तुलसीपुर, १६ फागुन । आन्तररिक राजश्व कार्यालय तुलसीपुरले यस आर्थिक बर्षको ७ महिनामा ८२. ५० प्रतिसत राजश्व संकलन गरेको जनाएको छ । जुन गत बर्षकोभन्दा यस आर्थिक बर्षको माघ मसान्त सम्म २२.२ प्रतिशतले बढी राजश्व संकलन गरेको हो ।
गत आर्थिक बर्षमा साउन देखि माघ मसान्त सम्ममा १ अर्व १६ करोड ३० लाख ८६ हजार राजश्व संकलन गरेको कार्यालयले यस आर्थिक बर्षको माघ मसान्त सम्म १ अर्व ४२ करोड १३लाख ६७ हजार राजश्व संक्लन गरको आन्तरिक राजस्व कार्यालय तुलसीपुर, दाङका प्रमुख कर अधिकृत श्रीधर टण्डनले जानकारी दिए ।
राजश्व कार्यालयमा आयकर तर्फ ४२ हजार ३ सय २ र मुल्यअभिवृद्धिकरमा तर्फ ५ हजार १ सय ७४ जना करदाताहरु रहेका छन् । जस मध्य आयकरमा २१ हजार ३ सय ३४ जना आयकरमा ननफाइलर छन भने मुल्य अभिवृद्धिकरमा १ हजार ९७ जना ननफाइलर छन् ।
कार्यालयले ननफाइलर घटाउन आर्थिक ऐन २०८१ले प्रदान गरेको छुट सुविधाको प्रचार प्रसार का लागि विवरण पेश गर्न बाँकी ननफाईलर करदातालाई कार्यावाट निरन्तर टेलिफोन सम्पर्कका साथै एसएमएस समेत गर्ने गरेको प्रमुख टन्डनले बताए ।
त्यस्तै तुलसीपुर घोराही, लमही, गढवा, नारायणपुर, हापुरे लगायतका स्थानमा करदाता शिक्षा तथा अन्तरक्रिया गरेको विभिन्न सञ्चार माध्यम बाट छुट सुविधाका सम्वन्धमा प्रचार प्रसार गरेको उनको भनाई छ । प्रमुख टन्डनले स्थानीय उद्योग बाणिज्य संघ र स्थानीयतहरु संग पनि ननफाइलर घटाउन समन्वय सहकार्य गरि रहेको जानकारी दिए ।
त्यस्तै भ्याटमा दर्ता भएपछि नियमित रुपमा विवरण नबुझाउने ( ननफाइलर) लाई आन्तरिक राजश्व कार्यालय तुलसीपुरले आयकर तथा मुल्यअभिवृद्धिकर छुट दिएकाले अधिकतम उपभोग गर्न आग्रह गरेको छ । आर्थिक ऐन, २०८१ ले आयकर तथा मुल्य अभिवृद्धिकर कर सम्वन्धि शुल्क, व्याज र जरिमानामा छुट तथा सहुलियत प्रदान गरेकोले यसको उपभोग गर्न भनेको छ ।
‘२०८१ फागुन मसान्तसम्म आयकर, मुल्य अभिवृद्धिकरमा शुल्क, व्याज र जरिमाना मा छुटमा सहुलियत प्रदान गरेको छ, यसलाई यस लाई अधिकतम उपभोग गर्न म सवै सम्पूर्ण करदाताहरुलाई सुविधाको लाभ लिनहुन आग्रह गर्दछु – आन्तरिक राजस्व कार्यालय तुलसीपुर, दाङका प्रमुख कर अधिकृत श्रीधर टण्डनले भने ।’ उनले आर्थिक ऐन २०८१ को दफा २२ मा करको दायरामा आउनेलाई छुट दिने सम्बन्धी व्यवस्था गरेको फागुन मसान्त सम्म यो सुविधा रहेको बताए ।
जस अनुसार ‘कुनै व्यक्तिले विगतमा कर लाग्ने आयआर्जन गरेको तर स्थायी लेखा नम्बर नलिएको भए त्यस्तो व्यक्तिले स्थायी लेखा नम्बर लिई आर्थिक वर्ष २०७८÷०७९ र २०७९÷०८० को बुझाउनुपर्ने आय विवरण र सोमा लाग्ने कर संवत् २०८१ फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने’ सो भन्दा अघिका आय बर्षहरुको आय विवरण र सो लाग्ने कर शुल्क तथा व्याज बुझाउन नपर्ने उनले बताए ।
त्यस्तै स्थायी लेखा नम्बर लिई आय विवरण बुझाउन बाँकी रहेको करदाताले आय विवरण, सो आय विवरण अनुसारको आय कर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम संवत् २०८१ फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज मिनाहा हुने छ ।
२०८० साल असार मसान्तसम्मको मूल्य अभिबृद्धि कर विवरण पेश नगर्ने मूल्य अभिवृद्धि करमा दर्ता भएको करदाताले आफूले बुझाउनुपर्ने कर विवरण, सो कर विवरण अनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने ब्याजको ५० प्रतिशतले हुने रकम संवतु २०८१ साल फागुन मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर तथा बाँकी ब्याज मिनाहा हुने’ पनि आन्तरिक राजश्व कार्यालयले जनाएको छ ।