लमहीमा पाँच कार्यविधि पारित

टेकबहादुर पुन
देउखुरी, ५ फागुन । लमही नगरपालिकाको १६औँ नगरसभा सम्पन्न भएको छ । आइतवार सम्पन्न नगरसभाले विभिन्न निर्णय गर्दै कार्यविधि अनुमोदन गरेको छ । नगरसभाले गरेका निर्णय नगरसभा पश्चात् पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो ।

पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराउँदै नगरपालिकाका प्रबक्ता मोहन गिरीले एम्बुलेन्स सेवा सञ्चालन कार्यविधि, २०८१ पारित भएको बताए । यो सहित नगरसभाले पाँच् कार्यविधि पारित गरेको छ । ज्येष्ठ नागरिकको हक अधिकार र सम्मानको संरक्षणका सम्बन्धमा लमही नगरपालिकाद्वारा जारी भएको सरोकारवालाले पालना गर्नु पर्ने आचारसंहिता, २०८१ पारित भएको छ । त्यस्तै लमही नगरपालिका पदाधिकारी तथा कर्मचारीको सामुहिक अध्ययन अवलोकन भ्रमणसम्बन्धी कार्यविधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको खाजा तथा सञ्चार खर्च व्यवस्थापनसम्बन्धी कार्यविधि र पालिकाको शैक्षिक छात्रवृत्ति व्यवस्थापनसम्बन्धी कार्यविधि पनि सभाले पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०८१÷०८२ को प्रगती प्रतिवेदनसहित केही वार्षिक योजना तथा कार्यक्रम संशोधन गरेको प्रबक्ता मोहन गिरीले जानकारी दिए । पारित भएका कार्यविधिले पालिकाको काम कारबाहीमा सहजता थप्ने उनले बताए । उनले प्रगती प्रतिवेदन सुनाउँदै २०८१ को माग मसान्तसम्म आन्तरिक आयतर्फ दुई करोड, ४७ लाख, शून्य हजार एक सय तीन रुपैयाँ रहेको र चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट कुल ३९.२२ प्रतिशत खर्च भएको जानकारी दिए । साथै सभाले न्यायिक समितिको चालु आर्थिक वर्ष २०८१÷०८२ को अर्धवार्षिक प्रगती प्रतिवेदन समेत पारित गरेको छ ।

नगरसभा नगरप्रमुख जोगराज चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो । नगर प्रमुख चौधरीले कार्यविधि पारितले नगरपालिकाको हुन नसकेका काम तिव्र रूपले अगाडि बढ्ने बताए । नगरपालिका समृद्धिको लागि आफूहरू लागिपरेको र कुनै कार्यविधि बनिन सक्दा काममा केही ढिला हुने उनको भनाइ छ । अब भने कामहरू कार्यविधि अनुसार छिटो छरितो काम हुने बताए । सभामा प्रमुख प्रशासकीय अधिकृतसहित सम्पूर्ण कर्मचारीसहित सम्पूर्ण कार्यपालिका सदस्यहरूको उपस्थिति थियो ।