स्वस्थ, व्यस्त अनि मस्त जीवनका लागि मर्निङवाक : डा खत्री [अन्तर्वार्ता]

तुलसीपुरस्थित तुलसी अस्पतालका सञ्चालक तथा बालरोग विशेषज्ञ डा किशोर खत्री यतिबेला मर्निङ वाकका कारण थप चर्चामा छन् । कहिले तुलसीपुरदेखि अमिलियासम्मको मर्निङवाक त कहिले तुलसीपुरदेखि दुधराससम्मै पैदल हिडेर चर्चामा आउने गरेका डा खत्री घोराहीको बयलडाँडा चौतारी युवा क्लबसँग पनि जोडिएका छन् । त्यसो त डा खत्री अहिले बिहानीको योगा अभ्यासमा समेत बाँधिएका भिडियो भाइरल भएका छन् ।

जिल्लाका कुना कुनामा रहेका दुर्गम एवम् विकट बस्तीमै पुगेर बच्चाको निःशुल्क उपचार गरेर चर्चामा आएका डा खत्री कहिले काहीँ तुलसीपुर उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयमा ‘वान डे इन क्लासरुम’ मा पनि पुग्न भ्याएका छन् । डा खत्रीकै एकल पहलमा आज अर्थात फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर मिनी वाकाथन कन्टेस्ट समेत आयोजना गर्दै छन् । मर्निङ वाकलगायत डा खत्रीका अन्य सामाजिक अभियानसँग केन्द्रित रहेर गोरक्षकर्मी खेमराज रिजालले बालरोग विशेषज्ञ डा किशोर खत्रीसँग गरेका कुराकानीको सारसंक्षेप ।

स्वागत छ तपाईलाई गोरक्ष सातावार्तामा ।

धन्यवाद, तयाइ एवम् तपाई कार्यरत लोकप्रिय गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई । मलाई समसामयिक विषयमा केही कुरा राख्ने स्थान उपलब्ध गराउनु भएकोमा ।

मर्निङवाकमा विभिन्न समूहसँग जोडिएर स्वास्थ्यका विषयमा अभियान चलाउनु भएको तपाईले आज तुलसीपुरमा वाकाथन कन्टेष्टको आयोजना गर्दै हुनुहुन्छ, के हो यसको उद्देश्य ?

खासमा यो कन्टेष्ट मानव स्वास्थ्यसँग नै जोडिएको छ । हामी जब बिहानैदेखि चलायमान हुन्छौँ, यसले हाम्रो शरीरलाई दिनभरी आवश्यक पर्ने उर्जा दिन्छ । शरीरमा विभिन्न अशल हार्मोनको वृद्धि हुन्छ । खराब र मानव शरीरलाई नचाहिले तत्व पसिनाको माध्यमबाट शरीर बाहिर निस्कन्छन् । हामी अल्छि जीवन जिउँदा जसरी दिर्घरोगको शिकार बन्न सक्छौँ, व्यस्त जीवन र परिश्रमयुक्त दैनिकीले हामीमा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन जान्छ ।

मर्निङवाक यिनै दीर्घरोगको मुक्तिका लागि पनि हो । जस्तै सुगर प्रेसर र ग्याष्टिक नभएका कुनै मानिस भेटिन छाडिसकेका छन् । यसको प्रमुख कारण भनेकै अल्छिपनानै हो । जब हामी मर्निङवाकलाई दैनिकीमा परिणत गरिदिन्छौँ, हामी शारीरिक रूपमा मात्र नभएर मानसिक रूपमा पनि तन्तुरुस्त रहन सक्छौँ । यो सन्देश आम नागरिकलाई पु¥याउन मैले मर्निङवाकलाई माध्यम बनाएको छु । अहिले त मर्निङ वाकरको सामाजिक सञ्जालमा ग्रुप नै बनेको छ । यो अभियानमा बालबालिकादेखि महिलासम्म, युवादेखि वृद्धवृद्धासम्म पनि जोडिनु भएको छ । हो यही सचेतना आम नागरिकमा प्रवाह गर्न पनि अहिले मैले वाकाथन कन्टेस्टको आयोजना गरिएको हो ।

वाकाथन प्रतियोगिताका लागि के कस्तो तयारी भएको छ ?

जब म मर्निङवाकको अभियानमा सक्रिय बन्दै गएँ, अहिले मसँग राजनीतिक नेता जोडिनुभएको छ । जनप्रतिनिधिहरू जोडिनुभएको छ । सुरक्षा अधिकारी जोडिनुभएको छ । अनि स्वयम् चिकित्सकहरू पनि जोडिनुभएको छ । यसलाई हामीले स्वास्थ्य सचेतनासँग जोड्न चाहेका छौँ । वाकाथन कन्टेस्टमा साथ दिन महानायक राजेश हमाल पनि आउँदै हुनुहुन्छ । अन्तर्राष्ट्रिय एथलेटिक्स खेलाडी हरि रोका पनि आउँदै हुनुहुन्छ । त्यसैगरी आजको अभियानमा स्थानीय सरकारका प्रतिनिधि, प्रदेश सरकारका प्रतिनिधि, सरकारी कार्यालयका कर्मचारीज्यु पनि जोडिँदै हुनुहुन्छ । हाम्रो यो अभियान खासमा तुलसीपुरको विरेन्द्रचोकदेखि बिहानै सुरु हुनेछ ।

त्यहाँ जम्मा भएर हामी करिब ७ बजे तुलसीपुर—अमिलिया सडक हुँदै टरिगाउँ एयरपोर्ट पुग्ने छौँ । वाकाथनको मतलव हामी बेजोडले दौडने छैनौँ । किनकि यो दौड स्याम्वोलिक मात्रै हो । एयरपोर्टमा पुगेपछि त्यहाँ सामान्य तया स्वास्थ्य चर्चा हुनेछ । मर्निङवाकका उपलब्धी, फाइदाहरू लगायतका विषयमा हामीले चर्चा गर्ने छौँ । साथै यो अभियान सामाजिक उद्देश्यसँग पनि जोडिएको छ । हामीले एयरपोर्टमै पुग्नुको अर्थ कालोपत्रे भएको एयरपोर्टको स्तरोन्नतिका लागि नैतिक दबाब पनि हुने छ भन्ने मलाई लाग्छ । यो महाँ अभियानमा सहभागि हुन मैले सम्पूर्ण जिल्लाबासीलाई पनि आह्वान गर्दछु । स्वास्थ्य छ र पो सबथोक छ, स्वास्थ्यनै खराव छ भने अरू सबै गोलमाल हुन्छ । त्यसैले पनि यो अभियानमा अधिक्तमको अर्थपूर्ण सहभागिता रहने पनि मैले अपेक्षा गरेको छु ।

कहिले स्वास्थ्य शिविर गर्न छिल्लीकोट पुग्नुहुन्छ, कहिले मर्निङवाक गर्दै नारायणपुर र घोराहीसम्म पुग्नुहुन्छ, एउटै लोकेशनमा गरे हुन्न र ?

हो, एउटै लोकेशनमा गरे पनि हुने हो तर मैले यसलाई स्वास्थ्य सचेतना अभियानका रूपमा लिएको छ । यो एउटा सोसल कनेक्टिभिटिका लागि पनि हो । समाजका हरेक तह र तप्कासँग जोडिनका लागि पनि मैले फरक–फरक स्थानमा मर्निङवाकको गन्तव्य बनाउँदै छु । अहिले मसँग धेरै साथीभाइ, बुवाआमा तथा सामाजिक अभियन्ता पनि जोडिनुभएको छ । मेरो अभियानलाई सबैले होस्टेमा हैसे गरिदिनुभएको छ । यसले मलाई समस्त जिल्लाबासीसँग जोड्न पनि मद्दत पुगेको छ । यही कारण मैले फरक–फरक लोकेशनमा यो अभियान सञ्चालन गर्दै आएको छु ।

सोसल कनेक्टिभिटीका कुरा उठाउनु भो, कतै यो सबै मिसन चौरासीका लागि त होइन ?

होइन, म चौरासीको चुनावमा जनप्रतिनिधि बन्नका लागि यी सबथोक गरेको होइन । मलाई मेरै अस्पताललाई चलाउनु छ । स्कुललाई रन गर्नु छ । बिरामीको स्वास्थ्य उपचार गर्नु छ । राजनीतिमा आउन यसो गर्देछ कि भन्ने कसैलाई भान परेको भए यसलाई यही अर्थमा बुझिदिनुहोला । मैले हालसालै मात्र पूर्व प्रधानमन्त्री प्रचण्डलाई पनि भेटे, पूर्व प्रधानमन्त्री देउवालाई पनि भेटे । पूर्व राजा दाङ आउदा पनि मेरो सद्भाव नै थियो । तर म कुनै पनि राजनीतिक दलका नेतासँग नजिक हुनुको अर्थ टिकट माग्न भने होइन, किनकि मलाई जनप्रतिनिधि बन्नु नै छैन । खाली जिल्लाको समग्र विकासका लागि उहाँहरूलाई ध्यानाकर्षण गराउन मात्रै मेरो उद्देश्य हो । मिशन चौरासी त कसैको व्यक्तिगत अनुमान मात्रै हो जस्तो लाग्छ । मेरो अभियान त खाली समाज बदल्न कै लागि मात्र हो । म राजनीतिकर्मी होइन, सामाजिक अभियन्ता चाहीँ भन्न मिल्ला ।

समाज बदल्ने कुरा गर्नुभो । समाज बदल्ने कुरा त सोझै राजनीतिसँग जोडिएको हँुदैन र ?

 हो, सबथोक अन्तमा गएर राजनीतिमै ठोकिन्छ । शिक्षामा सुधार, स्वास्थ्यमा सुधार, भौतिक पूर्वाधारमा सुधार, मानव संशोधनको विकासका कुरा, लैगिक हिंसा न्यूनीकरणका कुरा, बालविवाह रोकथामका कुरा, बालश्रम मुक्तिका कुरा सबै राजनीतिसँगै जोडिएका हुन्छन् तर यी सबैमा सुधार ल्याउन राजनेता नै बन्नु पर्दछ भन्ने छैन, राजनेतालाई गाइड लाईन गरेर पनि त समाज बदल्न सकिन्छ नि । आग्रह गरेर पनि त समाज बदल्ने अभ्यास गर्न सकिन्छ नि । यो अर्थमा पनि म एउटा असल सामाजिक अभियन्ता बन्न रुचाउने मान्छे हो ।

तपाई त अहिले जिल्लामै नाम चलेको बालरोग विशेषज्ञ हुनुहुन्छ, अस्पतालको स्तरवृद्धि गर्न छाडेर किन यस्तो अभियानलाई रोज्नु भो ?

हो, म बालरोग विशेषज्ञ भएर पनि मैले सरकारी जागिर खाने अठोट गरिन । आफ्नै क्षेत्रमा आफै अस्पताल खोलेर बालबालिकाको उपचार गर्ने अठोटका साथ तुलसीपुरमा आफ्नै घरमा अस्पताल सञ्चालनमा ल्याएको छ । यसको मतलब मैले धेरै पैसा कमाउन अस्पताल खोलेको होइन । जिल्लामा त्यो बेला कुनै पनि बालरोग विशेषज्ञ उपलब्ध हुने अवस्था थिएन् । त्यसकारण पनि मैले जिल्लामै बसेर बालबालिकाको उपचार गर्ने निचोड निकाले ।

अनि अस्पताल चल्दै जाँंदा बिरामीको उपचार गर्ने मात्र होइन, रोगै लाग्न नदिने अवस्था पनि सिर्जना गर्न सकिन्छ भनेर म पछिल्लो समयमा सामुदायिक विद्यालयको कक्षाकोठादेखि दुरदराजका गाउँमा पुगेर यो सचेतना अभियानमा जागरुक बनेको छु । मलाई लाग्छ, यसले पनि समाजमा केही परिवर्तन ल्याउन सक्छ । मानिसलाई दीर्घरोगको शिकार हुनबाट जोगाउछ भनेरै पनि यो अभियानलाई मैले प्राथमिकतामा राखेको हुँ । के नै बिग्रन्छ र बिहानीको तीन घण्टा समय दिएर । यो नगरे त सुतेरै जाने समय पनि त हो त्यो । त्यसैले व्यस्त जीवन, स्वस्थ जीवन र मस्त जीवनका लागि मेरो अभियान हो ।