यसपालि चारलेन, अर्को वर्ष एयरपोर्ट : प्रधानमन्त्री ओली

घोराहीमा एमालेको जनसभा
गोरक्ष समाचारदाता
दाङ, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास गर्दै आर्थिक रूपमा जनतालाई सम्पन्न बनाउने सङ्कल्प वर्तमान सरकारले पूरा गर्ने बताएका छन् । त्यसै सन्दर्भमा यो वर्ष दाङबासीलाइ घोराही–तुलसीपुर चारलेन सडक दिने र अर्को वर्ष टरिगाउँ विमानस्थलको स्तरोन्नतिको आश्वासन पनि दिएका छन् । राजनीतिभन्दा बढी विकास बोलेका ओलीले मुलुकको मुहार फेर्ने भनेकै एमाले हो भने ।

‘मैले देउखुरीदेखि तुलसीपुरसम्म सबै बुझेको छुँ र तीनै स्थानमा जाने पनि छु, यसपालि हामीले दुई उपमहानगरपालिका जोड्ने घोराही–तुलसीपुर चारलेनलाई बजेट सुनिश्चितता ग¥यौँ, अर्को वर्ष टरिगाउँ एयरपोर्टको पालो’, नेकपा एमाले दाङ जिल्ला कमिटीले घोराहीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने । दाङ जिल्ला त्यसै पनि सम्भावना बोकेको जिल्ला भएको भन्दै स्वास्थ्य क्षेत्रमा विशेषज्ञ सेवाका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप विशेषज्ञ सेवासहितका कार्यक्रम सरकारले अघि सारेको अभिव्यक्ति दिए । देशको विकास गर्दै जनतालाई शान्ति र स्थायित्वको प्रत्याभूति दिलाउने काम वर्तमान सरकारको भएको भन्दै प्रधानमन्त्री ओलीले अध्यादेश जसरी पनि पारित हुने बताए ।

देश बदल्ने कामको नेतृत्व गर्ने जिम्मेवारी आफ्नो भएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘देश विकास गर्ने जिम्मेवारी मेरो हो । वर्तमान सरकारले विकास गर्छ, यसमा कसैले अवरोध गर्न सक्दैन ।’ उनले देशको विकास गर्नका लागि अध्यादेश ल्याएको भन्दै अध्यादेश कसैले रोक्न नमिल्ने उनको भनाइ छ । उनले अध्यादेश ल्याउनुमा कुनै शङ्का नगर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले देश र लोकतन्त्रको रक्षाको लागि कांग्रेस र नेकपा एमालेसहित दलहरू मिलेर वर्तमान सरकार बनाएको भन्दै यो सरकारले बाँकी तीन वर्ष पूरै काम गर्ने बताए । नेकपा एमालेका अध्यक्ष समेत रहेका अध्यक्ष ओलीले देशको विकास, स्थायित्व र लोकतन्त्रको रक्षाका लागि मुख्य दुई शक्ति मिलेर सरकार बनाएको भन्दै सरकार कसैले भन्दैमा नढल्ने स्पष्ट पारे ।

‘यो सरकार २०८४ सम्म रहन्छ, कसैले भन्दैमा ढल्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘हामीसँग स्पष्ट बहुमत छ, त्यसकारण सरकार ढल्दैन र २०८४ सम्म कांग्रेस एमालेको नेतृत्वमा सरकार निरन्तरता पाउने छ ।’ उनले दुई दलहरूको उच्च समझदारी अनुसार अहिले आफूले सरकारको नेतृत्व गरिरहेको बताए । आफ्नो नेतृत्वमा सरकार बनेपछि देश समृद्धतर्फ गएको प्रधानमन्त्री ओलीको दाबी थियो । देशलाई बदल्ने शक्ति एमालेबाहेक कसैमा नभएको भन्दै प्रधानमन्त्री ओलीले दाङको समग्र विकासको लागि आफू गम्भीर रहेको बताए । एमालेको गन्तव्य सुखी नेपाली, समृद्ध नेपाल बनाउने भएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘देशलाई समृद्ध र जनतालाई सुखी बनाउने एमालेको गन्तव्य हो, गन्तव्यबाट एमाले विचलित हुँदैन । तपाईँहरू ढुक्क हुनुहोस्, हामीले देशलाई समृद्ध बनाउँछौँ ।’

उनले विगतमा आपूmले सुरुङमार्ग, रेल, पानीजहाज चलाउने कुरा गर्दा मानिस हाँस्ने र गिज्याउने गरे पनि अहिले ती काम भइरहँदा आचश्र्य पर्ने गरेको बताए । ‘अहिलेको सरकार सुन्दर नेपाल, सुखी नेपाली बनाउनको लागि दृढता र सङ्कल्पसहित लागिपरेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘देशको समग्र विकास, उन्नतिसँगै दाङको विकासालाई विशेष ध्यानमा राखिएको छ ।’ अहिले मदन भण्डारी राजमार्ग योजना अनुसार दाङको घोराही–तुलसीपुर चारलेन सडक चाँडै स्तरोन्नतिको काम हुने बताए ।

यसैगरी उनले तुलसीपुर एयरपोर्टको विकास र विस्तारका लागि आगामी वर्षको बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै आपूmले भनेको पूरा गर्ने तर नहुने काम गरेर जनतालाई आश्वासन नबाँड्ने उनको भनाइ छ । तुलसीपुर एयरपोर्ट दाङका लागि मात्र नभएर साविक राप्ती क्षेत्रका लागि भएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘तुलसीपुरमा रहेको एयरपोर्टको विकास हुन आवश्यक छ तर अहिले बजेट छैन, आगामी वर्ष बजेटको व्यवस्था गरेर धावनमार्ग विस्तारको कामलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’

प्रधानमन्त्री ओलीले दाङ उपत्याका र देउखुरी उपत्यकालाई जोड्नका लागि सुरुङ मार्ग बनाउने आफ्नो दीर्घकालीन योजना रहेको बताए । दाङको विकासका लागि सुरुङमार्ग, कृषि क्षेत्रको विकासका लागि सिँचाइ योजनामा आगामी वर्षमा विशेष ध्यान दिइने बताए । कृषि क्षेत्रको विकासका लागि सिँचाइको अभाव हुँदा ठुलो उपत्यका रूपमा रहेको दाङ पछाडि परेको भन्दै पानी संरक्षणका लागि हाइड्याम निर्माणसँगै कृत्रिम जलाशय निर्माण गरेर घोराहीले राम्रो काम गरेको भन्दै प्रशंसा व्यक्त गरे ।

भूमि विधेयक पास हुनेः महासचिव पोख्रेल

यसैगरी नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भूमिसम्बन्धी विधेयकसहित सबै विधेयक संसद् बैठकबाट पारित हुने बताए । भूमिसम्बन्धी विधेयक संसद्बाट पास गरेर सुकुम्बासी, भूमहीन तथा दलितको समस्या समाधान गर्ने उनको भनाइ छ । सबै दलले सुकुम्बासी, भूमिहीन तथा दलितलाई भूमि उपलब्ध गराउने प्रतिबद्धता गरेकाले कुनै पनि हालतमा भूमिसम्बन्धी विधेयक पास गर्नुपर्ने बाध्यता भएको उनले बताए ।

यसैगरी महासचिव पोखरेलले मुक्त कमैया, कमलरीको समस्या सम्बोधन गरेर उचित न्याय गर्ने तयारीमा सरकार रहेको बताए । यसैगरी अहिलेको सरकारले दाङको समग्र विकासलाई अगाडि बढाउने महासचिव पोख्रेलले बताए । दाङको समग्र विकास र समृद्धिका लागि गुरुयोजना बनाएर अगाडि बढिरहेको उनले बताए । दाङको घोराही–तुलसीपुर फोरलेनको सडक निर्माणको काम अघि बढिसकेकाले अबको केही वर्षमा दाङले विकासको मुहार फेरेको देख्ने विश्वास व्यक्त गरे ।

नेकपा एमाले दाङका जिल्ला अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, पोलिटव्युरो सदस्य नरुलाल चौधरीलगायतले सम्बोधन गरेका थिए । सभा अघि घोराहीमा बाजागाजासहित ¥याली समेत गरिएको थियो । कार्यक्रममा नेत्रलाल अभागी स्मृति ग्रन्थको प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष ओलीले विमोचन गरेका थिए । नेत्रलाल अभागी प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तकको सभामा ओलीले विमोचन गरेका हुन् । कार्यक्रमको सहजीकरण जिल्ला सचिव श्याम डाँगीले गरेका थिए ।

सङ्घीयता, सहकार्य र कानूनी समन्वयमा जोड

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार लुम्बिनी प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै सङ्घीयताले विकासको ढोका खोलेको र तीनै तहका सरकारबिच सहकार्य आवश्यक रहेकोमा जोड दिए । पवित्र भूमि लुम्बिनीमा उपस्थित हुन पाउँदा अत्यन्तै हर्षित भएको बताए । उनले भगवान् गौतम बुद्धको जन्मस्थल तथा अन्य ऐतिहासिक र धार्मिक स्थलले यो प्रदेशलाई विशेष बनाएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा आर्थिक रूपमा समृद्ध बन्दै गएको र यहाँको राजधानी सफलतापूर्वक कार्यान्वयनमा आएको बताए । ‘सङ्घीयताले विकास सम्भव छ भन्ने उदाहरण लुम्बिनी प्रदेशले प्रस्तुत गरिरहेको छ’, उनले भने । हालै निर्माण सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल, फराकिलो सडक तथा पूर्वाधार विकासलाई प्रदेशको प्रगतिको सूचकको रूपमा व्याख्या गरे । साथै सिद्धबाबा सुरुङ मार्गलगायतका योजनाले यातायात सहज बनाउने बताउँदै रामपुर–कपुरकोट सडक निर्माणमा पनि ध्यान दिइएको जानकारी गराए । प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशलाई कृषि, पर्यटन र औद्योगिक केन्द्रका रूपमा अघि बढाउने योजनाबारे चर्चा गर्दै, मानव–केन्द्रित विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । ‘यदि मानव जीवन छैन भने विकासको कुनै अर्थ रहँदैन’, उनले भने ।

सिँचाइ आयोजना सफल बनाउँदै कृषिलाई प्रवर्धन गर्नुपर्ने र वातावरण संरक्षणसँगै विकासका काम अघि बढ्नुपर्नेमा उनले जोड दिए । प्रदेशको समग्र विकासका लागि केन्द्र सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले प्रदेश सरकारले एक हजार दुई सय शै्ययाको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण सुरु गरेकोमा प्रशंसा व्यक्त गरे । यो अस्पताल भवन प्रदेश सरकारको छ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न लागेको पहिलो ठुलो पूर्वाधार हो तर केन्द्र सरकारले एक हजार श्ययाको अस्पताल पूर्णरूपमा सञ्चालन गर्न नसकेको उल्लेख गर्दै, संघ, प्रदेश र स्थानीय सरकारबिच सहकार्य आवश्यक रहेको बताए । ‘हामीले मिलेर यी स्वास्थ्य संस्थाहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्छ’, प्रधानमन्त्रीले भने, ‘सहकार्यबाट मात्र नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ ।’

प्रधानमन्त्री ओलीले प्रविधिको सही सदुपयोगमा पनि जोड दिए । उनले भने, ‘मोबाइलमा गरेका कुरा गोप्य हुँदैनन् । अरूले बनाएको चिज हो । डेटा अन्त जान्छ । प्रविधिको धेरै विकास भएको छ । ठिक सदुपयोग गर्न सक्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका चुनौतीलाई पार गर्न तीनै तहका सरकारबिच समन्वय र सहकार्य अपरिहार्य रहेकोमा जोड दिए । ‘हामी सबैले मिलेर मात्र समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सक्छौँ’, उनले भने । उनले प्रदेशहरूले कानूनी संरचना निर्माण गर्दा सङ्घीय सरकारद्वारा स्थापित मौजुदा कानूनहरूलाई आधार मानेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘संघ सरकारले बनाएका मौजुदा कानूनमा टेकेर प्रदेशहरूले विकास गर्नुपर्छ’, प्रधानमन्त्रीले भने, ‘प्रदेशहरूले आफैँ कानून बनाउँदा धेरै कानून संशोधन गर्नुपर्ने अवस्था आउन सक्छ, त्यसैले मौजुदा कानूनहरूलाई आधार मानेर अघि बढ्न आग्रह गर्दछु ।’

त्यसैगरी दाङबाट जाँदाजाँदै प्रधानमन्त्री ओलीको हेलिकोप्टर तुलसीपुरको टरिगाउँ विमानस्थलमा ल्यान्ड भयो । उनको स्वागत गर्न एयरपोर्टका अभिलासीदेखि पार्टी कार्यकर्ता र प्रहरी प्रशासनका अधिकारी त्यहाँ पुगिसकेका थिए । प्रधानमन्त्री ओलीले सरसर्ती एयरपोर्ट हेरे तर त्यहाँ केही बोलेनन् । यो विषयमा बोल्ने जति घोराहीमै बोलिसकेका थिए । त्यसपछि प्रधानमन्त्री ओली सोझै कोमल रिसोर्ट उद्घाटन गरे । जुन महिला नेतृ तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीको स्वामित्वको थियो । साझ अबेर हुनै लाग्दा उनले कोमल रिसोर्टमा एक कप व्याल्याक टी र मकैका फुला मात्रै लिए अनि टरिगाउँ विमानस्थलबाटै काठमाडौं लाग्यो प्रधानमन्त्रीको हेलिकोप्टर ।