मानव कल्याणद्वारा संस्थापक विनोद पोख्रेललाई सम्मान

दाङ,१३ फागुन । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङले आफ्ना संस्थापक विनोद पोख्रेललाई सम्मान गरेको छ । पोख्रेल २०४८ सालमा स्थापना भएको सो संस्थाको स्थापनाकालदेखि सल्लाकारका रुपमा क्रियाशिल रहदै आउनु भएको छ ।

पोख्रेल निवास महदेवामा आयोजित सम्मान कार्यक्रममा बोल्ने बक्ताहरुले विनोद पोख्रेलले दाङको सामाजिक, साहित्यिक, राजनीतिक, शैक्षिक तथा पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार दधिराम सुवेदीले हरप्रकारको समस्याको सहज समाधान खोज्ने व्यक्तिका रुपमा पोख्रेललाई चित्रण गरेका थिए ।

‘हामीलाई पत्रकारिता गर्न मात्रै हैन, समाजका लागि समर्पित हुन पोख्रेलले नै प्रेरित गर्नुभएको हो’,कार्यक्रममा बोल्दै पत्रकार सुवेदीले भने । प्रेस युनियन लुम्बिनी प्रदेशका अध्यक्ष तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेट सदस्य डा.सुदीप गौतमले समाजिक योगदानका लागि निस्वार्थभावले काम गर्नका लागि पोख्रेलले सबैलाई प्रेरित गर्दै आएको चर्चा गरेका थिए ।

त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक किशोरचन्द्र गौतमले स्वार्थविना नै समाज केन्द्रित भूमिका खेल्ने पात्रका रुपमा पोख्रेलले आफ्नो परिचय बनाएको चर्चा गरे । अम्बिकेश्वरी मन्दीर व्यवस्थापन समितिका अध्यक्ष नारायण अधिकारीले पोख्रेल आफ्ना लागि र समाजका लागि प्रेरक भएको चर्चा गर्दै कुनै पनि बिषयमा मिहिन अध्ययन गरेर प्रस्तुत हुने गरेको बताएका थिए ।

मानव कल्याण तथा वातावरण केन्द्रका पूर्व अध्यक्ष निर्मला गौतमले संस्थालाई समाजमा स्थापित गर्न पोख्रेलले ठूलो योगदान दिएको चर्चा गरेकी थिइन । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष तथा सम्मानित पोख्रेलका पुत्र विपुल पोख्रेलले सामाजिक योगदानको कुनै न कुनै समयमा मुल्यांकन हुने भन्दै समाजका रोलमोडेलहरुवाट नयाँ पुस्ताले सिक्नसक्नु पर्ने वताए ।

संस्थाका उपाध्यक्ष कुमारराज श्रेष्ठको स्वागत मन्तव्यवाट शुरु भएको सो कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष किरणकुमार रेग्मीले पोख्रेलको जीवनी माथि प्रकाश पार्दै सामाजिक, शैक्षिक, साहित्यिक, राजनीतिक र पत्रकारिता क्षेत्रमा उहाँको योगदानको चर्चा गरेका थिए । रेग्मीले विनोद पोख्रेलको योगदान र उत्प्रेरणाले नयाँ पुस्ता पनि सत्कर्म तर्फ आकर्षित हुँदै आएको पनि बताए । संस्थाका सचिव माया पोख्रेलले सञ्चालन गरेको कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख प्रदीप मजगैंयाले धन्यवाद ज्ञापन गरेका थिए ।