गोरक्ष समाचारदाता
दाङ,८ फागुन । आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै जनतालाई परिवर्तनको महसुस गर्ने गरी जनप्रतिनिधि र कर्मचारीले काम गर्नुपर्ने वक्ताले जोड दिएका छन् । ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बुधवार घोराहीमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताले राजनीतिक परिवर्तनसँगै पूर्वाधार, आर्थिक, सामाजिकसँगै सुशासनको क्षेत्रमा सुधार गर्दै जनतालाई परिवर्तनको महसुस गराउन तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताएका थिए ।
प्रजातन्त्र दिवस मुलसमारोह समितिका संयोजक तथा जिल्ला समन्वय समिति दाङकी उपप्रमुख चेतना चौधरीको अध्यक्षामा भएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले प्राप्त उपलब्धिको संस्थागत गर्दै जनतालाई आशाको प्रत्याभूति दिलाउन आवश्यक रहेको बताएका थिए ।
२००७ सालदेखि २०८१ सम्म आइपुग्दा धेरै राजनीतिक परिवर्तन भए पनि जनताले त्यसको प्रत्याभूति गर्न नसक्दा निराशा बढेको भन्दै प्रमुख जिल्ला अधिकारी लम्सालले जनतामा बढेको निराशालाई हटाउँदै काम गर्नुपर्ने अहिलेको दायित्व दलमा भएको बताए । प्रजातन्त्र भनेको व्यवस्था मात्र नभएर व्यवहार पनि भएको भन्दै प्रमुख जिल्ला अधिकारी लम्सालले जनतालाई परिवर्तनको महसुस गराउन जनप्रतिनिधि र कर्मचारीले ध्यान दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका जिल्ला सदस्य किरण रेग्मीले परिवर्तनलाई संस्थागत गर्दै देशको आर्थिक विकास गरेर जनतालाई परिवर्तनको महसुस गराउन आवश्यक रहेको बताए । व्यवस्था परिवर्तन भए पनि जनताले त्यसको महसुस गर्न नसक्दा सिङ्गो व्यवस्थासँगै राजनीतिक दलप्रति जनताको निराशा बढेको भन्दै त्यसलाई हटाउँदै अघि बढ्न आवश्यक रहेको बताए । नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले प्रजातन्त्र, लोकतन्त्रसँगै सङ्घीय गणतान्त्रिक शासन व्यवस्था स्थापनाका लागि त्याग गर्ने सहिदले देखाएको बाटोलाई अनुशरण गर्दै जनतालाई विकास र सुशासनको प्रत्याभूति दिलाएर काम गर्न आवश्यक रहेको बताए ।
नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले परिवर्तनको संस्थागत गर्र्दै जनतालाई विकास र सुशासनको महसुस गराउनुपर्नेमा जोड दिए । नेतासँगै कर्मचारीहरू जनताप्रति इमानदार नहुँदा २००७ सालको प्रजातन्त्र स्थापनादेखि २०६२÷०६३ सालको जनआन्दोलनसम्म भए पनि जनता सन्तुष्ट हुन नसकेको भन्दै त्यसतर्फ राजनीतिक दलका नेतासँगै कर्मचारीले विशेष ध्यान दिनुपर्ने बताए । राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले आफ्नो जीवनको प्रवाह नगरी देश र जनताको परिवर्तनका लागि बलिदानी गर्ने सहिदको सपना पूरा गर्नका लागि सुदृढ प्रजातन्त्रको आवश्यकता रहेको बताएका हुन् ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले सरकारबाट जनताले अहिलेको समयमा सहज रूपमा सेवा प्रवाह, सुशासन र समृद्धि चाहेको भन्दै वक्ताले जनप्रतिनिधि र कर्मचारीले त्यस अनुसार काम गर्नुपर्ने बताएका हुन् । जिवी चिन्तनले प्रजातन्त्र वा लोकतन्त्रको विकल्पमा अन्य व्यवस्था हुन नसक्ने भन्दै उनले अहिलेको व्यवस्थामा भएका कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
घोराही स्थित जिल्ला प्रशासन कार्यालयबाट सुरु भएको प्रभातफेरी जिल्ला प्रहरी कार्यालय, भानुचोक, दामोदर चोक, नेपाल बंंैक सहिदगेट हुँदै जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेको थियो । प्रभातफेरीमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, पत्रकार, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहभागिता थियो ।
आठ जनाद्वारा रक्तदान
यसैबिच ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आठ जनताले रक्तदान गरेका छन् । प्रजातन्त्र दिवस मुलसमारोह समितिको आयोजना, स्वास्थ्य कार्यालयको समन्वय र रक्त सञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रम कर्मचारी, जनप्रतिनिधि गरेर आठ जनाले रक्तदान गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार आरके शीतलले गरेका हुन् ।