आवश्यकताले परिवर्तनको ढोका खुल्छ

के.पी. सुवेदी
युवा जनशक्ति आजभोलि दिनदिनै देशबाट बाहिरिँदै गर्दा विभिन्न तरिकाले यसको व्याख्या विश्लेषण हुने गरेको छ । यसैलाई आफ्नो मनगढन्ते तर्क गर्दै राजनीतिक रोटी सेक्नेहरुको सङ्ख्या पनि निकै ठुलो देखिन्छ । नयाँ विकल्प बन्ने सपनाको व्यापार गर्नेको सङ्ख्या पनि कम छैन तर नयाँ दृष्टिकोण र कार्यपद्धति सम्बन्धमा स्पष्ट मार्गचित्र नयाँहरुसँग केही छैन ।
युवाहरुलाई बिदेसिनबाट रोक्ने योजनामा कसैसँग यसरी गर्नुपर्छ भन्ने नयाँ तरिकाको सुझाव कसैसँग छैन । जुन कारणले यो परिस्थितिको जन्म भयो त्यसको उल्लेखसम्म कसैलाई गर्ने मन छैन । एउटैमात्र कारण बेरोजगारी होइन भने अन्य के–के कुरामा सरकारको ध्यान पुगेन भन्नेबारे कसैले सुझाव दिने हैसियत नराख्ने अवस्था कसरी आयो ? जिम्मेवारी आफ्नो पनि भएको तर स्वीकार नगरिएको अवस्थाबाट आजको परिस्थिति आएको हो । यसलाई सच्याउन अरुको साथ र सहयोग चाहिएको छ । जबजब गन्तव्यका लागि रोजाइँमा परेका मुलुकमा उथलपुथलकारी घटना घट्न थाल्छन् त्यसपछि मातृभूमि सुरक्षित लाग्न थाल्छ । त्यसबारे राम्ररी सोचेर निर्णय गरेका र आफूसँग भएको विशेष दक्षता र क्षमताको सौदाबाजी गरेर परिवारको भरणपोषण मात्र उद्देश्य भए समस्या छैन तर अन्य महङ्खवाकाङ्क्षा लिएर घरखेत बाँझो राखेर जानेहरुको मनोदशा कमजोर छ ।
आजभोलि नक्कली शरणार्थी बनेर अमेरिका जानेहरुको सपना बिग्रिएको छ । अमेरिकालाई सपनाको मुलुक सम्झिने, सर्वस्व विगारेर करोड लगानी गरेर पनि अमेरिका जानैपर्ने मनोदशा आफैँका लागि घातक सिद्ध मात्र नभई परिवार, समाज र आफ्नो मातृभूमिका लागि उत्तिकै घातक सिद्ध छ । किनभने हामी करोडौँको समपत्ति जोड्न कठिन परिश्रमबाट जीवनभर जोतिएर पनि सम्भव नहुने आर्थिक अवस्थामै छौँ । कसैको देखेर त्यसको देखासिकी गर्न सम्भावनाको खोजी गर्ने कुरा ठिकै भए पनि भएको सबै गुमाएर अथवा ज्यानै फाल्न तयार भएर लाग्ने कुरा कसैका लागि उचित हुन्न ।
आज नेपालीको अमेरिका जाने चाहानाले निम्त्याएको समस्या उनीहरुको परिवारमा बितेको दीनदसाको सूक्ष्म अध्यायन गर्ने हो भने निकै कहालीलाग्दो देखिन्छ । हामी हाम्रो मुलुकको समस्याले पिरोलिएका छौँ, हालै अमेरिकामा त्यहाँको राजनीतिक परिवर्तनको असरलाई हे¥यो भने विश्वव्यापीरुपमा देखियो । बिनाभिसा अवैधानिक प्रवेश गरी अमेरिकामा बसेका भारतीय नागरिकलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले अपराधीलाई पक्रेर बुझाउन पठाए जसरी हातमा हतकडी र खुट्टामा नेल लगाएर पठाएको समाचारले सबैलाई झस्काएको छ । शरणार्थीको भेषमा त्यहाँ पुगेर अवैध बसोबास गरेकालाई त्यसो गर्नु हुन्थ्यो वा हुन्थेन त्यो दोस्रो कुरा हो तर नक्कली आप्रवासी किन हुनुप¥यो त ? आफ्नो मुलुकमा सानै भए पनि काम गरेर खान पाउने अवस्था हुँदाहुँदै अर्काको मुलुकमा दयाको पात्र बन्न के ले डो¥यायो, यो सोचनीय सवाल होइन र ?
हाम्रो मुलुकबाट थुप्रै युवायुवती अमेरिका अवैधानिक बाटोबाट गएका छन् । हाम्रै आफ्ना भाइबन्धुहरु पनि गएका छन् हामीले आशा गर्न सकिन्छ उनीहरुप्रति आराधीलाई गरिने व्यवहार गरिने छैन । कानूनको नजरमा सबै समान हुन् भन्ने मान्यता विश्वव्यापी मान्यता भएकोले के थाहा कसरी गर्छ ? यसै भन्न सकिन्न । यसकारणले अवैधानिक बसोबास गरिरहेका वा सरकारको निगरानीमा रहेकाहरुका परिवारमा अहिले शङ्काको बादल मडारिएको छ ।
मुलुकमा बस्न सक्ने वातावरण नभएर, आतङ्कको सिकार हुनुपरेको जस्ता मानवीय संवेदनालाई झस्काउने व्यवहारबाट आजित भएर आफ्नो मुलुकमा बस्नसक्ने वातावरण नभएको झुठो विवरण पेस गरेर जानेलाई के भन्ने ? हो, कुनैबेला थियो नेपालमा युवाहरुलाई जबर्जस्ती कलम खोसेर, इलम खोसेर बन्दुक बोकाइन्थ्यो । त्यसबेला पनि साँच्चै अनिच्छित व्यवहार व्यहोर्ने धेरै ठुलो सङ्ख्या त्यसैकारण बिदेसियो तर अर्को सत्य के थियो भने जसले गरिबका छोराछोरीलाई बन्दुक बोकाएर लडाइँमा पठाउन उक्साउने गर्थे उनीहरुले आफ्ना छोराछोरी विदेश पढ्न पठाएका रहेछन भन्ने थाहा पाइयो । अझ रोचक कुरा यो छ कि जसले विदेशी मुलुकका नागरिकमाथि भौतिक आक्रमण गर्थे र सुरक्षा खतरामा राख्ने गरे उनीहरुले आफ्ना सन्तानको विदेशमा सुरक्षित देखेका थिए भन्ने घटनाक्रमले पुष्टि गरेको छ ।
सरकारी जागिर, व्यवसाय वा पारिवारिक आर्थिक स्रोत साधनको समुचित प्रयोगद्वारा सहज जीवनयापन स्वदेश सम्भव भएर पनि अति महङ्खवाकाङ्क्षा राखेर देशमा केही भएन भन्दै रात दिन सराप्नेको मनोदशामा परिवर्तन आउन जरुरी छ, मात्र नभई अवश्यम्भावी छ । किनभने समय सधैँ एकनास रहँदैन । समयको माग अनुसार मुलुकको आवश्यकता परिवर्तन हुन्छन् अनि त्यसको परिपूर्ति गर्न नयाँ नियमकानून निर्माण गरिने हुन्छन् । त्यो नवनिर्मित कानून अरुका लागि प्रतिकूल र सम्बन्धित मुलुक जसले कुनै समय विदेशी नागरिक भिœयाउन कानूनको निर्माण गरेको हुन्छ उसैका लागि अनुकूल हुन्छ । अहिले अमेरिकामा धेरै वर्षदेखि आवश्यकता रहेको डिभी चिठ्ठा प्रणाली खारेज गर्ने प्रक्रियामा रहेको भन्ने समाचार आइरहेको छ । यस्तै परिवर्तन कहाँ, कहिले र कसरी हुन्छ थाहा हुँदैन । यसरी बदलिने प्रक्रियालाई सबैले नस्वीकारी सुखै छैन ।