शीर्ष नेताको दाङ भ्रमणः के छन् अपेक्षा

खेमराज रिजाल
दाङ, ५ फागुन । आज प्रधानमन्त्री केपी शर्मा ओली दाङ आउँदै छन् । ओलीले नेकपा एमालेले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने छन् । घोराहीमा आयोजित आमसभालाई सम्बोधन गर्नुअघि उनले लुम्बिनी प्रदेशसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसअघि माघ महिनाको २६ र २७ गते पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाङ भ्रमण गरे । उनले दाङमा आयोजना भएको थारू समुदायको वडघर भलमन्सा सम्मेलनलाई सम्बोधन गरे । साथै घोराहीमा नेपाली कांग्रेसले आयोजना गरेको नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई पनि सम्बोधन गरे । राजनीति नबोलेका देउवाले दाङको समृद्धिको आधारलाई मात्रै सम्बोधन गरे । उनको अभिव्यक्ति दाङको टरिगाउँ एयरपोर्टको स्तरोन्नति, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुणस्तरीय स्वास्थ्य सेवा र घोराही—तुलसीपुर सडकको स्तरोन्नतिमा मात्रै केन्द्रित रह्यो । यस बाहेक खास राजनीतिक मन्तव्य उनले व्यक्त गरेनन् ।

देउवा आउनुभन्दा ठिक सोह्र दिन अघि पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दाङलाई दुई दिनसम्म सम्बोधन गरे । पार्टीले तुलसीपुरमा आयोजना गरेको जिल्लास्तरीय आमसभा र घोराहीमा पार्टीको नगर अधिवेशनलाई सम्बोधन गरे । केही राजनीति मिश्रित मन्तव्य दिएका प्रचण्डले पनि हवाई सेवाको नियमिततालाई पार्टीले प्राथमिकतामै राखेको बताए । ‘यस अघि यही कै नेताको क्षेत्रीयताको विवादले एयरपोर्ट ओझेलमा प¥र्या, अब टरिगाउँ विमानस्थलको स्तरोन्नति हुन्छ नै’ दाङको समृद्धिका सन्दर्भमा तुलसीपुरमा आयोजित सभामा प्रचण्डले बोलेको शब्द यही नै हो ।

त्यसो त पूर्व राजा ज्ञानेन्द्रले पनि गत मङ्सिर २० गते दाङको तुलसीपुरदेखि घोराहीसम्म कै भ्रमण सम्पन्न गरे । सुन्ने तर नबोल्ने पूर्व राजाहरूकै शैलीमा उनको भ्रमण धार्मिक क्षेत्र केन्द्रित थियो । तुलसीपुरमा नागरिक अभिनन्दन र घोराहीमा पाण्डवेश्वरी धामको दर्शन पनि उनी दाङको भ्रमण सकाएर फर्के । खासमा उनको भ्रमण भने मेरो पक्षमा के कस्तो जनसहभागिता देखिन्छ भनेर बुझ्नु मात्रै थियो ।

यी शीर्ष नेताहरूको दाङ भ्रमण भइरहदा दाङबासी पनि आशावादी बन्नु स्वाभाविक हो । तर सबै ठुला दलका नेताहरूको रोजाइमा दाङ भ्रमण एकै पटक जुर्नुलाई दाङबासीले नजिकबाट नियालिरहेका छन् । अनि आशावादी पनि भएका छन् । अब केही हुन्छ कि भन्ने भावना दाङबासीमा जागृत पनि भएको छ । त्यसो त मुलुकमा सङ्घीय राजधानी कहाँ राख्ने भन्ने बहस चलिरहेकै बेला नेपाल मज्दुर किसान पार्टीका नेता नारायणमान विजुक्षे (रोहित) ले संसदमै दाङ प्रदेशको स्थायी राजधानीका लागि मात्र होइन नेपालको सङ्घीय राजधानीकै लागि उपयुक्त छ भनेर अभिव्यक्ति दिइरहँदा राजधानीको बहसमा दाङ पुनः जोडिएको थियो ।

यी शीर्ष नेताहरूले दाङ भ्रमण गरिरहँदा यसले समग्र राप्तीलाई नै चलायमान बनाएको देखिन्छ । भ्रमण दाङमा तय भए पनि यसमा समग्र राप्तीबासी जोडिने शीर्ष नेताहरूको अपेक्षा पनि रहने एकजना राजनीतिक विश्लेषकले बताए । ‘दाङलाई बुझ्नु भनेको समग्र राप्तीको राजनीतिलाई बुझ्नु पनि हो, त्यसैले यहाँ शीर्ष नेताहरूको भ्रमण केन्द्रित भएको देखिन्छ’, ती विश्लेषकले भने । किनकि दाङ जिल्ला चौधरी समुदायको बसोबासको बाहुल्यता भएको क्षेत्र हुँदा हँुदै पनि पछिल्लो समयमा देखिएको बढ्दो बसाइसराइले सम्पूर्ण राप्ती नै दाङ हो । अर्थात दाङ राप्तीको समीश्रण पनि हो ।

शीर्ष नेताको दाङ भ्रमण भइरहँदा दाङबासीका धेरै ठुला अपेक्षा छैनन् । ‘हाम्रो तिव्र आकांक्षा भनेको नियमित हवाई सेवा हो, यति मात्रै सम्बोधन हुनसके हामी समग्र दाङको समृद्धिको आधार रेखा निर्माण गर्न सक्दछौँ’, तुलसीपुर क्षेत्रका पुराना नेता तथा समाजसेवी गोपिनाथ योगी भन्छन् । जबसम्म यी शीर्ष नेताले हवाईजहाजबाट मात्रै दाङको भ्रमण गरिरहने छन्, भ्रमण सार्थक हुने छैन भन्ने पनि उनको अभिव्यक्ति थियो । संयोग वर्तमान प्रधानमन्त्री दाङ आउदा दुवै पटक हवाईजहाज प्रयोग गर्नु परेको छ ।

यसअघि देउखुरीमा सिसहिनिया पुलको उद्घाटन गर्न पनि तत्कालीन प्रधानमन्त्री ओली हवाईजहाजबाटै आएका थिए । कांग्रेस नेता शेरबहादुर देउवाले पनि यो वर्षको दाङ भ्रमणमा हवाईजहाज प्रयोग गर्नुप¥यो । कारण टरिगाउँको विमानस्थल उच्च पदस्त नेताको भ्रमणका लागि उपयुक्त र नियमित छैन । दाङ लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयन भइसक्दा पनि एउटा पनि नियमित हवाई सेवा नहुनु दुर्भाग्यको कुरा भएको पनि स्थानीयले बताएका छन् ।

दाङको अर्को अपेक्षा भनेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुविधा सम्पन्न अस्पतालसँगै सबै रोगका विशेषज्ञ सेवाको उपलब्धता हो । त्यसका लागि सबैभन्दा पहिले चार सय बेडको अस्पताल भवन चाहिएको छ । त्यसो त प्रधानमन्त्री ओली दाङ आउदा प्रतिष्ठानमा निर्माण हुने चार सय बेडको अस्पतालको शिलान्यास गर्ने पनि तयारी थियो तर अस्पताल निर्माणको फाइल स्रोत सुनिश्चितता नहुँदा अर्थमन्त्रालय मै रोकिएको छ । यसमा पनि शीर्ष नेताले एक पटक गम्भिरतापूर्वक सोच्न दाङबासीको आग्रह छ ।

घोराही—तुलसीपुर चारलेनको भर्खरै ठेक्का आह्वान भएको छ । यसले दाङबासीलाई पुनः अर्को पटक हर्षित त बनाएको छ तर यसको ठेक्का स्रोत सम्पन्न निर्माण कम्पनीलाई दिएर तोकिएको समयमै काम गराउन पनि सरकारी पक्षबाट निरन्तर खबरदारीको पनि अपेक्षा दाङबासीको हो । किनकि यसअघि पनि चारलेनको ठेक्का भएर काम भइरहेकै समयमा अनेकौ विवादका कारण तोकिएको समयमा निर्माण कम्पनीले काम सम्पन्न गर्न सकेन । ठेक्का हत्याउनै राजनीतिक बल प्रयोग हुँदा कमशल खालका निर्माण व्यवसायीको हातमा ठेक्का गयो । दुर्भाग्य सात प्रतिशत काम मात्रै भएको अवस्थामा ठेक्का रद्द भयो । ‘अब यस्तो कहिल्यै नहोस्’, ठेक्का दिँदा राम्रोसँग मूल्याङ्कन गरेर दिइयोस्, यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमाल भन्छन् । शीर्ष नेताको भ्रमणबाट दाङबासीको यति मात्रै अपेक्षा छ । त्यसपछिका नियमित प्रक्रिया त छँदै छन् ।

कुनै पनि जिल्लालाई विकासमा फड्को मार्न अन्ततः शीर्ष राजनेताको पहँुच आवश्यक पर्छनै । यसका लागि यहाँका जनप्रतिनिधिले केन्द्रमा पकड स्थापित गर्न आवश्यक छ । पश्चिम दाङको भमकेका झग्गुप्रसाद उपाध्याय तत्कालीन राजा महेन्द्रसँग निकटता हुँदैनथ्यो भने टरिगाउँ विमानस्थल नै सायद बन्ने थिएन । झग्गुकै अठोटले नै विसं २०११ सालमा तुलसीपुरको टरिगाउँमा रहेको घासे मैदानको विमानस्थलमा पहिलो पटक तत्कालीन शाही नेपाल वायु सेवा निगमले रसियामा निर्मित हवाईजहाज ओरालेको थियो । झग्गुप्रसादको अठोट थियो, टरिगाउँमा हवाईजहाज नउतार्दासम्म दारी नकाट्ने तर अहिले एयरपोर्ट स्तरवृद्धिलाई यसरी अठोट लिने कुनै राजनेता छैनन् । अब शीर्ष नेताको भ्रमण पछि दाङबासी हवाई सेवामा पनि ढुक्क हुने अपेक्षा गरेका छन् ।

राजनीतिको रूप फेरिएको छ । अब नागरिक नेताको मन्तव्य सुन्न मञ्चमा र संगठन विस्तार गर्न झुपडीसम्म पुग्ने छैनन् । राजनीतिलाई अब सोझै विकाससँग जोडिनु पर्दछ भन्ने नागरिक चाहना छ । नागरिकले दुई उपमहानगरपालिका जोड्ने धुलाम्मे सडकबाट मुक्ति चाहेका छन् । टरिगाउँ विमानस्थलबाट नियमित हवाई सेवा चाहेका छन् । अनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हृदयघातको उपचार चाहेका छन् ।