विश्वविद्यालय डायरी
खेमराज रिजाल
बेलझुण्डी, ९ फागुन । पानीको समाचार लेख्न गएको विश्वविद्यालयमा पुगेछु । बेलझुण्डी खानेपानीको अधिवेशनका विषयमा लेख्न लायक समाचार नपाएपछि छेवैको नेपाल संस्कृत विश्वविद्यालयमा छिरेँ । प्रवेशद्वारमा डिजिटल बोर्डले स्वागत गरिरहेको थियो । मुर्दाशान्ति जस्तै प्राङ्गण, केही कर्मचारी चौरमा घुमिरहन्थे । केही चौतारीमा राखिएको प्रतिलिपि रजिस्टरमा उपस्थिति जनाएर बाहिरिन्थे । केन्द्रीय कार्यालयमा ताला लागेको छ । सांस्कृतिक केन्द्रमा ताला लागेको छ । भर्खरै डिनको कार्यालयमा पनि ताला लगाएको छ । संस्कृत शिक्षाको एक मात्र नेपाल संस्कृत विश्वविद्यालयमा चलेको भनेको आन्दोलन, तालाबन्दी र प्रतिलिपि हाजिरी रजिस्टर … ।
त्यो बेला योगी नरहरिनाथको सोच यसका लागि थिएन । नेपाल सरकारको वार्षिक करोडौँ रुपैयाँ प्रतिलिपि रजिस्टर र सेक्टरवाइज ताला किन्नका लागि थिएन, हडताल र आन्दोलनका लागि थिएन तर यही भइरहेको छ । यो वर्ष पनि नेपाल सरकारले दिएको ३७ करोड अनुदानको केही हिस्सा यस्तै प्रतिलिपि रजिस्टर किन्नमा खर्च भइरहेको छ । कामचलाउ हाजिरी गर्नेहरूले यही प्रतिलिपि रजिस्टरमा आफ्नो उपस्थिति जनाउने छन् अनि दुई महिना, तीन महिना, चार महिना … जतिबेला सहमति भएर ताला खुल्छ, यही प्रतिलिपि रजिस्टरलाई ओरिजिनल रजिस्टरमा उपस्थिति सारिनेछ अनि तलव, सुविधा भुक्तानी गर्दै अर्को सिनेट बैठकबाट फेरि नेसंविले चालु र पुँजीगत बजेट माग गर्नेछ ।
नेपाल सरकारले नेपाल संस्कृत विश्वविद्यालयलाई दिँदै आएको यो अनुदान विश्वविद्यालयको उन्नयनका लागि भने कदापि विश्वास गर्न सकिने अवस्था छैन । यो त कर्मचारी प्राध्यापक र पदाधिकारीका लागि सेवासुविधाका लागि मात्रै हो । नेपाल संस्कृत विश्वविद्यालयमा विद्यार्थीको सङ्ख्याभन्दा उनीहरू नै धेरै छन् । यो अवस्थामा गुज्रिरहेको नेपाल संस्कृत विश्वविद्यालय फेरि दुई महिनादेखि तालाबन्दीमा छ । माओवादी निकट विद्यार्थीले केन्द्रीय कार्यालयमा र सांस्कृतिक केन्द्रमा तालाबन्दी गरेका छन् । नेविसंघले डिनको कार्यालयमा तालाबन्दी गरेको छ । ‘यी तालाबन्दीमा विद्यार्थीका हकहितका कुरा उठाइएका छन्, जुन हात्तीका देखाउने दाँत मात्रै हुन्, भित्रि कुरा त पदाधिकारीमा बार्गेनिङ हो, त्यो त आम जनमानसलाई झुक्याउने खेल मात्रै हो’, नेपाल संस्कृत विश्वविद्यालय सम्बद्ध एक कर्मचारी नेताले भने । यसरी नै पार्टीहरूले विद्यार्थीलाई प्रयोग गरेर अभिष्ट पूरा गर्दै आएका छन् ।
हो, साच्चै यो पहिलेका आन्दोलनले पनि पुष्टि गरेको छ । नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद अध्ययन संस्थान मातहतको बिएएमएस अध्ययन गर्ने विद्यार्थीलाई शिक्षण अस्पताल चाहियो भनेर दर्जन बढी ताला लगाइए तर अन्ततः शिक्षण अस्पताल नबन्दै पटक–पटक ताला खोलिए, किनकि शिक्षण अस्पताल त हात्तीको देखाउने दात मात्रै हो, त्यस बिचमा क्याम्पस चिफ र डिन नियुक्ति गर्न नै यसरी ताला लगाइँदै आइएका थिए । घटनाक्रमले त्यो प्रमाणित गरिसकेको छ ।
भर्खरै नेपाल संस्कृत विश्वविद्यालयले नयाँ भिसी पायो तर कामचलाउ रेक्टर नियुक्ति हुनसकेको छैन । पछिल्लो पटक म्याद थपिएका रजिस्ट्रार माधव अधिकारीको कार्यकाल सकिएपछि उनी पुनः आफ्नै पुरानै थलो बिजौरी जनता क्याम्पसमा हाजिर हुन गएका छन् । यस अघि भिसीको जिम्मेवारीमा रहेका रेक्टर भीम खतिवडा पुनः आफ्नै पोस्टमा फर्किएका छन् । के यी पदाधिकारीलाई पुरानै पोस्टमा उच्च मनोबलका साथ काम गर्ने जाँगर होला ? एक पटक भिसी भइसकेको मान्छे फेरि रेक्टरको जिम्मेवारीमा ? एक पटक रजिस्टार भइसकेको मान्छे फेरि क्याम्पस चिफमा …।
के यो सहज अवस्था हो, विश्वविद्यालयका लागि ? त्यसैले त नेपाल संस्कृत विश्वविद्यालयमा जहिलै पदीय जिम्मेवारीको लडाइँ भइरहन्छ, त्यसमा गोटी भैदिन्छन् विभिन्न विद्यार्थी संगठन । नेपाल संस्कृत विश्वविद्यालयका विद्यार्थी संगठनका लेटरप्याडमा तालाबन्दीको कारणसहितका विज्ञप्ति अनि माग सम्बोधन नभई खोलिन्छन् ताला … । आहा ! कति शान्त विश्वविद्यालय । विद्यार्थी भएर वर्षैभरि सञ्चालन हुन सके पो विश्वविद्यालयमा गाइगुइ हल्ला हुने हो, पदाधिकारी आवासमा, विद्यार्थी आन्दोलनमा अनि कर्मचारी प्रतिलिपि रजिस्टरमा । शान्त हुँदैन त विश्वविद्यालय । सरकारले शैक्षिक संस्थालाई शान्ति क्षेत्र घोषणा गरेजस्तै नेपाल संस्कृत विश्वविद्यालय भने कोही उपस्थित नभएरै शान्ति क्षेत्र भएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वप्राध्यापकले नाम उल्लेख नगर्ने शर्तमा भने ।
नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारी नियुक्त भएको करिब तीन महिना पुग्न थालेको छ । यो बिचमा भिसीले नेपाल संस्कृत विश्वविद्यालयको सबै गतिविधि र राजनीति बुझ्नै पाएका छैनन् । सिस्टम मात्रै बुझेर चल्ने रहेनछ, विश्वविद्यालय । त्यसैले उनी कहिले काठमाडौंमा रजिस्टार खोज्न जान्छन्, कहिले आङ्गीक क्याम्पसको गतिविधि बुझ्न बाहिरिन्छन् त कहिले बिरामी परेर बिदामा हुन्छन् । केन्द्रीय कार्यालयमा तालाबन्दी हुँदा पुसदेखि तलव नपाएको कर्मचारीको गुनासो छ ।
जेनतेन यो वर्षका लागि तलव भत्ताका लागि २५ करोड र पुँजीगत १२ करोड बजेट त सिनेट सभाले अनुमोदन गरेको हो । कर्मचारीले भने तलव भत्ता पनि पाएका छैनन् । ‘यो त हामीलाई बानी परिसकेको छ, आन्दोलन भइरहन्छन्, सहमति भएपछि एकै पटक सात महिनासम्मको तलव हामीले पाएकै छौँ’, नेपाल संस्कृत विश्वविद्यालयका एक जना कर्मचारीले भने । आफू कराएर यो रोग सन्चो नहुने भन्दै यस्ता अन्दोलनलाइ त विश्वविद्यालयले पाठ्यक्रममै राखे हुने समेत सुझाव दिए ।
यो पछिल्लो आन्दोलन अवसरको हो । यसका लागि विभिन्न विद्यार्थी संगठनका नाममा तालाबन्दी भएका छन् । किनकि अहिले नेपाल संस्कृत विश्वविद्यालयमा रजिस्टारको पद खाली छ । परीक्षा नियन्त्रकको पदावधि सकिएर कामचलाउ बनिसकेका छन् । नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक केन्द्र निर्देशकको पदावधि सकिइसकेको छ । करिब नौ वटा क्याम्पस चिफको पदावधि दुई दिनभित्रै सकिँंदै छ । डिनको पद पनि खाली छ । खासमा तालाबन्दी यो मानेमा भएको हो कि यही तालाबन्दीलाई वार्ताको माध्यम बनाएर आफ्ना पक्षकालाई नियुक्तिको दबाब दिइन्छ । यही हो नेपाल संस्कृत विश्वविद्यालयको सुसंस्कृतको अभ्यास ? त्यसैले त पटक पटक तालाबन्दी भइरहन्छन् ।
विद्यार्थी संगठनले नेपाल संस्कृत विश्वविद्यालयको स्वामित्वको जग्गा फिर्ता ल्याउ भनेर कहिलै विश्वविद्यालयमा तालाबन्दी गरेनन् । पदाधिकारीसँग डेलिगेसन गएनन् । नेपाल संस्कृत विश्वविद्यालयले चलाउने भनेको वास्तु इन्जिनियरिङलाई छिटो सञ्चालनमा ल्याउ भनेर कहिलै विश्वविद्यालय पदाधिकारी समक्ष माग राखेनन् । वैदिक कृषि विषय चाहियो भनेर कहिलै आन्दोलन गरेनन् । बिजौरीमा सञ्चालन भइरहेको कविराजलाई सिटिइभिटीमार्फत् यहीँ सञ्चालन गरौँ भनेर कहिलै आन्दोलन गरेनन् । तर देखाउने एउटा माग र बोल्ने अर्को मागमा भने नेपाल संस्कृत विश्वविद्यालयका विद्यार्थी संगठनका लेटरप्याड सधैँ क्रियाशील रहे । विज्ञप्ति कसले ड्राफ्ट गर्छ भन्नेसम्म जानकारी विद्यार्थी संगठनलाई नहुने विश्वविद्यालयका एक विद्यार्थी नेताले बताए ।
के विद्यार्थीलाई संस्कृत विश्वविद्यालयप्रति चासो छ, चिन्ता छ,अनि जागरुकता छ भने यस अघि गठन भएको उच्चस्तरीय जग्गा व्यवस्थापन समितिले के–कति प्रगति ग¥यो भनेर किन माग गर्न सकेनन् ? कहाँ गयो समितिको प्रतिवेदन । किन पदाधिकारी आवासमा बसेर सेवासुविधा लिइरहेका छन् ? यो विषयमा भने तालाबन्दी कहिलै भएनन् । यसैले त नेपाल संस्कृत विश्वविद्यालय एउटा प्रतिलिपी युनिभर्सिटी भएको छ, किनकि प्राध्यापक र कर्मचारी नै प्रतिलिपि रजिस्टरमा उपस्थिति जनाउँछन् … ।