लमही–९ मा निःशुल्क स्वास्थ्य शिविर

श्रीराम दहित
अमिलिया, (चाँदनीचोक) ११ फागुन । लमही नगरपालिका–९ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । राप्ती आयुर्वेद चिकित्सालय दोघरे तुलसीपुरको प्राविधिक तथा आर्थिक व्यवस्थापन र लमही नगरपालिका वडा नं. ९ कार्यालयको समन्वयमा शिविर सम्पन्न भएको चिकित्सालयका प्रमुख डा. मदनकुमार विसिले जानकारी दिएका छन् ।

“मेरो स्वास्थ्य मेरो जिम्मेवारी“ नारासहित नसर्ने रोगहरूको पहिचान अभियानअन्तर्गत आयोजित शिविरमा नगर स्वास्थ्य अमिलियाको सेवा क्षेत्रका १ सय ३५ जनाले निःशुल्क पिसाब र रगत परीक्षण गराएका थिए । परीक्षणमा ३९ जनामा अधिक मोटोपन, २७ जनामा मधुमेह र २४ जनामा उच्च रक्तचापको समस्या पहिचान गरिएको थियो । रोग पहिचान भएका व्यक्तिहरूलाई आवश्यकता अनुसारको आयुर्वेद औषधि निःशुल्क वितरण गरिएको थियो ।

शिविरमा चिकित्सालयका डा. कैलाश न्यौपाने, ल्याब टेक्निसियन रोहित केसी तथा नगर स्वास्थ्य केन्द्र अमिलियाका छायाँ खड्का, रिता बस्नेत र स्वयंसेवक दोरपती घर्तीले व्यवस्थापनमा सहयोग गरेका थिए । कार्यवाहक वडाअध्यक्ष अमर वली, वडासदस्यद्वय ईश्वरा कुमारी पछाई र गणेश कुमाल तथा गायत्री परिवार दाङका योग प्रशिक्षक स्थानीय श्रीराम दहितको शिविरमा उपस्थिति रहेको थियो ।

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गर्न प्राविधिक, आर्थिक र सैद्धान्तिक रूपमा व्यवस्थित सेवा उपलब्ध गराएकोमा वडासदस्य ईश्वरा कुमारी पछाईले धन्यवाद ज्ञापन गरेकी थिइन ।