकताका आधारमा भत्ता उपलव्ध गराउन थालेको छ । भत्ता वितरणसँगै वडाध्यक्ष वलीले ज्येष्ठ नागरिकहरुलाई कोरोना भाइरसको विश्वव्यापी संक्रमणबाट जोगिन घरभित्रै बस्न पनि सुझाएका थिए ।

नगरप्रमुखको निर्देशन
यसैबीच सामाजिक सुरक्षा भत्ता बुझ्न विभिन्न बैंकहरुमा ज्येष्ठ नागरिकहरुको भीडभाड बढेको अवस्थामा यसलाई तत्काल सहजरुपमा व्यवस्थापन गर्न तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले निर्देशन दिएका छन् । विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा बृद्धबृद्धाहरुलाई भत्ता लिनै सकस भन्ने समाचार प्रकाशन/प्रसारण भएपछि नगरप्रमुख पाण्डेले फेसबुकवालमा स्ट्याटस लेख्दै यो विश्वव्यापी संक्रमणका बेला बृद्धबृद्धाहरुलाई भीडभाडमा जानुपर्ने बाध्यताबाट जोगाउन घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउने व्यवस्था मिलाउन सबै वडा कार्यालयहरुलाई निर्देशनसमेत दिएका छन् ।

यो समस्याका सन्दर्भमा गोरक्षसँग कुरा गर्दै नगरप्रमुख पाण्डेले ज्येष्ठ नागरिक, असहाय तथा अशक्तहरुलाई घरमै भत्ता उपलव्ध गराइदिन सबै वडा सरकारलाई निर्देशन दिएको बताए । पाण्डेले तुलसीपुर उपमहानगरपालिकाभित्रका बैंकमा सामाजिक सुरक्षा भत्ताका लागि भीडभाड नगर्न पनि आह्वान गरे । यसको सहजताका लागि तुलसीपुरले सबैभन्दा पहिले भत्ता निकासा गरेको पनि उनले बताएका छन् ।

सामाजिक सुरक्षा भत्ता सबै सम्बन्धित व्यक्तिको खातामा गएको बताउँदै उनले आवश्यकता हुनेले मात्रै निकाल्दा हुने समेत सुझाए । उनले वडाका रहेका अशक्तहरुको विवरण संकलन गरेर तत्काल घरमै पैसा पु¥याउने वातावरण गरिदिनका लागि वडा प्रतिनिधिलाई निर्देशनसमेत दिएको बताए । तुलसीपुर उपमहानगरपालिकाभरी करिब १२ हजार बढी सामाजिक सुरक्षा भत्ता लिनेहरु छन् ।