गोरक्ष समाचारदाता
दाङ, ८ फागुन । लेखक संघ दाङले प्रजातन्त्र दिवसका अवसर पारेर १९ जना स्रष्टालाई सम्मान एवम् पुरस्कृत गरेको छ । लेखनका माध्यमबाट नेपाली भाषा, साहित्यको विकाससँगै प्रजातन्त्र संस्थागतका लागि योगदान पु¥याउने स्रष्टालाई नगदसहित प्रमाणपत्र प्रदान गरेर सम्मान एवम् पुरस्कृत गरेको हो ।
लेखक संघ दाङले प्रजातन्त्र दिवसका अवसरमा बुधवार घोराहीमा ३०औँ साधारणसभा एवम् स्रष्टा सम्मान समारोहको आयोजना गरेर पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा संघले बमशंकर साहित्य पुरस्कार साहित्यकार एवम् संस्कृतिविद बेझलाल चौधरी, बामदेव–खिमकुमारी स्मृति साहित्य पुरस्कार साहित्यकार नारायण नेपाल, कृष्ण गायत्री प्रज्ञा पुरस्कार साहित्यकार डा कृष्णराज डिसी, तोयाराम पाण्डेय–ईश्वरादेवी पाण्डेय साहित्य पुरस्कार डा. हिमलाल पन्थी, निबुलाल डोङ्ली थारू साहित्य पुरस्कार भगवतीप्रसाद चौधरीलाई प्रदान गरेको छ ।
यसैगरी नारायण सल्यानी स्मृति साहित्य पुरस्कार साहित्यकार गुरुप्रसाद कुमाल ‘बुलबुल’, नित्यानन्द शर्मा साहित्य प्रतिभा पुरस्कार मकुश पन्थी, पं कृष्णमणि–इन्दिरा आचार्य साहित्य सङ्गीत पुरस्कार सुरेश परियार, प्रविन प्रज्ञा पुरस्कार नारायण लामिछाने, लक्ष्मण कला साहित्य प्रज्ञा पुरस्कार अनिता भुसाल, इन्द्र–देवका स्मृति पुरस्कार नवराज रजौरे, यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार किरण आचार्य, चक्रमाया स्मृति पुरस्कार कमला भारती, प्राडा गदाधर पौडेल स्मृति बाङ्मय साहित्य पुरस्कार गीता कार्की, ऋषि–मेनका बाङ्मय साहित्य पुरस्कार साहित्यकार सन्ध्या पहाडी, मेघराज लक्ष्मीदेवी प्रज्ञा पुरस्कार कौशिला परियार, अशोक सुभद्रा काव्य पुरस्कार प्रभा भट्टराई, दामोदर–अम्बिका बाल स्मृति प्रतिभा पुरस्कार जनकल्याण मावि दुधरासमा अध्ययनरत छात्रा सृष्टि खड्का र छात्र किस्मत रोका मगरलाई प्रदान गरिएको छ ।
लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षता तथा साहित्यकार प्राडा जनार्दन आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताले नेपाली भाषा र साहित्य सिर्जनाको विकासमा स्रष्टाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए । साहित्य समसामयिक विषयसँगै परिवर्तनका पक्षमा लेखिनुपर्नेमा सहभागी वक्ताले जोड दिएका थिए ।
कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय सदस्य डा टीकाराम उदासी, ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष डा भोलानाथ योगी, प्राडा उत्तमकृष्ण मजगैयाँ, पुरस्कृत साहित्यकार सन्ध्या पहाडीलगायतले बोलेका थिए । कार्यक्रममा पुरस्कृत साहित्यकारहरूको परिचय सन्ध्या रेग्मीलगायतले गराएका थिए । लेखक संघ दाङको सदस्य हरिप्रसाद पाण्डेयको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रम सचिव सरिता देवकोटाले गरेकी थिइन् ।
अक्षयकोषमा रकम थप
यसैबिच लेखक संघ दाङमा स्थापना भएका दुईवटा अक्षयकोषमा रकम थप भएको छ । साहित्यिक क्षेत्रका विकासका लागि स्थापना भएका शारदा लोहनी स्मृति साहित्य पुरस्कार र फर्साराम–धनकुमारी साहित्य पुरस्कारको राशी थप गरिएको हो । छोरा अशोक लोहनीले शारदा लोहनी स्मृति पुरस्कारको अक्षयकोषमा ४० हजार रुपैयाँ थप गरेर ५० हजार पु¥याएका छन् । यसैगरी फर्साराम–धनकुमारी साहित्य पुरस्कारका संस्थापक शालिकराम आचार्यले अक्षयकोषमा २६ हजार एक सय ११ रुपैयाँ थप गरेर ५१ हजार एक सय ५१ रुपैयाँ पु¥याउने कार्यक्रममा घोषणा गरेका हुन् ।