गोरक्ष समाचारदाता
दाङ, ८ फागुन । नेपाली कांग्रेस क्षेत्र नम्बर २ को आयोजनामा ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवस घोराहीमा मनाइएको छ । प्रजातन्त्र स्थापना, त्यसले ल्याएको उपलब्धि र प्रजातान्त्रिक संस्कृति संवर्धनलगायतका विषयमा कार्यक्रममा छलफल गरिएको थियो ।
क्षेत्रीय सभापति भीमप्रकाश खड्काको अध्यक्षता एवम् नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमका बोल्दै प्रमुख अतिथि खनालले नेपाली जनताले मौलिक अधिकार प्राप्त गरेको र नेपाली जनतालाई रैतीबाट नागरिक बनाएका दिन प्रजातन्त्र दिवस रहेको बताए । उनले पछिल्लो समयमा नेता, नेतृत्व र पुराना दलप्रति नकारात्मक प्रचार गरेर प्रजातन्त्रप्रति प्रहार हुन खोजेको बताए । ‘नेपाली कांग्रेसको नेतृत्वमा प्रजातन्त्र स्थापना भयो, देशका हरेक परिवर्तनमा नेपाली कांग्रेसले नेतृत्व गरेको इतिहास छ’, उनले भने, ‘अब ती परिवर्तनलाई संस्थागत गर्न नेपाली कांग्रेसका सबै तह लागिपर्न आवश्यक छ ।’
कार्यक्रमका बोल्ने अन्य वक्ताले प्रजातान्त्रको बोध सम्पूर्ण नेपालीलाई गराउनुपर्ने बताएका थिए । सभ्य, सुसंस्कृत र समुन्नत राष्ट्र निर्माणतर्फ हरतरहले सबै लाग्नुपर्ने उनीहरूको भनाइ थियो । उनीहरूले प्रजातन्त्र स्थापना गरेको दशकौँ बितिसक्दा पनि महसुस गर्न नपाएका जनतालाई प्रत्याभूति दिलाउन आवश्यक रहेको बताएका थिए । नेपालका हरेक तहले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आत्मसात गरेर अगाडि बढ्न आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सांसद लोका विक, नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, सचिव अर्जुन योगी, बालिका लम्साल, नेपाली कांग्रेस क्षेत्र नं. २ का सल्लाहकार डा. विनबहादुरसिं वली, खड्ग बुढाथोकी, नेपाली कांग्रेस क्षेत्र नं २ का पूर्वसभापति गोविन्द मजगैयाँलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव आरके शीतलले गरेका थिए ।