बहुभाषी काव्य उत्सव तथा स्रष्टा सम्मान गरिने

दाङ,१२ फागुन । राप्ती साहित्य परिषद् दाङ शाखाले चैत २३ गते वृहत बहुभाषी काव्य उत्सव, काव्यविमर्श तथा स्रष्टा सम्मान,पुरस्कृत तथा १७औँ साधारणसभा गर्ने भएको छ।

काव्य उत्सवमा लोकउन्मुख अवस्थामा रहेको कुसुण्डा भाषाका रचनाहरूसमेत समेटिनेछन्। त्यसैगरी सो कार्यक्रममा कुमाल, अवधि, नेवारी, थारु, मगर , संस्कृत, नेपाली,आदि लगायतका भाषामा बेजोड रचनाहरूको प्रस्तुति रहनेछ ।

सो कार्यक्रममा विगतका वर्षहरूमा झैँ यस वर्ष पनि श्रष्टा सम्पन्न तथा पुरस्कृत गरिने छ। राप्ती साहित्य परिषद् दाङ शाखामा यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार,वेदप्रसाद जयश्वरी राउत स्मृति पुरस्कार र कृष्ण गायत्री प्रज्ञा पुरस्कार रहेका छन्। यी पुरस्कार प्रदान गर्नको लागि तीन सदस्य प्रतिभा छनोट समितिको गठन गरिएको छ।

जसको संयोजकमा राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष दीपक शर्मा ूसमीरू र सदस्यहरूमा शारदा शर्मा र सुरेश कुमार पाण्डेलाई चयन गरिएको छ ।

आजको समय भनेको पहिचानको खोजी गर्ने समय हो । हरेक मानिस तथा समुदायले आफ्नो पहिचानको खोजी गरिरहेको हुन्छ। कुनै पनि जातिको पहिचान जोगाउन काम त्यो जातिको भाषा साहित्यले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। अर्को कुरा कुनै पनि जातिको भाषा साहित्यको संरक्षण भयो भने मात्र सो जातिको कला,संस्कृति, रीतिरिवाज, परम्परा तथा चाडपर्वको संरक्षण हुने गर्छ। यो कार्यक्रमले मातृभाषाहरूको संरक्षण थोरै भएपनि टेवा पुर्याउने छ ।

मातृभाषाका रचनाहरूको संरक्षण गर्नेछ। श्रोताहरूले एउटै मन्चबाट विभिन्न भाषाका रचनाहरूको रसास्वादन गर्न सक्नेछन्। साथै साहित्यमा लामोसमयदेखि योगदान दिएका स्रष्टाहरूलाई सम्मान तथा पुरस्कृत गरिने राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीले जानकारी दिएका छन् ।