महँगो बन्दै पानी, काकाकुल बन्न नदिने नगर प्रमुखको प्रतिबद्धता

जुरपनिया मैनातारा खानेपानीको साधारणसभा
गोरक्ष समाचारदाता
तुलसीपुर,४३ फागुन । तुलसीपुर उपमहानगरपालिका–१८ र १९ का उपभोक्तालाई खानेपानी उपलब्ध गराउँदै आएको जुरपनिया मैनातारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नवौं साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा सहभागीले खानेपानीलाई नेपालको संविधान २०७२ ले मौलिक हकका रूपमा स्थापित गरे पनि पछिल्लो समयमा खानेपानी महँगो बन्दै गएको बताएका छन् ।
खानेपानी समितिका अध्यक्ष रामकुमार डाँगीको अध्यक्षतामा भएको साधारणसभामा सहभागीले खानेपानीमा राज्यले अनावश्यक करसहित उपभोक्तालाई समेत महसुल तिर्न बाध्य बनाएकाले महँगो भएको बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले भने पभोक्तालाई सहज रूपमा खानेपानी उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताए । प्रमुख खड्का सोही संस्थाका उपभोक्ता मात्र नभएर निवर्तमान अध्यक्ष पनि हुन् ।
‘म आफैँ मेयर भएका बेला यहाँका उपभोक्तालाई खानेपानीको समस्या हुन अवश्य दिने छैन, यसका लागि हरेक विकल्प खोजिरहेको छु’, प्रमुख अतिथि खड्काले भने । कार्यव्यस्तताका कारण निर्धारित समयभन्दा ढिलो उपस्थित भएका प्रमुख अतिथि खड्काले जुरपनिया मैनातारा खानेपानीका उपभोक्तालाई सहज खानेपानी उपलब्ध गराउन स्रोत थप्नुको कुनै विकल्प नभएको बताए । यसका लागि डिपबोरिङ गर्ने र ओभरहेड ट्याङ्की निर्माण गर्न उपयुक्त स्थानमा जग्गा व्यवस्थापन गर्न समितिका पदाधिकारीलाई आग्रह गरे ।
कार्यक्रममा विशिष्ट अतिथि तथा खानेपानी डिभिजन कार्यालय घोराहीका प्रमुख तिलक न्यौपानेले मुहानदेखि मुखसम्मै उपभोक्ताले शुद्ध पिउने पानी पाउनुपर्ने भन्दै यसका लागि राज्यले खानेपानीमा लगानी बढाउनुपर्ने बताए । ‘खानेपानी पछिल्लो समयमा चुनौती बन्दै गएको छ तर राज्यको यसमा लगानी घट्दो क्रममा छ’, विशिष्ट अतिथि न्यौपानेले भने । पानीमा लगानी बढाउन तीनै तहका सरकारका प्रतिनिधिले पहल गर्नुपर्ने उनको आग्रह थियो । जलवायु परिवर्तनको प्रभावका कारण बर्सेनि पानीका मुहान सुक्दै गएको र जमिनमुनिको पानीको सतह भासिँदै गएकाले पानीको सहज आपूर्ति पछिल्लो समयमा चुनौती बन्दै गएको उनको अभिव्यक्ति थियो । त्यसका लागि उपभोक्ता संस्थाहरू मुहान संरक्षणको अभियानमा जोडिनुपर्ने उनको सुझाव थियो ।
साधारणसभामा समितिका सचिव दामोदर बस्नेत (राकेश)ले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष एम केसीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष शेषमणि कवँरको स्वागत मन्तव्यबाट सुरु भएको साधारणसभामा नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका–१८ का सभापति वीरेन्द्र खड्का, माओवादी केन्द्रका वडाध्यक्ष डिल्ली ददेल, एमालेका वडा इकाइ अध्यक्ष कमानसिंह खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुर–१८ का इकाइ सभापति शिवराज केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसैगरी साधारणसभामा खानेपानी संस्थाका प्रतिनिधिमध्ये तुलसीपुर खानेपानीका अध्यक्ष एमकान्त भण्डारी, बेलझुण्डी खानेपानीका अध्यक्ष प्रदीप गौतम, छर्छरे खानेपानी संस्थाका सचिव आशाराम नेपाली (शंकर)ले खानेपानीलाई संविधानले मौलिक हकका रूपमा स्थापित गरेकाले यसमा राज्यले लगानी बढाउनुपर्ने सुझाव राखेका थिए । सो अवसरमा जुरपनिया मैनतारा खानेपानी संस्थाका सल्लाहकार हिमबहादुर डाँगी, युवराज खड्का, लोकबहादुर बहकरी, सूर्यबहादुर खड्कालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उपाध्यक्ष शेषमणि कवँरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव राकेश बस्नेतले गरेका थिए । साथै साधारणसभाको बन्दसत्रले सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरेको सचिव बस्नेतले बताएका छन् ।