मन्दिरमा सहजरूपमा पूजापाठ र मेलालाई भव्य बनाउँदैछौ : अध्यक्ष अधिकारी[अन्तर्वार्ता]
घोराही उपमहानगरपालिका–५ धारापानीमा रहेको पाण्डवेश्वर महादेव मन्दिरमा विश्वको अग्लो त्रिशुल स्थापना भएपछि मन्दिर चर्चामा रहेको छ । धार्मिक तथा पर्यटकीय महत्वका हिसावले महत्वपूर्ण रहेको धारापानी विश्वको अग्लो त्रिशुल स्थापना भएसँगै थप चर्चामा आएको हो । करिब ४९.५० हेक्टरमा क्षेत्रमा फैलिएको धारापानी पछिल्लो समय जिल्लाकै प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । धारापानीमा महाशिवरात्रिको अवसरमा मेला लाग्ने गरेको छ । यस वर्ष पनि फागुन १३ गते महाशिवरात्रीका अवसरमा विशेष मेला लाग्दै छ । जसमा विशेष पूजा कार्यक्रम समेत हुनेछ । महाशिवरात्रीको अवसरमा पाण्डवेश्वर महादेव मन्दिरमा लाग्ने मेला र तयारीका विषयमा केन्द्रित रहेर गोरक्षकर्मी लिलाधर वलीले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष
गणेश अधिकारीसँग गरेको कुराकानीको सारसंक्षेप ।
पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा महाशिवरात्रीको अवसरमा पूजापाठसँगै मेला लाग्ने गर्दछ, तयारी कसरी भइरहेको छ ?
महाशिवरात्रिका अवसरमा धारापानीमा लाग्ने भेलाको लगभग तयारी अन्तिम चरणमा पु¥याएका छौँ । मन्दिरमा हुने विशेष पूजासँगै मेलालाई व्यवस्थित गर्नका लागि विभिन्न समिति गठन गरेर काम गरिरहेका छौँ । मन्दिर क्षेत्रमा आकर्षक बनाउनका लागि सजावटसँगै रंगरोगन र सरसफाईको काम भइरहेको छ । हिजो मात्र मन्दिरमा निर्माण भएको १०८ गौमुखी ढुंगो धाराको उद्घाटन गर्ने काम सकेका छौँ । विगतको मेलाबाट सिक्दै यो वर्षको मेलामा सहभागीलाई निःशुल्क रूपमा पानीको व्यवस्था गरेका छाँै ।
मन्दिर क्षेत्रमा धाराको पानीसँगै मेला लाग्ने ठाउँमा ट्याङ्करका माध्यमबाट खानेपानीको व्यवस्था गर्न लागेका छौँ । महाशिवरात्रीका अवसरमा मन्दिर क्षेत्रमा हुने भीडभाडलाई कम गर्नका लागि सुरक्षा निकायलाई खबर गर्नेदेखि आन्तरिक रूपमा स्वयमसेवक राख्ने काम समेत गरेका छौँ । त्यससँगै मन्दिरमा पूजापाठको क्रममा भीडभाड हुन नदिनका लागि यो वर्ष तीनवटा लाइन बनाउन थालेका छौँ । गत वर्ष पूर्व र उत्तर ढोकामा मात्र लाइन हुने गरेकोमा यो वर्ष पश्चिमतिरको पनि ढोका खोलेर पूजापाठ गर्ने व्यवस्था मिलाउँदै छौँ । यसले पूजा गर्ने भक्तजनको हुने भीडभाडलाई कम गर्ने अपेक्षा गरेका छौँ ।
यसैगरी महाशिवरात्रीका दिनमा विशेष पूजा र नेपाली सेनाको सलामीलाई भव्य बनाउने गरी समेत काम भइरहेको छ । त्यसका लागि घोराहीमा रहेको रिपुमर्दन गणका सेना आएर बिहानै सरसफाई गर्ने काम सकिएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुखलगायतका जनप्रतिनिधिलाई मेलामा विशेष पूजाका लागि अतिथिका रूपमा आमन्त्रण गर्ने काम गरेका छौँ । आशा छ, उहाँहरू समयमै मन्दिरमा आउनु हुनेछ ।
महाशिवरात्री मेलामा धारापानीमा भीडधाड अत्यधिक हुन्छ, त्यो भीडभाडलाई कम गर्न कसरी व्यवस्थापन मिलाउनु भएको छ ?
पाण्डवेश्वर महादेव मन्दिर धारापानी दाङको प्रमुख आकर्षणको केन्द्र हो । शिवरात्रीमा धार्मिक आस्थासँगै घुम्नका लागि धेरै मानिस आउने भएका कारण पनि भीडभाड हुने गर्दछ । भीडभाडलाई नियन्त्रणका लागि समितिले मन्दिर क्षेत्रमा मदिरालगायत लागुऔषधका रूपमा रहेका गाँजालगायतका वस्तुको बिक्री वितरणमा रोक लगाएका छौँ । यदि समितिको निर्णय कसैले अटेर गरेर त्यस्तो काम गरेर कारबाही गर्ने छौँ ।
शिवरात्रीका अवसरमा मन्दिरमा आउनजानका लागि दर्शनार्थीलाई समस्या नहोस् भनेर घोराही बजारलगायतका विभिन्न ठाउँबाट मन्दिर आउन र जानका लागि फरक–फरक बाटोसँगै भाडा निर्धारण गरेका छौँ । जसअन्तर्गत घोराहीबाट बसमा धारापानी आउँदा ६० रूपैयाँ र अटोमा आउँदा ८० रूपैयाँ भाडा शुल्कको व्यवस्था गरेका छाँै ।
विगतका वर्ष जस्तै धारापानीमा शिवरात्रीको अवसरमा भीडभाड हुने गर्दछ । भीड व्यवस्थापनलाई गर्न थप चुनौति हुने देखिएकाले सुरक्षा समितिलाई प्रहरीसँगको सहकार्यमा व्यवस्थापनको जिम्मा दिएका छौँ । मेलामा करिब डेढदेखि दुई सय प्रहरी र स्वयमसेवक सुरक्षासँगै व्यवस्थापनमा खटिने छन् ।
शिवरात्रीका अवसरमा धारापानीमा कुन–कुन ठाउँबाट दर्शनार्थी आउने गर्छन् ?
पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा महाशिवरात्रीका अवसरमा आउने भनेका दाङ र यस आसपास क्षेत्रकै भक्तजन तथा दर्शनार्थी हुन् । विगतका वर्षमा मेलामा दाङसँगै रोल्पा, सल्यान, रुकुम, प्युठान, बाँके, कपिलबस्तुलगायतका विभिन्न जिल्लासँगै छिमेकि देश भारतबाट समेत भक्तजन आउने गर्दछन् । धारापानीमा विश्वकै अग्लो त्रिशुल स्थापनासँगै अन्य विभिन्न आकर्षणका सामग्री निर्माण गरेपछि धारापानीमा पछिल्लो समय आन्तरिक तथा बाध्य पर्यटक आउने क्रम बढेको छ । महाशिवरात्रीका अवसरमा गत वर्ष धारापानीमा करिब एक लाख बढिले पूजापाठ, दर्शन र अवलोकन गरेका थिए । यो वर्ष त्योभन्दा बढिले मन्दिरमा पूजा, दर्शन र अवलोकन गर्ने अपेक्षा गरेका छौँ । त्यही भएर मन्दिरमा सुरक्षा, खानेपानी, प्राथमिक उपचारलगायत सम्पूर्ण व्यवस्था गरेका छौँ ।
पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा लाग्ने मेलामा विगतका वर्षभन्दा यो वर्ष दर्शनार्थी तथा भक्तजनले के फरक पाउने छन् ?
पक्कै पनि फरक बनाउने प्रयासमा जुटेका छौँ । विगका वर्षबाट पाठ सिक्दै, यो वर्ष मेलालाई सभ्य र भव्य बनाउने तयारीमा छौँ । शिवरात्रीका अवसरमा धारापानीमा पूजापाठसँगै नाचगान र भजनकृर्तन हुने गर्दै आएको छ । यो काम अहिले पनि हुने छ । मन्दिरमा हुने पूजालाई व्यवस्थित गर्ने काम गरेका छौँ । महाशिवरात्रीका अवसरमा शिवको दर्शन गर्न मन्दिरमा उल्लेख्य दर्शक आउने गर्नुहुन्छ । बिहान ४ बजेदेखि ५ सम्म मन्दिरको आन्तरिक पूजा सकेर ५ बजेदेखि सर्वसाधारणका लागि पूजापाठ गर्ने व्यवस्था मिलाएका छौँ ।
यस वर्षदेखि मन्दिरमा पूजाका लागि तीन लाइन हुने छन् । पूर्व, पश्चिम र उत्तरतर्फका ढोका सर्वसाधारणका लागि पूजा गर्न शिवरात्रीका दिन ढोका खोलिने छ । जसमध्ये पश्चिमतर्फ ८० वर्षभन्दा माथि, बिरामी र अपाङ्गका लागि खुल्ला गर्ने व्यवस्था मिलाएका छौँ । त्यसैगरी प्रसाद ग्रहणलाई पनि सहज व्यवस्था गरेका छौँ । पूजापाठका क्रममा भिडभाड हुन नदिनका लागि प्रहरीसँगै स्वयमसेवकका रूपमा पतञ्जली योग समितिलाई आमन्त्रण गरेका छौँ । उहाँहरू आउनु हुने भएको छ । शिवरात्रीको अवसरमा अघिल्लो दिन साँझ आरती गर्नेदेखि मन्दिरमा रातभर भजनकृर्तन गर्ने कार्यक्रम रहेको छ । त्यसको तयारी भइसकेको छ । समग्रमा भन्नु पर्दा हरेक हिसाबले महाशिवरात्रीलाई सभ्य र भव्य बनाउनेमा प्रयासमा लागेका छौँ ।
धारापानीको थप विकासका लागि कसरी काम भइरहेको छ ?
धारापानी दाङ जिल्लाकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य हो । यसको धार्मिक छुट्टै महत्व छ । त्यससँगै मनोरञ्जन लिने मान्छेका लागि पर्यटकीय केन्द्रका रूपमा समेत रहेको छ । धारापानी आउने मानिसले विभिन्न कुराको ज्ञान समेत लिन सक्छन् । तनावबाट थकानको महसुस गरेका मान्छेले शान्तिको अनुभूति प्राप्त गर्ने छन् ।
हामीले पनि धारापानीलाई त्यही अनुसार विकास गर्दैछौँ । हिन्दु धर्मप्रति आस्था राख्ने मान्छेका लागि पूजापाठका लागि धेरै संरचना निर्माण भएका छन् । राज्यको केही लगानी भए पनि धारापानीको धेरै विकास जनस्तरबाटै भएको छ । जनस्तरकै सहयोगबाट धारापानीमा धेरै संरचना निर्माण भएका छन् । शिवपञ्चायन, विश्वको अग्लो त्रिशुल, एक सय आठ शिवलिंग, एक सय आठ तुलसी मन्दिर, १०८ गौमुखी ढुंगे धारा, सुविधा सम्पन्न धर्मशाला, १००८ जोडी वरपिपल, स्नान पोखरी, पार्कलगायतका विभिन्न देवीदेवताको मूर्तिसँगै मन्दिर निर्माण भएका छन् । कतिपय कामलाई थप व्यवस्थित गर्ने काम भइरहेको छ ।
धारापानीको दीर्घकालीन विकासका लागि गुरुयोजना निर्माण गरेर विकासको काम गरिरहेका छौँ । धारापानीलाई सुनकोट मन्दिरसँग जोड्नका लागि सिँढी निर्माण, सुनकोटमै भगवतीको मन्दिर निर्माण, कृत्रिम जलाशय निर्माण, पार्क निर्माण, धारापानीमा दक्ष ब्राह्मण उत्पादनका लागि वैदिक गुरुकुल निर्माणको काम भइरहेको छ । धारापानीलाई थप आकर्षण बनाउँदै जिल्लाको मात्र नभएर देशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने काम भइरहेको छ । त्यसका लागि दाताको पहिचान गर्ने सहयोग जुटाउँदै आवश्यक संरचना निर्माणको काम गरिरहेका छौँ ।
अन्त्यमा के भन्न चाहानुहुन्छ ?
महाशिवरात्रकिा अवसरमा धारापानीमा विशेष मेला लाग्दैछ । मन्दिरमा पूजापाठसँगै पार्कमा मेला सुरु भइसकेको छ । मन्दिरमा आजदेखि नै चहलपहल बढिसकेको छ । महाशिवरात्रीको अवसरमा विगतका वर्ष जस्तै यस वर्ष पनि बिहान ९ः४५ मा प्रमुख जिल्ला अधिकारीले विशेष पूजापाठ र ९ः११ बजे सेनाले सलामी दिने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा उपस्थितिका लागि सबैमा निमन्त्रणा गर्न चाहान्छु ।
